१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १ मंगलबार
  • Tuesday, 18 June, 2024
२o७९ कार्तिक १ मंगलबार o७:o५:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

तरलता सहज हुने संकेत : ३३ अर्ब ६४ करोड निक्षेप थपियो, दुई अर्ब ९६ करोड मात्रै कर्जा प्रवाह

सिडी रेसियो, अन्तरबैंक ब्याजदर र एसएलएफजस्ता सूचक साउन–भदौको तुलनामा असोजमा सकारात्मक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १ मंगलबार o७:o५:oo

आर्थिक वर्षको सुरुवातदेखि नै लगानीयोग्य पुँजीको अभाव भोगेको वित्तीय प्रणालीमा सकारात्मक संकेत देखिन थालेको छ । बैंकिङ क्षेत्रका जानकारहरूले यसलाई कालो बादलभित्र चाँदीको घेरा भनेका छन् । गत असारको तुलनामा वित्तीय प्रणालीमा तरलताको सूचक कमजोर देखिए पनि साउन र भदौको तुलनामा असोजको सूचक सकारात्मक देखिएको ग्लोबल आइएमई बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षत्रीले बताए । उनका अनुसार साउन र भदौको तुलनामा निक्षेपमा वृद्धि भएकाले बैंकहरू लगानी गर्न सक्ने सहज स्थितिमा पुग्ने संकेत मिलेको छ । 

बैंकिङ प्रणालीमा तरलताको अवस्थालाई प्रतिनिधित्व गर्ने प्रमुख सूचक हो, कर्जा निक्षेपको अनुपात । नेपाल राष्ट्र बैंकले यस्तो अनुपात ९० प्रतिशतभन्दा बढ्न नपाउने प्रावधान गरेको छ । ३१ साउनमा वाणिज्य बैंकहरूको यस्तो औसत अनुपात ८८.०७ प्रतिशत पुगेको थियो । नेपाल बैंकर संघका अनुसार २८ असोजसम्म बैंकहरूमा यस्तो अनुपात ८६.९८ प्रतिशत पुगेको छ । यसले बैंकहरूमा कर्जा लगानी गर्न सक्ने क्षमतामा वृद्धि भएको बुझाउँछ । यसले बैंकहरू डेढ खर्बभन्दा बढी कर्जा दिने अवस्थामा पुगेको देखाउँछ । संघका अनुसार ३१ भदौदेखि २८ असोजसम्म ३३ अर्ब ६४ करोड रुपैयाँ निक्षेप थपिएको छ । त्यस्तै, कर्जा प्रवाह दुई अर्ब ९६ करोड रुपैयाँ मात्रै छ । कर्जाको तुलनामा निक्षेप संकलनमा भएको वृद्धिले कर्जा निक्षेप अनुपात घटेको हो । 

कर्जाको तुलनामा निक्षेप संकलन बढ्न नसकेपछि बैंकहरूले नेपाल राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) लिने गरेका छन् । अहिले एसएलएफ ८३ अर्बमा सीमित भएको छ । असारमा त बैंकहरूले एसएलएफ र रिपो गरेर दुई खर्ब ४७ अर्ब रुपैयाँसम्म लिएका थिए । तरलता मापन गर्ने अर्काे सूचक हो, अन्तरबैंक ब्याजदर । निक्षेपको अभाव भएपछि बैंकहरूले एक–आपसमा कर्जा लिने गरेका छन् । जसको ब्याजदरलाई अन्तरबैंक ब्याजदर भनिन्छ । विगतमा एसएलएफको दरकै हाराहारीमा पुगिसकेको यो दर आइतबारसम्म आइपुग्दा ८.४७ प्रतिशतसम्म पुगेको छ । बजारमा तरलताको अभाव हुन थालेपछि यस्तो निक्षेपको माग बढ्ने र ब्याजदरसमेत बढ्ने गरेको छ । 

मासिक तुलनामा सहजता देखिए पनि बैंकहरू पूर्ण रूपमा कर्जा लगानी गर्न सक्षम नभइसकेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टको भनाइ छ । उनका अनुसार अहिले पनि वित्तीय प्रणालीमा एक खर्ब ७१ अर्ब तरलता अपुग छ । उनले भने, ‘विगतमा दुई खर्ब ५० अर्बसम्मले अपुग भइरहेको तरलताको स्थिति घटेको पक्कै हो । तर, बैंकहरूलाई कर्जा लगानी गर्न अझै चुनौती रहेको यो तथ्यांकले देखाउँछ ।’

दसैँमा सरकारी खर्चमा समेत वृद्धि भएकाले तरलता व्यवस्थापनमा केही सहजता देखिए पनि तरलता व्यवस्थापनमा अझै जोखिम देखिएको उनको भनाइ छ । त्यस्तै, सरकारले आयात नियन्त्रणलाई तीव्रता दिइरहेकाले पनि तरलतामा सहजता थपिएकाले यो नियन्त्रण फुकुवा हुनेबित्तिकै संकट आउने स्थिति रहेको उनले बताए । उनले भने, ‘बाह्य क्षेत्रको चाप कम नभएसम्म यो समस्या बल्झिरहने देखिन्छ । अहिले देखिएको सुधार दीर्घकालीन रूपमा कायम रहन्छ भन्न सक्ने स्थिति छैन ।’

तुलनात्मक रूपमा सुधार देखिए पनि तरलता सहज भइनसकेको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको भनाइ छ । राष्ट्र बैंकले कोभिडको समयमा दिएको नियामकीय सुविधा पुसबाट अन्त्य हुने भएकाले तरलताको समस्या अझ बढ्न सक्ने जोखिम रहेको उनले बताए । उनले भने, ‘अहिले नै केही बैंकहरूको सिडी रेसियो सीमाभन्दा माथि नै छ । अवस्था सुध्रिएको छैन । त्यसैले तरलता सहज भइसक्यो भनिहाल्न मिल्दैन ।’

प्रत्येक त्रैमास सकिएपछि मुद्दतीमा पैसा जम्मा गरेर ब्याज खाने समूहले निक्षेप झिक्ने प्रवृत्ति रहेकाले हाल बढी देखिएको निक्षेप कायम रहनेमा संशय रहेको उनको भनाइ छ । उनका अनुसार बैंकहरूलाई नगद मौज्दातको अनुपात (सिआरआर)को सीमा बढाइएकाले यसलाई धान्न ऋण काढ्नुपर्ने अवस्था छ । पुससम्म वैधानिक तरलता अनुपात (एसएलआर) पुर्‍याउनसमेत गाह्रो पर्ने उनले बताए ।

राष्ट्र बैंकले सिआरआरलाई ४ प्रतिशत र पुस मसान्तसम्म १२ प्रतिशत एसएलआर राख्नुपर्ने व्यवस्था गरेको छ । जसकारण लगानीयोग्य रकम थप कसिलो बनेको बैंकरहरूको टिप्पणी छ । अहिले स्थानीय तहको सञ्चित कोषमा रहेकोमध्ये ८० प्रतिशतसम्म रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्थाका कारण प्रणालीमा तरलतामा केही सहजता भइरहेको छ । 

 बाह्य क्षेत्रको दबाबले तरलता अझै चापमा 
गुणाकर भट्ट, प्रवक्ता, नेपाल राष्ट्र बैंक

तुलनात्मक रूपमा तरलता केही सहज बनेको देखिए पनि चुनौती अझै कायम छ । दसैँकेन्द्रित सरकारी खर्चका कारण बजारमा केही सुधारजस्तो देखिएको मात्रै हो । बाह्य क्षेत्र अझै दबाबमै छ । आयात नियन्त्रण नगर्ने हो भने तरलतामा अझै चाप बढ्ने देखिन्छ । विगतमा साढे दुई खर्ब रुपैयाँ अपुग भएको तरलता अहिले घटेर एक खर्ब ७१ अर्ब पुगेको छ । तर, यो अझै ठूलो रकम हो । त्यसैले तरलता सहज हुन अझै समय लाग्ने देखिन्छ ।

 तुलनात्मक रूपमा तरलता सहज बन्दै छ 
पर्शुराम कुँवर क्षत्री, पूर्वप्रमुख कार्यकारी अधिकृत, ग्लोबल आइएमई बैंक

साउन र भदौको तुलनामा वित्तीय प्रणालीमा तरलता सहज भइरहेको देखिन्छ । कर्जा निक्षेपको अनुपात घट्नुले यसलाई प्रतिबिम्बित गर्छ । त्यस्तै, अन्तरबैंक ब्याजदरसमेत घटेको छ । विगतमा बैंकहरूले राष्ट्र बैंकसँग लिँदै आइरहेको स्थायी तरलता सुविधाको तथ्यांकमा समेत घटेको देखिन्छ । समग्र सूचकले बैंकिङ क्षेत्रमा तरलता सहज बन्दै गइरहेको संकेत देखिएको छ । तर, पूर्ण रूपमा तरलता सहज भएको स्थिति भने होइन ।

 

 

 

ad
ad
ad
ad