![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/bhedigothCover2022-10-24-02-03-41.jpeg)
गोरखाको लेकाली तथा हिमाली क्षेत्रमा चिसो बढेसँगै खर्कहरूका भेडीगोठलाई बेँसी झार्न थालिएको छ। धार्चे र चुमनुब्री गाउँपालिकाका स्थानीयले ठूलो संख्यामा भेडा पाल्छन्। यहाँका भेडीगोठ चरनका लागि गर्मी मौसममा हिमाली क्षेत्र र जाडो मौसममा तल्लो भेगमा झार्ने गरिन्छ।
‘अहिले लेकमा चिसो बढ्दै गएको छ। अब हिउँ पर्न सुरु हुन्छ,’ धार्चे– ४ लाप्राकका भेडीगोठाला सुरमान गुरुङले भने, ‘चिसोमा भेडाबाख्रा राख्न गाह्रो हुन्छ, त्यसैले बेँसीतिर झारेका हौँ।’ लाप्राकमा भेडीगोठ र गाईगोठ लेक लैजाने र बेँसी झार्ने गरिन्छ। गाईगोठको तुलनामा भेडीगोठ छिटो लेक उक्लने र ढिलो गरी बेँसी झारिन्छ।
कात्तिक र मंसिर दुई महिना भेडीगोठ गाउँवरिपरि रहन्छन्। पुसदेखि वैशाखसम्म लाप्राकका भेडीगोठ बारपाक सुलीकोट गाउँपालिकाको सौरपानी, आप्रिक, थुमीलगायत ठाउँमा लैजाने गरिन्छ। यसरी भेडीगोठ लैजाँदा वार्षिक रूपमा प्रतिगोठाला सातदेखि आठ हजार रुपैयाँ गोठ समिति तथा स्थानीयस्तरको समितिलाई तिर्नुपर्ने हुन्छ।
घट्दै भेडा, हराउँदै भेडीगोठे परम्परा
अहिले भेडीगोठका लागि चरन क्षेत्रको कुनै समस्या नरहे पनि गोठको संख्या भने बर्सेनि घट्दै गइरहेको छ। ‘भेडा चराउनका लागि चरिचरन पर्याप्त छ। तर, गोठाला नै छैनन्, हामी मात्र छौँ । हामी पनि नरहेपछि कसले गर्ने,’ भेडीगोठाला चन्द्र गुरुङले बताए।
लाप्राकमा २५–२६ वर्षअघि २५ भन्दा बढी भेडीगोठ थिए । तर, अहिले जम्मा आठवटा गोठ रहेको उनले बताए। पछिल्लो समय भेडीगोठ हराउन लागेसँगै ऊनका सामानसमेत घट्दै गएका छन्।
अन्य व्यवसायको तुलनामा भेडापालन निकै चुनौतीपूर्ण भएकाले पनि नयाँ पुस्ता गोठमा बस्ने नगरेका गुरुङको बुझाइ छ। भेडीगोठबाट एक वर्षमा न्यूनतम ५० हजारदेखि दुई लाख ५० हजारसम्म आम्दानी हुने गरेको उनी बताउँछन्। ‘कमाइ नभए पनि दुःख गर्नैपर्याे। आफूलाई चाहिएका वेला मासु खान अरूसँग ऋण गरेर किन्नुपर्दैन भनेर मात्र गोठाला बसेका हौँ,’ उनले भने ।