१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख २२ शनिबार १९:११:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खाँदबारी बजार सरसफाइमा उत्रिए मेयर थपलिया

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १९:११:oo

खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया बजार सरसफाइका लागि आफैँ सडकमा उत्रिएका छन्। बुधबार महाधिवक्ता खम्बबहादुर खत्रीले संखुवासभाको सदरमुकामसमेत रहेको खाँदबारी बजार क्षेत्रको जिल्ला प्रहरी कार्यालय गेटअगाडि रिबन काटेर सरसफाइ अभियानको उद्घाटन गरे।

औपचारिक रूपमा रिबन काटेर खाँदबारी बजारलाई सफा, सुन्दर र रमणीय सहर बनाउनका लागि बजार क्षेत्रको सरसफाइ अभियानको सुरुवात गरिएको हो। धुवाधुलो र प्रदूषणमुक्त सहर बनाउनका लागि खाँदबारी नगरपालिकाका मेयर आफैँ कुचो र झाडु बोकेर बजार सरसफाइमा निस्किएका हुन्। उनीसँगै नगरपालिकाका उपमेयर महेश्वरा बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, नगरभित्रका कर्मचारी र म्यादी प्रहरीहरू बजार सरसफाइमा निस्किएका हुन्। 

खाँदबारी नगरपालिकाको मुख्य बजारक्षेत्र सदरमुकाम खाँदबारी, तुम्लिङटार र मानेभञ्जाङ बजारको एकैपटक सरसफाइमा जुटेको हो। जिल्ला प्रहरी कार्यालयको सहयोगमा सरसफाइ गर्नका लागि म्यादी प्रहरीहरूलाई काममा खटाइएको छ। तुम्लिङटार र मानेभञ्जाङमा एक/ एक सयजना म्यादी प्रहरीसहित खाँदबारी नगरपालिकाका कर्मचारी खटिएका छन् भने खाँदबारी बजारमा करिब एक सयभन्दा बढी म्यादी प्रहरीसहित खाँदबारी नगरपालिकाका कर्मचारी, नगर प्रहरीहरू खटिएको खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले बताए। 

खाँदबारीलाई पूर्वी पहाडी जिल्लाभित्रकै सुन्दर, सफा ग्रिनसिटी र स्मार्टसिटी बनाउने उद्देश्यअनुरूप सरसफाइ अभियानको सुरुवात गरिएको मेयर थपलियाले बताए। मेयर थपलियाले भने, ‘आफ्नो घरआँगन र बजार क्षेत्र सधैँ सफा राख्नुपर्छ भनेर बजारवासीहरूलाई हौसला प्रदान गर्नका लागि आफैँ सडकमा कुचो र झाडु बोकेर निस्किएको हुँ। अहिले विभिन्न खालका रोगहरू डेंगु र स्क्रबटाइफसजस्ता महामारी फैलिइरहेको अवस्थाले त्यसकोसमेत नियन्त्रण गर्नका लागि सरसफाइ अभियानको सुरुवात गरिएको हो।’

शुक्रबारबाट सुरु भएको बजार सरसफाइ अभियान निरन्तर रूपमा जारी रहने मेयर थपलियाको भनाइ छ। खाँदबारी बजारलाई ग्रिनसिटी निर्माण गर्नका लागि खाँदबारी नगरपालिकाले यसअघि नै प्रत्येक घर–घरमा बिरुवा र गमलासमेत प्रदान गरिसकेको छ। त्यसमध्ये उत्कृष्टलाई पुरस्कृत गर्नेसमेत जनाएको छ। 
खाँदबारी नगरपालिकाले अब नगरभित्रका सार्वजनिक सम्पत्ति, जग्गाको खोजी गरी लगत संकलन गर्ने, धारा, कुवा र प्राकृतिक सम्पदाहरूको जगेर्ना गर्नेलगायतका महत्वपूर्ण काम गर्ने जनाएको छ। खाँदबारी नगर क्षेत्रभित्रका आफ्ना सम्पत्तिहरू के कति छन् भन्नेबारेमा अभिलेख राख्नुपर्ने देखिएको छ। 

ad
ad