मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २४ सोमबार
  • Thursday, 19 December, 2024
कृष्ण रिजाल काठमाडाैं
२o७९ असोज २४ सोमबार o६:५o:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

चुनावी मैदानमा स्थापित व्यवसायी

प्रमुख दलहरूले उद्योगीदेखि ठेकेदार, शिक्षा, स्वास्थ्य, वैदेशिक रोजगार क्षेत्रमा स्थापित व्यवसायीसम्मलाई उम्मेदवार बनाएका छन्

Read Time : > 2 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असोज २४ सोमबार o६:५o:oo

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ दुई दर्जनभन्दा बढी व्यवसायीले उम्मेदवारी दिएका छन् । विभिन्न दल तथा स्वतन्त्र रूपमा व्यावसायीहरू चुनावी मैदानमा होमिएका हुन् । संघ र प्रदेश सभाको प्रत्यक्षतर्फको सदस्यका लागि उद्योगीदेखि निर्माण, शिक्षा, स्वास्थ्य, वैदेशिक रोजगार एवं पर्यटन क्षेत्रका व्यवसायीले उम्मेदवारी दिएका छन् । 

ठूला दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रबाट चुनावमा होमिने व्यावसायीको संख्या धेरै छ । त्यस्तै, एकीकृत समाजवादी, जसपा, नेसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्र पार्टीलगायत दलबाट समेत व्यवसायीहरूले उम्मेदवारी दर्ता गराएका छन् । यसपटक राजनीतिमा सक्रिय नदेखिएका उद्योगी व्यवसायीले समेत राष्ट्रिय दलबाट टिकट हात पारेका छन् । 

विश्वका धनीहरूको सूचीमा सूचीकृत उद्योगी विनोद चौधरीले नेपाली कांग्रेसको तर्फबाट टिकट पाएका छन् । उनले नवलपरासी–१ मा कांग्रेसका तर्फबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् । व्यावसायिक घराना चौधरी ग्रुपका अध्यक्षसमेत रहेका उनी अघिल्लो निर्वाचनमा नेपाली कांग्रे्रसबाटै समानुपातिकतर्फबाट सांसद बनेका थिए । 

व्यवसायी बालकृष्ण शिवाकोटीले दोलखाको प्रतिनिधिसभा सदस्यमा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । मेगा बैंकका सञ्चालक रहेका शिवाकोटीको केबलकार, होटेल, मल, ब्रोकर कम्पनीलगायतमा लगानी रहेको छ । उनी लगानी बोर्ड नेपालका आमन्त्रित सदस्यसमेत हुन् । बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका किसान श्रेष्ठको होटेल, ग्यास, घरजग्गा, कृषिलगायतका क्षेत्रमा लगानी रहेको छ । एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएका उनले हालै नेपालकै चर्चित नेपाल ग्यास उद्योग खरिद गरेका थिए ।

व्यवसायी डा. वीरेन्द्र महतोले जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट सिराहा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । महतोको बैंक तथा वित्तीय संस्था र स्वास्थ्य क्षेत्रमा मुख्य लगानी रहेको छ । उनी गैरआवासीय नेपाली तथा चर्चित व्यवसायी उपेन्द्र महतोका भाइ हुन् ।निर्माण व्यवसायी विक्रम पाण्डेले चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । कालिका कन्स्ट्रक्सन प्रालिका सञ्चालक पाण्डेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवारी दिएका हुन् । अघिल्लो चुनावमा उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भएका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पर्यटन व्यवसायी सुमनविक्रम पाण्डेले नुवाकोट क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । छाया सेन्टरका प्रवद्र्धक पाण्डेको होटेल, एयरलाइन्सलगायत क्षेत्रमा लगानी रहेको छ ।

संघ र प्रदेशमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका अन्य व्यवसायी 
-राजेन्द्र बजगाईं, पर्यटन व्यवसायी (गोरखा–१, कांग्रेस)
-बहादुरसिंह लामा, निर्माण व्यवसायी (नुवाकोट–२ ख, कांग्रेस) 
-श्यामकुमार घिमिरे, डेन्टल हस्पिटल (सिन्धुली–१, कांग्रेस)
-डा. सुनील शर्मा, मेडिकल कलेज सञ्चालक (मोरङ–३, कांग्रेस)
-बिन्दु थापा, पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष (कास्की–२ ख, कांग्रेस)
-पीताम्बर जोशी : कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष (कञ्चनपुर–३ क, कांग्रेस) 
 -दानबहादुर कार्की, म्यानपावर व्यवसायी (मोरङ–२ क, एमाले) 
  -राजकुमार गुप्ता, भाँडाकुँडा उद्योग (पर्सा–३, एमाले)
  -जालिम मिया, काठ मिल (पर्सा ४, एमाले) 
   -गणेशमान गुरुङ, होटेल व्यवसायी (कास्की–३ क, एमाले) 
  -मीना गुरुङ, सौन्दर्य कला व्यवसायी (कास्की–२ ख, एमाले) 

समानुपातिकमा ठूला व्यवसायी 
निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूचीमा ठूला व्यवसायीहरू देखिएका छन् । आदिवासी जनजाति, मधेसीलगायत कोटामा साना–ठूला व्यवसायी देखिएका छन् । व्यावसायिक घराना प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचन नेकपा एमालेका तर्फबाट आदिवासी जनजाति कोटामा प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनेका छन् । कांग्रेसले रुंगटा ग्रुपका सञ्चालक अनिल रुंगटालाई प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवार बनाएको छ ।

रुंगटा मधेसी कोटामा उम्मेदवार बनेका हुन् । माओवादी केन्द्रले निर्यात, होटेललगायत व्यावसायमा संलग्न दिलसुन्दर श्रेष्ठलाई आदिवासी जनजाति कोटाबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चलचित्र निर्मार्ता तथा फिल्म हल सञ्चालक उद्धव पौडेललाई समानुपातिकतर्फको उम्मेदवार बनाएको छ । त्यस्तै, कांग्रेसले पेट्रोलियम व्यावसायी लिलेन्द्र प्रधानलाई पनि समानुपातिकतर्फको उम्मेदवार बनाएको छ । समानुपातिकको बन्दसूचीमा ठेकेदारदेखि साना, मझौला तथा ठूला व्यवसायीसम्म उम्मेदवार देखिएका छन् । 

योजना आयोगको उपाध्यक्ष छाडेर उम्मेदवारी
पूर्वअर्थमन्त्री र आयोगका निवर्तमान उपाध्यक्ष भिड्दै

राष्ट्रिय योजना आयोगका उपाध्यक्षबाट राजीनामा दिएका विश्वनाथ पौडेलको प्रतिस्पर्धा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसँग हुने भएको छ । नेपाली कांग्रेसबाट टिकट पाउने सुनिश्चित भएपछि उनले तीन दिनअघि नै राजीनामा दिएका थिए । पाण्डे र पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि चितवन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका छन् । अघिल्लो वर्ष १८ साउनमा सरकारले उनलाई उपाध्यक्षमा नियुक्त गरेको थियो । देउवा नेतृत्वको सरकारले बलिया आकांक्षी शंकर शर्मालाई समेत पन्छाएर उनलाई नियुक्ति दिएका थिए । 

सैद्धान्तिक रूपमा राष्ट्रिय योजना आयोग सरकारको विकास सल्लाहकार मानिन्छ । थिंकट्यांकको मोडालिटीमा काम गर्ने आयोगले पौडेलको कार्यकालमा पूर्वबजेटको तयारीभन्दा बढी काम गर्न नसकेको टिप्पणी भइरहेको छ ।  

 यी अर्थशास्त्री जसले टिकट पाएनन् 
नेपाल कांग्रेसबाट प्रतिनिधिसभामा उम्मेदवारी दिने घोषणा गरेका कांग्रेसनिकट अर्थशास्त्री स्वर्णिम वाग्लेले अन्तिम समयमा टिकट नै पाएनन् । चितवनबाट सिफारिस भएका वाग्लेले काठमाडौं, चितवन वा गोर्खाबाट टिकट पाउने चर्चा भए पनि उनले टिकट पाएनन् । वाग्लेले टिकट नपाएपछि कांग्रेस वृत्तमा मात्र नभई अन्यले पनि त्यसको आलोचना गरेका छन् । 

कांग्रेसनिकट अर्का अर्थशास्त्री एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेलले पनि टिकट पाएनन् । त्यस्तै, एमालेबाट धादिङबाट सिफारिस भएका अर्का अर्थशास्त्री पुष्पराज कँडेलले पनि टिकट पाएनन् । माओवादी केन्द्रले भने अर्थशास्त्री मीनबहादुर श्रेष्ठलाई समानुपातिकतर्फको उम्मेदवार बनाएको छ ।