हाम्रा चाडपर्व पनि समयअनुसार परिवर्तन हुँदै जाने रहेछन् । म सानो छँदाको दसैँ र अहिलेको दसैँमा नै धेरै फरक देख्छु । । त्यतिवेला मानिसहरू नौ दिनसम्म चण्डी पाठ गर्थे, कडा ध्यान गर्दथे । यो पक्ष अहिले कमजोर हुँदै छ ।
तर पनि शक्तिको उपासना गर्ने क्रम अझै जारी छ । शक्तिको आराधना गरेर आध्यात्मिक ऊर्जाको विकास गर्ने, शरीरमा फुर्ती पैदा गर्ने मान्यता अझै पनि छ । यो सकारात्मक पाटो हो । धेरैले त अहिले दसैँलाई गेटटुगेदरजस्तो ठान्न थालिसके ।
खोटाङको लामीडाँडा हो, मेरो गाउँ । त्यहाँ कपडा बोकेर धुलिखेलका साहुजी आएपछि दसैँको रौनक सुरु हुन्थ्यो । ‘धुलिखेले...’ आयो भन्थे ।
दसैँमा विकासका काम पनि हुन्थे । त्यतिवेला घोडेटो र गोरेटो बाटो बनाउनका लागि राजाको सवारीजस्ता विशेष अवसर वा दसैँ नै कुर्नुपथ्र्यो । अहिले एक–दुई किलोमिटर बाटो खन्न पनि लाखौँ खर्च हुने अवस्था आयो ।
त्यतिवेला सुको खर्च हुँदैनथ्यो । मानिसहरू मिलेर श्रमदान गरेर बाटो बनाउँथे । घरबाट आफैँ खाजा ल्याएर खान्थे । दसैँ आउनै लाग्दा मौसम पनि सफा हुने भएकाले विकासका काम गर्नका लागि यो राम्रो अवसर थियो ।