निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न उम्मेदवारहरूलाई आग्रह गरेको छ। राजनीतिक दलका उम्मेदवारहरू तथा स्वतन्त्र उम्मेदवारहरूले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो।
आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताअनुसार निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडिदेखि (कात्तिक १८ गतेदेखि) मात्रै प्रचारप्रसार गर्न पाइने बताए।
आयुक्त भण्डारीले उम्मेदवारहरूले घरदैलो कार्यक्रम गर्न पाउने र त्यसमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधानलाई पनि पालना गर्न सचेत गराए।
घरदैलोमा बाजागाजा र तामझाम गरिरहेको उजुरी आयोगमा परेको भन्दै उनले त्यस्ता कार्य नगर्न आग्रह गरे। घरदैलोमा तामझाम र बाजागाजा गर्नु पनि आचारसंहिताविपरित हुने उनको भनाइ छ।
उनले उम्मेदवारहरूले आफू राम्रो र अरू नराम्रो भनी प्रचारप्रसार गर्न नपाइने उल्लेख गरे। भण्डारीले उम्मेदवारहरूलाई आफ्नो घोषणापत्रअनुरूप र आफूले गर्ने कामहरूको मात्रै प्रचारप्रसार गर्न उनको सुझाव दिए।
‘फलानो नराम्रो आफू राम्रो भनेर उहाँहरू प्रचारप्रसारमा जानुभएको छ। आफू राम्रो, अर्काको दलको र स्वतन्त्र उम्मेदवार नराम्रो भन्न पाइँदैन। आफू राम्रो मात्रै भनेर जानुस् न। म यो नीति तथा कार्यक्रम गरेर जान्छु। म यो विकास निर्माणको काम गर्छु भनेर आफ्नो घोषणापत्रमा जे उल्लेख गर्ने हो। त्यो सबै स्पष्ट देखिने गरी जानुस्। मेरो घोषणापत्र ठीक, अर्काको बेठीक भन्न पाइँदैन। कानुनको परिधिभित्र बसेर निर्वाचन प्रचारप्रसार गरिदिनुपर्यो। यदि निर्वाचन प्रचारप्रसार गर्दाखेरी यो आचारसंहिता उल्लंघन गरिदिनुभयो भनेदेखि आयोगले कठोरतापूर्वक उहाँहरूलाई कारबाही गर्नुपर्छ। उहाँहरूको मनोनयनपत्र खारेज पनि हुन सक्छ।’
आयुक्त भण्डारीले आयोगले हालसम्म दर्जनौँ उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिसकेको जानकारी दिए। स्पष्टीकरण चित्तबुझ्दो नभएमा थप कानुनी कारबाही अगाडि बढाइने र आचारसंहिता पालना गराउने सन्दर्भमा आयोग निर्मम र निर्दयी भएर अघि बढ्ने स्पष्ट पारे।