मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३१ सोमबार
  • Tuesday, 17 December, 2024
२o७९ असोज ३१ सोमबार १o:o६:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सीको तेस्रो कार्यकाल र चीनको बिग्रँदो अर्थतन्त्र 

अर्थशास्त्रीले सन् २०३० सम्ममा अमेरिकालाई पछि पार्दै चीन विश्वकै ठूलो अर्थतन्त्र बन्ने भविष्यवाणी गरिरहेका छन्, तर पूरा हुनेमा शंका छ 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ३१ सोमबार १o:o६:oo

एक दशकअघि सी जिनपिङ सत्तामा आउँदा जापानलाई उछिन्दै चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्दै थियो । त्यसपछि चीनको अर्थतन्त्रले अभूतपूर्व रूपमा गति लिएको छ । पछिल्लो समय चीनको वार्षिक वृद्धिदर केही सुस्तिएर ६.७ प्रतिशतको औसतमा छ । सन् २०२१ मा त्यहाँको जिडिपी १८० खर्ब डलर अर्थात् वैश्विक अर्थतन्त्रमा चीनको हिस्सेदारी १८.४ प्रतिशत थियो । 

चीनको प्रविधि क्षेत्रमा बढ्दो प्रगतिले अमेरिका र उसका सहयोगीमाथि रणनीतिक खतरा पैदा गरेको छ । चीनले फाइभ–जीदेखि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्मको विकासमा अमेरिकालाई समेत पछि छोडेको छ । केही अर्थशास्त्रीले सन् २०३० सम्ममा अमेरिकालाई धेरै पछि पार्दै चीन विश्वकै ठूलो अर्थतन्त्र बन्ने भविष्यवाणी गरिरहेका छन् । तर, वर्तमान परिस्थितिले त्यो सम्भावना पूरा हुनेमा शंका उत्पन्न गरेको छ । 

चिनियाँ राष्ट्रपति सीले तेस्रो कार्यकालको तयारी गरिरहँदा मध्यमवर्गमा बढ्दो असन्तुष्टिसँगै अर्थव्यवस्थाका नयाँ चुनौतीहरू सामना गरिरहेका छन् । यदि उनले अर्थतन्त्रको वृद्धिलाई कायम राख्न सकेनन् भने चीनले नवप्रवर्तन र उत्पादनमा कमीका साथै बढ्दो सामाजिक असन्तुष्टिको सामना गर्नेछ ।एरिजोना स्टेट युनिभर्सिटको थन्डरबर्ड स्कुल अफ ग्लोबल म्यानेजमेन्टमा चाइना इनिसिएटिभ्सका निर्देशक दोङ गुथरीका अनुसार विगत ३० वर्षदेखि चीन जुन बाटोमा थियो, त्यसले जनतालाई ठूलो आशा दियो । तर, अहिले देश गम्भीर समस्यामा छ ।

आर्थिक मन्दी र असन्तुष्टिका स्वर :  सी चीन र सत्तारूढ कम्युनिस्ट पार्टीका शक्तिशाली नेता हुन् । तर, केहीले सीले चीनको आश्चर्यजनक प्रगतिको श्रेयमाथि दाबी गर्न पाउँदैनन्, किनभने उनकै नेतृत्वका कारण चीनले आर्थिक वृद्धि गरेको भने होइन । यद्यपि, उनी उद्यमशीलता अभियानलाई अघि बढाउन र निजी क्षेत्रको तीव्र विकासलाई पुँजीमा बदल्न सक्षम भए । तर, पछिल्ला वर्षमा उनका केही नीति चीनको टाउको दुखाइका स्रोत बनेका छन् । सन् २०२० को अन्त्यमा बेइजिङद्वारा देशको निजी क्षेत्रमाथि सुरु भएको हस्तक्षेपकारी कारबाही र शून्य कोभिड नीतिले चिनियाँ अर्थतन्त्र र श्रम बजार दुवैलाई नराम्रोसँग प्रभावित गरेको छ । सीको नेतृत्वले देशको वृद्धिलाई कम गरिदिएको प्राध्यापक सोन्जा अपरको भनाइ छ ।

सीको ठूला कम्पनीमाथिको निगरानी र नियन्त्रणको नीतिका कारण पछिल्लो दुई वर्षमा चीनका प्रविधि क्षेत्रका अग्रणी कम्पनी अलिबाबा र टेनसेन्टको मार्केट भ्यालु १० खर्ब डलरभन्दा धेरैले गुमेको छ भने व्यापार वृद्धिमा पनि असर पुगेको छ । यसले गर्दा यी कम्पनीबाट दशौँ हजार कर्मचारी निकालिएका छन् । यसले बेरोजगारीलाई पनि बढाएको छ । 

पछिल्लो समय चीनको प्रोपर्टी सेक्टर पनि सुस्त भएको छ । जसले गर्दा त्यहाँका ठूला घरजग्गा खरिदकर्ता मर्कामा परेका छन् । यसले मध्यमवर्गमाझ व्यापक असन्तोष जन्माएको छ । मारमा परेका हजारौँ घरजग्गा खरिदकर्ताले लिएको ऋण तिर्नसमेत अस्वीकार गरेका छन् । वित्तीय क्षेत्रमा देखिँदा निक्षेपकर्ताहरूले ग्रामीण बैंकजस्ता साना वित्तीय संस्थामा जम्मा गरेको बचत गुमाउने स्थिति सिर्जना भयो । जुलाईमा लाखौँ निक्षेपकर्ताले आफ्नो बचत फिर्ता पाउन गरेको शान्तिपूर्ण प्रदर्शनलाई चिनियाँ अधिकारीले हिंसात्मक तरिकाले दबाए ।

बैंकिङ क्षेत्रमा देखा परेको समस्याले चीनका साना बैंकको बिग्रँदो वित्तीय अवस्थालाई उजागर गरेको छ । ‘धेरैजसो मध्यमवर्गीय जनता वर्तमान आर्थिक प्रदर्शनबाट दुःखी मात्रै छैनन्, सीको शासनसँग उनीहरूको मोहसमेत भंग भएको छ,’ ब्रुकिङ इन्स्टिच्युटस्थित जोन थोर्नटन चाइना सेन्टरका वरिष्ठ अध्येता डेभिड डलरको भनाइ छ । विश्लेकहरूका अनुसार वित्तीय प्रणालीमा देखिएको यो कमजोरी चीनको गत दशकको बेलगाम ऋण–प्रेरित विस्तारको परिणाम हो । अब उसले यो मोडेलमा परिवर्तन गर्नुपर्नेछ । 

नयाँ मोडेल आवश्यक : सी आर्थिक विकासको नयाँ मोडेलमा जान खोजिरहेका छन्, तर उनी सही मार्ग हिँडिरहेका छैनन् । विश्लेषका अनुसार चिनियाँ व्यवसायहरूको भविष्य राज्यको कठोर नियन्त्रणमा रहने खतरा छ । निजी क्षेत्र उत्साहप्रद रूपमा बढिरहेको सन्दर्भमा सीले उनीहरूको शक्तिलाई लगाम कसेका छन् । उनी आफ्नो ‘साझा समृद्धि’को लक्ष्यका निमित्त सम्पत्तिलाई पुनर्वितरण गर्न चाहन्छन् । चीनको आर्थिक वृद्धिको नयाँ सञ्चालक लगानी र निर्यातभन्दा पनि सेवा क्षेत्र र उपभोग बन्न पुगेकाले स्थिति सामान्यतर्फ जाने सीको अपेक्षा छ । तर, यी उपायले चिनियाँ अर्थतन्त्रलाई चार दशककै खराब स्थितिमा धकेलेको छ । 

सीका विकल्प : विश्लेषकहरूका अनुसार वर्तमान समस्याले सी–शासनलाई त्यति ठूलो खतरा उत्पन्न गर्दैनन् । उनी तेस्रो कार्यकालका लागि आउने सम्भावना उच्च छ । आइबारबाट सुरु भएको चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनमा प्रस्तुत हुने प्राथमिकताले चीनको आगामी पाँच वर्ष र अझ त्यसपछिको समेत बाटो देखाउनेछ । ‘यसले कम्युनिस्ट पार्टीको शासनलाई खतरामा पार्न सक्ने खालको महामन्दीकै स्तरको आर्थिक विपत्ति निम्त्याउन सक्ने देखिन्छ,’ युरेसिया ग्रुपका थोमसको भनाइ छ । 

यदि सीले चीनलाई पहिलेकै जस्तो उच्च आर्थिक वृद्धि र नवप्रवर्तनमा फर्काउने हो भने बजारलक्षित सुधारका कार्यक्रम ल्याउनुपर्ने हुन्छ । सी स्मार्ट हुन् भने उनले तेस्रो कार्यकालमा उदार नीति पछ्याउने गुथरीको भनाइ छ । 
–सिएनएनबाट