१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १ मंगलबार
  • Friday, 20 September, 2024
२o७९ कार्तिक १ मंगलबार o८:१९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पौडीमा राष्ट्रिय कीर्तिमानको ओइरो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १ मंगलबार o८:१९:oo

पौडी प्रतियोगिताअन्तर्गत सोमबार तेस्रो दिन सातवटा राष्ट्रिय कीर्तिमान बनेका छन् । चार सय मिटर पुरुष फ्री–स्टायलमा चार कीर्तिमान, सय मिटर बटरफ्लाईमा तीन, महिला सय मिटर बटरफ्लाईमा एक, पुरुष दुई सय मिटर ब्रेस्टस्ट्रोकमा दुई राष्ट्रिय कीर्तिमान बनेको नेपाल पौडी संघले जनाएको छ । यसैगरी, महिला दुई सय मिटर ब्रेस्टस्ट्रोकमा एक, पुरुष ५० मिटर ब्याकस्ट्रोकमा एक र चार सय मिटर फ्री–स्टायल रिलेमा एक कीर्तिमान भंग भएका छन् ।

चार मिटर पुरुष फ्री–स्टायलमा नासिर हुसेनको नाममा १३औँ सागमा रहेको ४ मिनेट ३३.०५ सेकेन्डको समयलाई चार खेलाडीले उछिनेका छन् । सेनाका नासिरले ४ मिनेट ८.६४ सेकेन्ड समयका साथ आफ्नो रेकर्डमा सुधार गर्दै स्वर्ण जिते । यस्तै, रजत पदक जितेका एनआरएनका आशिष सापकोटाले पनि नासिरको पूर्वरेकर्डलाई उछिन्दै ४ मिनेट २२.४५ सेकेन्डको समयमा दूरी पार गरे । तेस्रो स्थानमा रहेका बागमतीका इरभिन श्रेष्ठले पनि नासिरको पूर्वरेकर्डलाई उछिन्दै ४ मिनेट २५.७४ सेकेन्ड समयका साथ कांस्य जिते । 

चौथो स्थानमा रहेका बागमतीका सेरेन सिंहले पनि नासिरको पूर्वकीर्तिमानलाई पार लगाए । उनले ४ मिनेट २५.९२ सेकेन्ड समयमा दूरी पार गरेका थिए । बिरौटास्थित फिसटेल एकेडेमीमा भएको प्रतियोगिताको सय मिटर बटरफ्लाईमा अनुभव सुब्बाले २५औँ खुला राष्ट्रिय पौडी च्याम्पियनसिपमा राखेको ५९.७७ सेकेन्डको समयलाई भंग गर्दै सेनाका हुसेनले ५७.८६ सेकेन्डको नयाँ कीर्तिमानसहित स्वर्ण जिते । रजत जितेका एनआरएनका आशिष सापकोटाले पनि अगाडिको कीर्तिमानलाई उछिन्दै ५९.६८ सेकेन्ड समय लगाए । 

महिला सय मिटर बटरफ्लाईमा एनआरएनकी एस्ली सापकोटा डंगोलले गौरिका सिंहले आठौँ राष्ट्रिय खेलकुदमा राखेको १ मिनेट ९.९७ सेकेन्ड समयलाई भंग गर्दै १ मिनेट ७.७४ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान राखेकी छिन् । पुरुष दुई सय मिटर ब्रेस्टस्ट्रोकतर्फ एनआरएनका आशिष सापकोटाले २ मिनेट २९.६० सेकेन्डको नयाँ कीर्तिमान कायम गर्दै स्वर्ण जिते । यस विधामा यसअघि शुभम श्रेष्ठको नाममा २ मिनेट ३१.१५ सेकेन्ड समयको कीर्तिमान थियो । प्रदेश १ का विकास कुमालले पनि पूर्वरेकर्डलाई उछिन्दै २ मिनेट ३०.७६ सेकेन्ड समयका साथ रजत हात पारे । 

महिलातर्फको यसै विधामा सेनाकी डुवाना लामाले २ मिनेट ४३.२३ सेकेन्ड समयको नयाँ राष्ट्रिय रेकर्डसहित स्वर्ण प्राप्त गरिन् । उनले हिट चरणमा आफ्नै नाममा रहेको २ मिनेट ४४.६८ सेकेन्डको समयमा आफ्नै नाममा १३औँ सागमा राखेको कीर्तिमान भंग गर्दै १ मिनेट ४४.२८ को नयाँ रेकर्ड राखेकी थिइन् ।

 पुरुषको ५० मिटर ब्याकस्ट्रोकमा सेनाका एलेक्जेन्डर शाहले २७.४६ सेकेन्डको नयाँ समयका साथ स्वर्ण हात पारे । उनले हिट चरणमा आफूले नै १३औँ सागमा राखेको २८.०३ सेकेन्डको समयमा सुधार गर्दै २७.५४ को नयाँ समयमा दूरी पूरा गरेका थिए । सोही विधाको महिलातर्फ ओलम्पियन गौरिका सिंहले स्वर्ण जितिन् । सेनाबाट प्रतिस्पर्धा गरेकी गौरिकाले ३०.८० समयका साथ दूरी पूरा गर्दै स्वर्ण जितेकी हुन् ।

पुरुष चार सय मिटर फ्री–स्टायल रिलेमा पनि राष्ट्रिय रेकर्ड बनेको छ । सेनाका अनुभव सुब्बा, दिलीप थापामगर, नासिर याह्या हुसेन र एलेक्जेन्डर शाहको समूहले ३ मिनेट ४५.५१ सेकेन्ड नयाँ समयको कीर्तिमानसहित स्वर्ण जिते ।