मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ४ मंगलबार
  • Tuesday, 17 December, 2024
२o७९ असोज ४ मंगलबार १o:४५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चाडपर्व नजिकियो, तर स्वदेशी माछा र केरा बिकेन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ४ मंगलबार १o:४५:oo

नेपालमा मनाइने मुख्य चार्डपर्व नजिकिँदै गर्दा स्वदेशमै उत्पादन भएको माछा र केराले बजार पाउन सकेका छैनन् । भन्सार छलेर भित्र्याइएका भारतीय केरा र माछाले नेपाली बजार ओगट्न थालेपछि स्वदेशी उत्पादन बिक्री नभएर खेर जान थालेको स्थानीय कृषकहरूले बताएका छन् । भारतबाट अखाद्य केमिकल हालेर दैनिक ५० टन माछा भित्रिने गरेको नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले बताए । उनले भने, ‘मानव स्वास्थ्यमा नै प्रत्यक्ष रूपमा असर पार्ने फर्मालिन हालेर माछा ल्याइएको छ । भन्सार छलेर, भारतीय विषाक्त माछा दैनिक रूपमा नेपाल भित्रिने गरेको छ ।’ भारतबाट ल्याइएको माछा अस्वस्थ हुनाले सस्तो पनि पर्ने उनले बताए ।     

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय, बागमती प्रदेशका निमित निर्देशक डा. ब्रजकिशोर ठाकुरले भारतीय माछाको अवैध आयात रोक्न नाकामा अनुगमन गरिने बताए । चितवनको आँपटारी, मकवापुरको रातमाटे र सिन्धुलीको कुनै एक ठाउँमा पोस्ट बनाएर अनुगमन गरिने उनले जानकारी दिए । नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीका अनुसार माछामा आत्मनिर्भर जिल्ला चितवनमा वार्षिक ६ हजार पाँच सय मेट्रिकटन माछा उत्पादन हुन्छ ।  

 केरा दुई रुपैयाँ कोसामा पनि बिकेन  
पछिल्लो एक हप्तामा करिब ५० घारी केरा बिक्री नभएपछि चितवन पदमपुरका किसान डोलनाथ दाहालले नष्ट गरेका छन् । पाँच बिघा क्षेत्रफलमा फैलिएको उनको खेतीबाट दैनिक एक गाडी तयार हुन्छ, तर व्यापारीले खरिद नै गर्दैनन् । उनले एक हप्ताअघि दुई रुपैयाँ कोसा केरा बेचेका थिए । त्यसपछि भने व्यापारी सम्पर्कमा नै आएका छैनन् । 

रत्ननगरका अर्का किसान अर्जुन पौडेल भन्छन्, ‘केराखेती गर्दाको ऋण बैंकमा अझै २० लाख छ ।’ चार बिघामध्ये दुई बिघा खेतको केरा बेच्न योग्य छ । नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार लागत मूल्यसमेत नपाउँदा नेपाली किसानले उत्पादन गरेका करिब चार लाख मेट्रिकटन केरा बारीमै थन्किएका छन् । 

 कसरी चिन्ने नेपाली र स्वच्छ माछा ?
खरिदकर्ताले जिउँदो माछा किन्नु राम्रो हुन्छ । भारतबाट नेपाल जिउँदै माछा ल्याउन सम्भव हुँदैन । नेपाली माछा हो भने दुई–तीन दिनमै बिग्रिन्छ, तर भारतीय माछा केमिकल हालिएको हँुदा हप्तौँसम्म पनि केही हँुदैन । भारतमा ग्रेडिङ छुट्याइने हुँदा एकै साइजका माछा मात्र उक्त बिक्री केन्द्रमा हुन्छ । उपभोक्ताले खरिद गर्दा साना–ठूला एकै साइज नभएका माछा छन् भने त्यो नेपालकै माछा हो भनेर चिन्न सजिलो हुन्छ । माछाको कानको भाग गिल्स कलेजी रङको हेरेर किन्दा ताजा र नेपाली माछा पर्छ । मरेको धेरै समय भएको माछाको आँखा भित्र गढेको हुन्छ, त्यसैले उपभोक्ताले चम्किलो आँखा भएको माछा किन्नु राम्रो हो ।