मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ७ शुक्रबार
  • Thursday, 19 December, 2024
फाइल तस्बिर
२o७९ असोज ७ शुक्रबार o९:o१:oo
Read Time : > 5 मिनेट
अर्थ प्रिन्ट संस्करण

महँगियो दसैँ

Read Time : > 5 मिनेट
२o७९ असोज ७ शुक्रबार o९:o१:oo

विगतमा जस्तै यसपटकको दसैँ पनि महँगिएको छ । दसैँमा बढी खपत हुने खाद्यान्न, माछा–मासु, जुत्ता–चप्पल, मदिरा, लत्ताकपडा, भाँडाकुँडा, तरकारी तथा फलफूललगायतको भाउ छोइनसक्नु भएको छ ।६ महिनादेखि जारी रुस–युक्रेनबीचको द्वन्द्वले अन्तर्राष्ट्रिय अर्थतन्त्रको मूल्य शृंखलामै प्रभाव पारेको छ । खासगरी पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, आपूर्ति शृंखलामा पारेको नकारात्मक प्रभाव र गहिरिँदै गएको तरलता संकटले सिर्जना गरेको उच्च ब्याजदरका कारण आयातमा आधारित मुलुकको अर्थतन्त्र महँगीको चपेटामा छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मूल्यवृद्धि दर ८.२६ प्रतिशत पुगेको छ, जुन हालसम्मकै उच्च हो ।

विभिन्न चरण गर्दै करिब तीन वर्षसम्म चलेको कोभिड महामारीपछि बिस्तारै उघ्रन थालेको विश्व अर्थतन्त्रलाई रुस–युक्रेन द्वन्द्वले पुनः निराशा दिँदा नेपाली उपभोक्ता र व्यवसायी महँगीको थप मर्कामा परेका हुन् । व्यवसायीहरूको अनौपचारिक तथ्यांकअनुसार वस्तु तथा सेवामा १५ प्रतिशतसम्म मूल्यवृद्धि भइसकेको छ । चर्को मूल्यका कारण अहिले व्यवसायसमेत खस्केको राष्ट्रिय व्यापार संघका उपाध्यक्ष रामचन्द्र पराजुली बताउँछन् । मूल्यवृद्धिकै कारण गत वर्षको तुलनामा झन्डै ५० प्रतिशत व्यापार घटेको उनले बताए ।

पराजुली भन्छन्, ‘बैंकमा देखिएको तरलता र बढ्दो ब्याजदरको कारण व्यवसायीले ऋण लिन सक्ने अवस्था नबन्दा मूल्य वृद्धिसँगै व्यापार पनि घट्न पुगेको छ ।’ तरलताको अभाव नरहेको र बैंकबाट ऋण लिन सहज भएका वर्षहरूको तुलनामा अहिले व्यवसायीहरू ऋण लिन सक्ने अवस्थामा नरहेको उनले बताए । उनले भने, ‘व्यवसायीको व्यक्तिगत पुँजीले मात्र सम्भव हुन्न, बैंकले ऋण दिन सक्ने अवस्था छैन, जसको कारण २५ प्रतिशत व्यवसायी पलायन हुने अवस्थामा पुगेका छन् ।’

सामान्य अवस्थाको तुलनामा दसैँमा लत्ताकपडा, माछा–मासु, फलफूल, तरकारी, खाद्यान्नलगायतको व्यापार ५०–६० प्रतिशत बढी हुने गरेको थियो । तर, यसपटक सामान्य अवस्थाको तुलनामा थोरै मात्रै व्यापारमा वृद्धि देखिएको पराजुली बताउँछन् ।

 लत्ताकपडामा मूल्यवृद्धि, व्यापारमा गिरावट 
अघिल्ला वर्षहरूको तुलनामा यसपटक नयाँ मोडलका लत्ताकपडा कम उपलब्ध भएको र उपभोक्ताहरूको पनि आकर्षण कम भएको हिमालयन सीमापार व्यापार संघका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्षको तुलनामा यसपटक २० प्रतिशतभन्दा कम व्यापार भएको छ । उनले भने, ‘बैंकको ब्याजदर बढेको छ, व्यापारी कपडा नै किन्न नसक्ने अवस्थाा पुगे, त्यसले गर्दा मूल्य स्वतः अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले बढ्न पुगेको छ ।’ विगतमा आठ–नौ प्रतिशतले बैंकबाट ऋण पाइने हुँदा ठूलो संख्यामा खरिद गर्न सकिने भए पनि अहिले त्यो अवस्था नभएको श्रेष्ठको भनाइ छ । ‘विगतका दिनहरूमा काठमाडौंको महाबौद्ध, असनतिर कपडा किन्नेको भिड लाग्थ्यो, अहिले एक–दुईजना मात्र देखिन्छन्,’ उनले भने, ‘बिस्तारै कपडा व्यापारमा नसोचेको दुःखद दिनहरू देखिँदै छन् ।’

आन्तरिक लागत बढ्ने र डलरको भाउ बढ्ने हुँदा यसपटकको दसैँ महँगिएको अर्थशास्त्री चन्द्रमणि अधिकारी बताउँछन् । रुस र युक्रेनबीच भएको युद्धको असरले बढ्दो मूल्यवृद्धि र फितलो अनुगमनको कारणले उपभोक्ता त्यसको मारमा परेको अधिकारीको भनाइ छ । उनी भन्छन्, ‘अहिले दसैँ भन्नेबित्तिकै दसैँका लागि आवश्यक सामान मात्र किन्दैनौँ, मोबाइल, ल्यापटप, सवारीसाधनजस्ता विलासी वस्तु पनि किन्छौँ, जसले हाम्रो खर्च बढाइरहेको छ ।’

 अनुगमन दर बढ्यो, तर मूल्य नियन्त्रण निष्प्रभावी
प्रमुख अनुगमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा उपत्यकाकेन्द्रित संयुक्त बजार अनुगमन भइरहेको छ । विभागका निर्देशक होमनाथ भट्टराईले हाल दैनिक नौ टोली परिचालन भइरहेको र औसतमा ५० वटा फर्म–पसलको अनुगमन भइरहेको बताए । उनका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, कृषि विभाग, पशु सेवा विभाग, गुणस्तर तथा नापतौल विभागलगायतका निकायका प्रतिनिधि सम्मिलित भई अनुगमन भइरहेको छ ।

‘चाडपर्वमा बढी खपत हुने खाद्यान्न, माछा–मासु, डिपार्टमेन्ट स्टोर–मिनी मार्ट, जुत्ताचप्पल, मदिरा, लत्ताकपडा, भाँडाकुँडा, तरकारी तथा फलफूललगायतका क्षेत्रमा अनुगमन केन्द्रित गरेका छौँ,’ उनले भने । विभागले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग चाडपर्वलक्षित अनुगमनका लागि थप १० जना कर्मचारी मागेको र आउने क्रममा रहेको उनले बताए । ‘हामीले दैनिक ११ टोलीसम्म परिचालन गर्न थप कर्मचारी मागेका हौँ,’ उनले भने ।

विभागले अनुगमन संख्या बढाएपछि उपत्यकामा व्यवसाय गर्नेहरूमा सचेतना बढेको उनले दाबी गरे । ‘हामीले अनुगमन बढाएर कैफियत देखिएका ठाउँमा जरिवाना पनि तोक्दै आएका छौँ । त्यसैले व्यवसायीमा सचेतना पनि बढेको पायौँ,’ उनले भने । कुनै पनि क्षेत्रमा ठगिएको महसुस भए ११३७ नम्बरमा फोन गरी उजुरी दिन पनि विभागले अनुरोध गरेको छ ।

विभागले अनुगमन संख्या बढाए पनि प्रभावकारी हुन नसकेको उपभोक्ताहरूको गुनासो छ । ललितपुरको भैँसेपाटीनिवासी कृष्ण कार्कीले बजार भाउ दिनहुँ वृद्धि भइरहँदा मूल्य नियन्त्रण गर्न सरकारी निकाय असफल भएको उनले गुनासो गरे । ‘बजार भाउ नियन्त्रणका लागि अनुगमन भएजस्तो लाग्दैन,’ उनले भने ।

 पेट्रोलियमको मूल्य नघट्दा मूल्यवृद्धिलाई मलजल
अन्तर्राष्ट्रिय बजारमा घटेको पेट्रोलियम पदार्थको मूल्यको लाभ नेपाली उपभोक्ताले पाउन सकेका छैनन् । साढे तीन महिनायता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ३४ डलर प्र्रतिब्यारेल घटेर बिहीबार साँझ ८३.७८ डलर प्रतिब्यारेल कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेअनुसार आयल निगमले मूल्य नघटाउँदा तीन महिनाअघिको तुलनामा नेपाली बजारमा पेट्रोलियमको भाउ महँगो छ ।

तीन महिनाअघि पेट्रोल एक सय ७८ रुपैयाँ र डिजेल एक सय ६५ रुपैयाँ प्रतिलिटर थियो । हाल पेट्रोल एक सय ८१ र डिजेल एक सय ७२ रुपैयाँ प्रतिलिटर छ । विगतमा अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा मूल्य घटाउन नपाउँदा ठूलो नोक्सानी खेपेका कारण अहिले मूल्य घट्दा नेपाली बजारमा घटाउन नसकिने भन्दै आयल निगमले अडान राखेको छ । 

निगमले अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य नघटाउँदा दसैँको मुखमा यातायात र ढुवानी भाडा सस्तो हुन सकेको छैन । आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले अन्तर्राष्ट्रिय बजारभाउ बढेको दरमा नेपाली बजारमा मूल्य समायोजन गर्न नपाउँदा १० अर्ब रुपैयाँ ऋण र २३ अर्ब रुपैयाँ बक्यौता बोकेको र सो नोक्सानी भर्पाई नभएसम्म मूल्य घटाउन सकिने बताएका छन् ।

केही दिनअघि पत्रकार सम्मेलन गर्दै उनले भनेका थिए, ‘अन्तर्राष्ट्रिय बजारमा बढेको दरमा मूल्य बढ्दा नेपाली बजारमा समायोजन गर्न पाएनौँ । त्यसैले घटेको दरमा पनि नेपाली बजारमा घटाउन सकिँदैन । हामीले विगतमा ठूलो नोक्सानी खेपेर पेट्रोलियम पदार्थको सहज आपूर्ति गरेको कुरा सर्वसाधारणले बुझिदिनुपर्छ ।’
निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको भए दसैँको मुखमा लामो तथा छोटो दूरीको सवारी भाडा तथा हवाई भाडा घटेर यात्रुले सहजता पाउने थिए । त्यस्तै, ढुवानी खर्च कम भई वस्तु तथा सेवाको उपभोक्ताको मूल्यसमेत घट्ने थियो ।

 मूल्य नियन्त्रण गर्न सहुलियत पसल असफल
विगतमा जस्तै यसपटक पनि सरकारले चाडपर्वलक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । सार्वजनिक संस्थानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट टे«डिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डिडिसी) को आफ्नै कार्यालयमा पसल सञ्चालन गरेर सीमित वस्तुमा छुटसहित सहुलियत पसल सञ्चालन गरेका हुन् । १ असोजबाट सहुलियत पसलको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उपभोक्तालाई मूल्यमा सहुलियत दिने गरी पसलहरू सञ्चालन गरेको बताएका थिए ।

तर, सीमित संख्याको पसल र थोरै वस्तुमा मात्रै छुट राखिएकाले बहुसंख्यक उपभोक्ता सुपथ पसलको पहुँचबाहिर छन् भने यस्ता पसल सहरी क्षेत्रमा मात्रै सञ्चालन भएकाले ग्रामीण क्षेत्रका उपभोक्ता सहुलियत पसलबाट लाभ लिन वञ्चित छन् ।खाद्य वस्तुमा सातदेखि १० रुपैयाँ र दुग्धजन्य पदार्थमा २० देखि ५० रुपैयाँ प्रतिकिलो छुट दिइएको सुपथ पसलसम्म धाएर सामग्री खरिद गर्न सबै उपभोक्तालाई सम्भव नभएको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए । ‘सहुलियत पसलको संख्या बढाउने र धेरैभन्दा धेरै वस्तुमा छुट सुविधा उपलब्ध हुने स्थिति नभएसम्म सरकारले बर्सेनि सञ्चालन गर्ने सहुलियत पसलले बजार मूल्य नियन्त्रण गर्न सक्दैन,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्षसमेत रहेका तिमिल्सिनाले भने ।

 खसी, बोका र च्याङ्ग्राको भाउ उकालो लाग्दै
काठमाडौं उपत्यकामा दसैँमा करिब ५० हजार खसी, बोका र च्याङ्ग्रा खपत हुने अनौपचारिक तथ्यांक छ । अन्य वेलाको तुलनामा दसैँमा मासुको माग उच्च हुने भएकाले मूल्य पनि बढ्ने गरेको छ । कलंकी खसी बजारस्थित चौपाया खरिद–बिक्री सेवा संघका पूर्वअध्यक्ष दीपक थापाले हाल जिउँदो खसी–बोकाको मूल्य प्रतिकिलो ६ सय २० देखि ६ सय ७० रुपैयाँसम्म रहेको बताए । ‘घटस्थापना लागेपछि माग उच्च हुन्छ, त्यसवेला केही बढ्छ,’ थापाले भने । गत वर्ष जिउँदो खसी–बोकाको मूल्य बढीमा ६ सय ६५ रुपैयाँ प्रतिकिलोसम्म पुगेको थियो ।

च्याङ्ग्राको मूल्य भने अत्यधिक वृद्धि हुने देखिएको छ । तीन वर्षअघि काठमाडौंमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो सात–आठ सय रुपैयाँमा बिक्री भएको थियो । अहिले मुस्ताङमा खरिद मूल्य नै १६–१७ सय रुपैयाँ प्रतिकिलो रहेको थापाले बताए । ‘च्याङ्ग्राको भाउ धेरै बढेको छ, त्यसैले कतिपय साथीहरू त च्याङ्ग्रा नै नलिई रित्तै फर्कन थाल्नुभएको छ,’ उनले भने । दसैँका लागि चार–पाँच हजार च्याङ्ग्रा उपलब्ध गराउने व्यवसायीको योजना छ ।

खसी–बोकाको मूल्यमा हस्तक्षेप गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले करिब तीन हजार खसी–बोका ल्याउने र प्रतिकिलो १० रुपैयाँ छुट उपलब्ध गराउने निर्णय गरेको छ । यद्यपि, कम्पनीले थोरै संख्यामा खसी–बोका ल्याउने भएकाले बजार मूल्य हस्तक्षेप प्रभावकारी हुन सकेको छैन । दसैँमा धेरै खसी–बोकाको कारोबार हुने भएकाले विगतमा जस्तै यस वर्ष पनि पशु सेवा विभागले खसी, बोका र च्याङ्ग्राको स्वास्थ्य परीक्षणलाई प्राथमिकतामा दिने बताएको छ । विभागका प्रवक्ता चन्द्र ढकालले ४० देखि ५० जनाको टोलीले परीक्षण गर्ने तयारी गरिरहेको बताए । ‘परीक्षण गर्ने आवश्यक जनशक्ति जुटाउने र खसी–बोका भित्रिनेबित्तिकै परीक्षण थाल्नेछौँ,’ उनले भने । विभागले स्वस्थलाई हरियो चिह्न र बिरामी वा खान अयोग्य भएकालाई रातो चिह्न लगाउने गरेको छ ।

डलरको भाउले आयातित वस्तुमा मूल्यवृद्धि
चन्द्रमणि अधिकारी, अर्थविद्

यसपटक दसैँ महँगो हुनुमा बाह्य र आन्तरिक कारण रहेको छ । डलरको भाउ उच्चदरले बढ्नु र आन्तरिक लागत बढ्दा त्यसको असर अहिलेको दसैँमा परेको हो । गत वर्ष डलरको भाउ ११७ रुपैयाँ थियो अहिले बढेर एक सय २८ रुपैयाँसम्म पुगेको छ । ११ देखि १२ प्रतिशतसम्मले डलरको भाउ बढिसक्यो । अर्को केही सीमित घरानाहरूकोे मुठ्ठीमा आयात–निर्यातको ठूलो हिस्सा रहेको हुँदा उनीहरूले मूल्यवृद्धि गर्छन् । त्यसको अनुगमन तल्लो तहसम्म बढाउनुपर्छ । हाम्रोमा अनुगमन एकदम फितलो छ । तीनवटै निकायको सरकार र उपभोक्ता समन्वयको अभाव छ । सरकारी निकायबाटै समन्वय गरेर यस समयमा अघि बढ्नुपर्छ ।

महँगी करिब १५ प्रतिशतले बढेको छ 
रामचन्द्र पराजुली, उपाध्यक्ष, राष्ट्रिय व्यापार संघ 

यस वर्षको दसैँमा व्यापार क्षेत्रमा चलपहल त्यति उत्साहजनक छैन । महँगी करिब १५ प्रतिशतले बढेको छ । तरलताको कारण बैंक ब्याजदर बढाउने र ऋण     दिन नसक्ने अवस्थामा पुग्यो । विगतमा ऋण पाउन सहज थियो, व्यापारीहरू ठूलो मात्रा सामान ल्याउने गर्दथे, यसपटक बाहिरै मूल्य बढेर आएको छ । त्यसको प्रभाव स्वतः बढ्छ । इन्धनको मूल्यमा आएको परिवर्तनले ढुवानी भाडा बढेको छ । उपभोक्तामा पनि विगतमा जस्तो क्रयशक्ति पनि घटेको छ । व्यापार सहज नहुँदा २५ प्रतिशत व्यवसायी पलायन हुन सक्ने अवस्थामा पुगेका छन् ।