कास्की प्रहरीले लागुऔषधसहित एक र लागुऔषध मुद्दामा फरार तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं सूचना अधिकारी सुन्दर तिवारीका अनुसार कार्यालयमातहतको वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले पोखरा– ३० पावरहाउसबाट पोखरा– १३ बाँझापाटन स्थायी घर भई हाल पोखरा– २ विन्दवासिनी बस्ने वर्ष ३० को सन्दीप सेन्चुरीलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
सवारीसाधन चेकजाँचका क्रममा काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार सेन्चुरीको साथबाट प्रहरीले डाइजापाम ६३, फेनार्गन ६३ र नुर्फिन ६३ गरी एक सय ८९ एम्पुल लागुऔषध बरामद गरेको हो । पक्राउ परेको सेन्चुरीलाई लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
लागुऔषध मुद्दाका फरार तीन अभियुक्त पक्राउ
कास्की जिल्ला अदालतले लागुऔषध मुद्दामा कैद तथा जरिवाना फैसला गरी हालसम्म फरार रहेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा लागुऔषध मुद्दामा चार महिना २८ दिन कैद सजाय तोकी हालसम्म फरार रहेका पोखरा– ३० खोरखार बस्ने वर्ष २६ का सविन गिरी, चार महिना ६ दिन कैद सजाय तोकी हालसम्म फरार रहेका पोखरा– ३० खोरखरा बस्ने वर्ष २२ को सुजन कामी र तीन महिना २८ दिन कैद र दुई हजार जरिवाना सजाय तोकी हालसम्म फरार रहेको जिल्ला उदयपुर त्रियुगा नगरपालिका– १५ स्थायी घर भई हाल पोखरा– २७ हमालचोक बस्ने वर्ष २८ का अनिल आले रहेका छन् ।
पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि अदालतमा बुझाइएको तिवारीले जानकारी दिए ।