१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
गुल्मीको रेसुंगा नगरपालिका-७ उनायचौरमा निर्माणधीन १३२ केभिए राष्ट्रि विद्युत् प्रसारण लाइनको सवस्टेशन ।
२o८१ बैशाख २१ शुक्रबार ११:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

गुल्मीमा १३२ केभिए विद्युतको राष्ट्रिय प्रसारण लाइनसँग जोडिँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:o७:oo

उनायचौर र पौदीमा दुई सबस्टेसन निर्माण तीव्र

गुल्मीमा १३२ केभिए राष्ट्रिय विद्युत् प्रसारणलाइनका दुई ठूला विद्युत् सबस्टेसन निर्माणको काम तीव्र रूपमा अगाडि बढेकाे छ । रेसुंगा नगरपालिका- ७ को उनायचौर र मुसिकोट नगरपालिका- १ को पौदी अमराईमा करिब ८१ करोडको लागतमा दुई ठूला विद्युत् सबस्टेसन निर्माणको काम भइरहेको छ ।

उनायचौरमा ६२ र पौदी अमराईमा ७४ प्रतिशत काम सकिएको बुर्तिबाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ प्रसारणलाइन आयोजना कार्यालयले जनाएको छ । उनायचौरमा मेनलाइनको दुईबाहेक अरू फाउन्डेसन निर्माणको काम सकिएको आयोजना कार्यालयका प्रमुख मनोजप्रसाद चौधरीले जानकारी दिए । गार्डरुम, आवास, स्टोर र कन्ट्रोलरुम केही दिनमा निर्माण व्यवसायीले आयोजनालाई हस्तान्तरण गर्नेछन् । उनले पौदी–अमराईमा भवन र फाउन्डेसनका सबै काम पूरा भएको जानकारी दिए । 

उनायचौरमा ४० करोड ८० लाखको लागतमा सिग्मा कन–नरेन्द्र निर्माण जेभी र पौदी–अमराईमा ३९ करोड ९६ लाखको लागतमा आरजे कन्स्ट्रक्सनले सबस्टेसन निर्माणको काम गरिरहेको आयोजना प्रमुख चौधरीले जानकारी दिए । सबस्टेसन निर्माणको काम दुई वर्षभित्र सक्ने गरी ०७७ जेठमा निर्माण व्यवसायीले सम्झौता गरेका थिए । यो काम तोकिएको समयअगाडि नै सम्पन्न हुने दाबी आयोजनाले गरेको छ । चौधरीका अनुसार सबस्टेसनको कामसँगै अर्घाखाँचीबाट गुल्मीका दुई सबस्टेसन हुँदै बुर्तिबाङसम्म मेन लाइन विस्तारका लागि ८१ करोडको काम अगाडि बढेको छ । 

प्रसारणलाइनले चार जिल्ला जोड्दै
आयोजनामार्फत कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीकाे सन्धिखर्क हुँदै गुल्मीको उनायचौर–पौदी अमराईदेखि बाग्लुङको बुर्तिबाङसम्म ८६ किलोमिटर दूरीमा पाँचवटा सबस्टेसन निर्माण हुँदै छन् । त्यसमध्ये कपिलवस्तु र अर्घाखाँचीमा सबस्टेसन निर्माणको काम सकिएर चार्ज गर्ने काम हुँदै छ । 

सबस्टेसन निर्माणसँगै प्रसारणलाइन विस्तारको काम पनि भएको छ । कपिलवस्तुदेखि अर्घाखाँचीको ठाडासम्म प्रसारणलाइनको टावर निर्माण गरिएको आयोजना प्रमुख मनोजप्रसाद चौधरीले बताए । ‘काममा सबैको सहयोग पाएका छौँ । तोकिएकै समयमा सबै काम पूरा गर्ने गरी आयोजनाले काम गरिरहेको छ,’ उनले भने, ‘सबस्टेसनसँगै प्रसारणलाइन विस्तारको काम गरिहाल्छौँ ।’

गौरवको आयोजना हो : पूर्वमन्त्री विष्ट

चार जिल्लाका पाँचमध्ये गुल्मीमा १३२ केभिए प्रसारणलाइनका दुईवटा सबस्टेसन निर्माण भइरहेका छन् । १३२ केभिए प्रसारणलाइनले कपिलवस्तु, अर्घाखाँची, गुल्मी र बाग्लुङलाई प्रत्येक्ष फाइदा पुग्ने पूर्वऊर्जामन्त्रीसमेत रहेका गोकर्ण विष्टले बताए ।

उनले १३२ केभिए प्रसारणलाइनको विस्तारसँगै गुल्मी र बाग्लुङ भएर बग्ने नदीहरूको विद्युत् उत्पादन जोडेर औद्योगिक क्षेत्रसम्म विस्तार गरिने जानकारी दिए । ‘म ऊर्जामन्त्री भएको वेला यो आयोजनालाई बजेटमा व्यवस्था गरेका थियाैँ । ऊर्जा विकासमार्फत चार जिल्लाका नागरिकको जीवनका आयोजनाको ठूलो महत्व छ,’ उनले भने, ‘समयमै काम पूरा हुनेमा आशा र भरोसा छ ।’ 

भरपर्दो सेवाको आशा
केही दिनअघि तीन दिन जिल्लाभरको विद्युत् बन्द हुँदा नागरिकले निकै सास्ती खेपे । गुल्मीमा विद्युत् सेवा अवरुद्ध हुन कुनै ठूलो समस्या चाहिँदैन । अनियमित विद्युतकाे मारमा उद्योगी–व्यवसायीदेखि नागरिकसम्म परिरहेका छन् । अनियमित विद्युतको प्रमुख कारण ३३ केभिए प्रसारणलाइन हो । जसका कारण जिल्ला भित्रिएको निर्माणाधीन १३२ केभिए राष्ट्रिय विद्युत् प्रसारणलाइनसँगै नागरिकको भरपर्दाे विद्युतीय सेवाको आसा जोडिएको छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुल्मीका ईश्वरकुमार श्रेष्ठले १३२ केभिए राष्ट्रिय विद्युत् प्रसारणलाइनले जिल्लाको ५० प्रतिशत विद्युत् समस्या समाधान हुने बताए । उनले अहिले बुटवल–पाल्पा र अर्घाखाँचीबाट दुई रुटको ३३ केभिए प्रसारणलाइनका कारणले नियमित विद्युतमा समस्या देखिएको जानकारी दिए । ‘एक जिल्लामा राष्ट्रिय विद्युत् प्रसारणलाइनका दुई सबस्टेसन बन्ने विषय गुल्मेलीका लागि सुखद विषय हो,’ उनले भने, ‘अब अहिलेको अनियमित विद्युतकाे समस्या धेरै हदसम्म समाधान हुन्छ ।’

ad
ad