मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ असोज १३ बिहीबार ०७:४७:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

डलर कमाउन निजी जहाज पूर्वतिर, कर्णालीका यात्रु प्रभावित 

Read Time : > 1 मिनेट
२०७९ असोज १३ बिहीबार ०७:४७:००

कर्णाली प्रदेशको माथिल्लो कर्णाली हुम्ला, जुम्ला, डोल्पा र मुगुमा विमानस्थल भए पनि जहाज आउँदैनन् । निजी कम्पनीका बिमानहरू डलर कमाउन भन्दै पूर्वतिर उडान गरेपछि कर्णालीका यात्रु प्रभावित भएका हुन् । टिकट काटेर  कर्णालीमा उडान गर्न तयार भएका निजी विमानले उडान रद्द गर्दै पूर्वतिर जान थालेपछि नेपालगन्जमा धेरै यात्रु अलपत्र परेको गुठीचौर गाउँपालिका– ३ का ईश्वर बुढाले बताए । उनले भने ‘कर्णालीका लागि न भरपर्दो हवाई सेवा छ, न त सुरक्षित सडक यात्रा नै । दसैँतिहारजस्ता चाडमा पनि ज्यानको बाजी लगाएरै भए पनि सडक यात्रा गर्नुपर्ने बाध्यता छ ।’ 

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लावासी नै हुन् । तर, हुम्लामा न त नियमित हवाई उडान नै हुन्छ, न त राष्ट्रिय सडक सञ्जालसँग जोएिको छ । हुम्लाका लागि यातायातको निर्विकल्प साधन हो, हवाईजहाज । सहरबाट हुम्ला फर्किन र हुम्लाबाट सहर झर्न हुम्लीलाई सधैँ जहाजकै पिरलो हुँदै आएको उनले बताए  । 

वर्षको ६ महिना हुम्ला जिल्लाले धानेका निजी कम्पनीहरूले आवश्यकताको समयमा हुम्लीलाई पीडा दिँदै आएको खार्पुनाथ गाउँपालिका– ५ का सागर साहीले दुखेसो गरे । हुम्ली जनतालाई अप्ठ्यारो भएका वेला निजी कम्पनीका एयरले झनै पीडा दिने गरेको उनको भनाइ छ । 

कर्णालीमा उडान गरिरहेका निजी कम्पनीले पर्यटक ओसार्न भन्दै जहाज पूर्वतिर पठाएपछि कर्णालीका हजारौँ हवाई यात्रु अलपत्र परेका छन् । हुम्ला, मुगु, जुम्ला र डोल्पामा केही समययता जहाजले उडान भर्ने गरेका छैनन् । कर्णालीमा सीता, तारा, समिट र नेपाल एयरलाइन्सले उडान भर्छन् । तर, यसरी चाडबाडका वेला जहाज नै उपलब्ध नहुँदा यात्रुहरूलाई सास्ती हुने गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले संस्कृति पर्यटन तथा यातायात मन्त्रीलाई कर्णालीमा नियमित उडान गर्नका लागि पहल गर्न माग गरिएको बताए । ‘कम्पनीहरूले सबै जहाज पूर्व पठाएर यात्रु बिचल्लीमा पार्ने काम जुम्ली जनतालाई सेवा नदिने नियत हो । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ आचार्यले भने । निजी हवाई सेवा प्रदायक कम्पनीहरूलाई प्रत्येक दिन कम्तीमा एउटा फ्लाइट र नेपाल एयरलाइन्सले समेत नियमित सेड्युल फ्लाइट राख्न आवश्यक निर्देशनका लागि पत्र पठाइसकिएको प्रमुख आचार्यले बताए ।