राजस्थानका मुख्यमन्त्री एवं कांग्रेस नेता अशोक गहलोतले राहुल गान्धीको चाहनाअनुसार मल्लिकार्जुन खड्गेलाई पार्टीको सर्वोच्च पदमा निर्वाचित गरिएको खुलासा गरेका छन् ।
एकपटक गैरगान्धी परिवारबाट पार्टीको अध्यक्ष बनाउने राहुल गान्धीको अभिलाषाअनुसार निर्वाचनको अन्तिम समयमा उनले उम्मेदवारी नदिएर खड्गेलाई खडा गरिएको उनले बुधबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा बताएका हुन् ।
‘राहुल गान्धीलाई देशको सबैभन्दा ठूलो र पुरानो पार्टीको अध्यक्ष बनाउन अन्तिम समयसम्म पार्टीभित्र प्रयास जारी थियो, किनभने उहाँ मात्र भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई चुनौती दिन सक्ने व्यक्ति हुनुहुन्छ भन्ने निष्कर्षमा अडिग रहेर गान्धीलाई नै अध्यक्ष बनाउने पक्षमा थियौँ,’ उनले भने, ‘तर, उहाँले पितामाताको त्यो बिरासतलाई एकपटक बाहिरबाट नेतृत्वको अवसर दिनुपर्नेमा जोड दिएपछि अन्तिम घडीमा निर्णय परिवर्तन भएको हो ।’
पार्टीलाई २२ वर्षसम्म सोनिया गान्धीले गरेको नेतृत्व सधैँ स्मरणीय रहने बताउँदै उनले सोनियाको कार्यकालमा १३ राज्यमा आफ्नो पार्टीको सरकार बनेको जिकिर गरे । उनले पार्टीलाई बलियो बनाउन आफ्नोतर्फबाट काम गर्ने वाचा पनि गरे ।
पार्टीमा कुशल कूटनीतिज्ञका रूपमा चिनिएका शशि थरुरसँग भएको राष्ट्रपतिको प्रतिस्पर्धामा खड्गेले सात हजार आठ सय ९७ मत पाएका थिए भने थरुरले एक हजार ७२ मत प्राप्त गरेका थिए । निर्वाचित भएपछि खड्गेले प्रजातन्त्रको सुदृढीकरण र लोकतन्त्रको रक्षालाई कांग्रेसले सधैँ केन्द्रमा राखेको तथा ७५ वर्षदेखि त्यसैमा लीन भएर लागेको उनले बताए ।