मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३१ सोमबार
  • Tuesday, 17 December, 2024
मञ्जु टेलर काठमाडाैं
२o७९ असोज ३१ सोमबार o६:५४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अस्पतालमा घट्यो डेंगुका बिरामीको चाप

मनसुन सकिएसँगै लामखुट्टेको प्रभावसमेत घट्दै जाने भएकाले यो सिजनका लागि डेंगु संक्रमणको जोखिम टर्ने अपेक्षा

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असोज ३१ सोमबार o६:५४:oo

उपत्यकाका अस्पतालमा डेंगुका बिरामीको चाप घटेको छ । अघिल्लो साताको तुलनामा यो साता अस्पतालमा आधा कम संक्रमित आएको अस्पतालहरूले जनाएका छन् । डेंगुका बिरामीको बढी भिड हुने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा केही दिनदेखि चाप घटेको अस्पतालका प्रवक्ता नवराज गौतमले बताए । ‘बिरामीको संख्या लगभग आधाजसो घटेको छ । संक्रमण उच्च रहेको समयमा इमर्जेन्सीमा मात्रै दैनिक डेढ सयभन्दा बढी बिरामी पुग्ने गरेका थिए । तर, हिजोआज ५० देखि ६० बिरामी मात्रै आउने गरेका छन्,’ उनले भने, ‘संख्याका आधारमा हेर्ने हो भने बिरामीको चाप घट्दो देखिन्छ ।’

त्यस्तै, वीर अस्पतालमा पनि बिरामीको चाप घटेको छ । परीक्षणका लागि आउने बिरामीको रिपोर्टले पनि संक्रमणदर घट्दै गएको देखाएको वीरकी प्याथोलोजी प्रमुख डा. प्रतिभा विष्टले बताइन् । ‘डेंगुको संक्रमणदर एकदमै घटिरहेको त होइन, तर ३० देखि ४० प्रतिशतमा भने झरेको छ,’ उनले भनिन्, ‘यही दरमा घटे केही सातामै सामान्य अवस्थातिर फर्किने अनुमान गर्न सकिन्छ । अहिले इमर्जेन्सीमा आउनेबाहेकका बिरामीमा संक्रमणदर नियमित घटेको देखिन्छ ।’

मनसुन सकिएसँगै लामखुट्टेको प्रभावसमेत घट्दै जाने भएकाले यो सिजनका लागि डेंगु संक्रमणको जोखिम बिस्तारै टर्दै जाने चिकित्सक बताउँछन् । ‘मनसुन सकिएसँगै लामखुट्टेको प्रभावसमेत घट्दै जाने भएकाले यो सिजनका लागि डेंगु संक्रमणको जोखिम बिस्तारै टर्दै जान्छ,’ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘झन्डै ७० देखि ८० प्रतिशतमा गम्भीर लक्षण नदेखिने भएकाले अधिकांशमा संक्रमण भइसकेको अनुमान गर्न सकिन्छ ।

यससँगै एकचोटि संक्रमण भइसकेपछि तुरुन्तै पुनः संक्रमण हुने सम्भावना नरहेका कारणसमेत संक्रमणदरमा कमी आउनु स्वाभाविक हो । उपत्यकामा आउटब्रेकको समयमा अधिकांशमा संक्रमण देखिइसकेकाले अब संक्रमणदर एकैचोटि घट्न सक्छ । तर, संक्रमणदर मंसिरको अन्तिम वा पुससम्मै रहन्छ ।’ नेपालमा डेंगु संक्रमण अत्यधिक फैलिएपछि विश्व स्वास्थ्य संगठनले इन्डेमिक घोषणा गरेको थियो । 

बागमतीमा मात्रै ३१ हजारभन्दा बढीलाई डेंगु संक्रमण
डेंगुबाट सबैभन्दा बढी प्रभावित बागमती प्रदेशमा संक्रमितको संख्या ३१ हजार पाँच पुगेको छ । देशभर ४० हजार २९ लाई डेंगु संक्रमण भएकामा काठमाडौं उपत्यकासमेत समेट्ने बागमती धेरै प्रभावित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार डेंगु संक्रमणबाट आइतबार थप एकजनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ । बागमती प्रदेशमा इन्डेमिकको रूपमा फैलिएको संक्रमणबाट खासगरी काठमाडौं उपत्यका अतिप्रभावित भएको महाशाखाको तथ्यांकले देखाउँछ । हालसम्म सबैभन्दा धेरै काठमाडौं जिल्लामा १२ हजार दुई सय ५२, ललितपुरमा आठ हजार सात सय १४, मकवानपुरमा चार हजार ५० र भक्तपुरमा दुई हजार सात सय ३० जनामा संक्रमण देखिएको हो । बागमतीमा संक्रमणदर उच्च रहेकाले पारासिटामोल र रगतको समेत अभाव देखिएको महाशाखाले जनाउँदै आएको छ । 

डेंगु संक्रमणको जोखिम अब टर्दै जान्छ
डा. शेरबहादुर पुन, सरुवारोग विशेषज्ञ

मनसुन सकिएसँगै लामखुट्टेको प्रभावसमेत घट्दै जाने भएकाले यो सिजनका लागि डेंगु संक्रमणको जोखिम बिस्तारै टर्दै जान्छ । त्यस्तै, झन्डै ७० देखि ८० प्रतिशतमा गम्भीर लक्षण नदेखिने भएकाले अधिकांशमा संक्रमण भइसकेको अनुमान गर्न सकिन्छ । यससँगै एकचोटि संक्रमण भइसकेपछि तुरुन्तै पुनः संक्रमण हुने सम्भावना नरहेका कारणसमेत संक्रमणदरमा कमी आउनु स्वाभाविक हो । उपत्यकामा आउटब्रेकको समयमा अधिकांशमा संक्रमण देखिइसकेकाले अब संक्रमणदर एकैचोटि घट्न सक्छ । तर, संक्रमणदर मंसिरको अन्तिम वा पुससम्मै रहन्छ ।