
नेपाल विद्युत् प्राधिकरणको बहुसंख्यक सेयर स्वामित्व रहेको चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले सेती नदी–३ (एसआर–३) र बुढीगण्डकी प्रोक जलविद्युत् परियोजनामा लगानी गर्ने प्रस्ताव लगानी बोर्डसमक्ष पेस गरेको छ । कम्पनीले शुक्रबार बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई प्रस्ताव पेस गरेको हो । अर्ध–जलाशययुक्त (सेमी स्टोरेज) प्रकृतिमा निर्माण प्रस्ताव गरिएको एसआर–३ जलविद्युत् परियोजनाको क्षमता ८७ मेगावाट र नदी प्रवाही (रन अफ द रिभर) प्रकृतिको बुढीगण्डकी प्रोक जलविद्युत् परियोजनाको क्षमता ८१ मेगावाट रहेको छ । बोर्डमा लगानी स्वीकृतिका लागि पेस भएको प्रस्तावअनुसार एसआर–३ को लागत १९ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ र बुढीगण्डकी प्रोकको लागत १६ अर्ब ४५ करोड ५४ लाख रुपैयाँ रहने अनुमान छ ।
पश्चिम सेती जलविद्युत् परियोजनाको अपस्ट्रिम (माथिल्लो भाग)मा अवस्थित एसआर–३ परियोजना सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा पर्छ । त्यस्तै, बुढीगण्डकी प्रोक जलविद्युत् परियोजना गण्डकी प्रदेशको गोरखा जिल्लामा पर्छ । लगानी बोर्डले गत भदौ २ मा भारत सरकार स्वामित्वको एनएचपिसी लिमिटेडसँग पश्चिम सेती (७५० मेगावाट) र एसआर–६ (४५० मेगावाट) विकास गर्ने गरी समझदारी गरेको थियो ।
चिलिमेले एसआर–३ मा लगानी गर्ने प्रस्तावसँगै सेती करिडोरका अन्य सम्भाव्य जलविद्युत् परियोजनाहरूमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको लगानी आकर्षित हुने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताए । सेती करिडोरको पनि अरुण करिडोरको जस्तै भविष्य रहेको चर्चा गर्दै चिलिमेले विकासका लागि प्रस्ताव गरेको परियोजनाले सेती नदी र एसआर–६ का लागि निर्माणका क्रममा आवश्यक ऊर्जा आपूर्ति हुने उनको भनाइ छ ।
चिलिमे हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत सुभाषकुमार मिश्रले सेती बेसिनमा पश्चिम सेती र एसआर–६ दुई ठूला जलविद्युत् परियोजना निर्माण हुन लागेको पृष्ठभूमिमा एसआर–३ जलविद्युत् परियोजनाले उक्त बेसिनमा थप टेवा पुर्याउने बताए । चिलिमेको २२.१ मेगावाटको चिलिमे जलविद्युत् परियोजना सञ्चालनमा रहेको छ र सो कम्पनीको अगुवाइमा विभिन्न कम्पनीहरूमार्फत अतिरिक्त एक सय दुई मेगावाटको मध्यभोटेकोसी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको (माथिल्लो) सान्जेन र एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् परियोजना निर्माणाधीन रहेका छन् ।
सेती करिडोरका जलविद्युत् परियोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्नका लागि भारत सरकारको लाइन अफ क्रेडिट सुविधामा चैनपुर–वनलेक–न्यू अत्तरिया चार सय केभी क्षमताको एक सय ५० किमि प्रसारण लाइन राष्ट्रिय प्रसारण ग्रिड कम्पनीमार्फत कार्यान्वयन हुँदै छ । परियोजनाको विद्युत्गृहदेखि चैनपुरसम्म जोड्ने १६ किमि प्रसारण लाइन परियोजना आफैँले निर्माण गर्नेछ । त्यस्तै, बुढीगण्डकी प्रोक विद्युत्गृहदेखि नजिक रहेको सबस्टेसनसम्म परियोजना आफैँले प्रसारण लाइन निर्माण गर्नेछ ।