मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ३० बिहीबार
  • Thursday, 19 December, 2024
२o७९ भदौ ३० बिहीबार o७:११:oo
Read Time : > 4 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल टी–२० लिग खेल्ने चर्चित विदेशी खेलाडी

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ ३० बिहीबार o७:११:oo

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा अर्को महिनादेखि नेपाल टी–२० लिग आयोजना हुँदै छ । सहभागी ६ टोलीले घरेलु तथा विदेशी खेलाडीलाई ड्राफ्टको माध्यमबाट अनुबन्धित गरिसकेका छन् । पहिलो संस्करणमा ९ देशका ३३ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्, जसमा केही चर्चित खेलाडी पनि समावेश छन् । श्रीलंका, पाकिस्तान, वेस्ट इन्डिज, अमेरिका, अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, अफगानिस्तान र मलेसियाका खेलाडी लिगमा आबद्ध छन् । वेस्ट इन्डिजका विश्व च्याम्पियन खेलाडी कार्लोस ब्राथवेट, अष्ट्रेलियाका वेन कटिङ, पाकिस्तानका मोहमद हाफिज तथा श्रीलंकाली पूर्वकप्तान एन्जेलो म्याथ्युजले त्रिवि क्रिकेट मैदानमा नेपाली दर्शकलाई आफ्नो प्रदर्शनबाट मोहित बनाउनेछन् । विदेशी खेलाडीमध्ये श्रीलंकाका मात्रै १२ जना छन् । वेस्ट इन्डिजका सात खेलाडीले लिग खेल्नेछन् । यसैगरी, अफगानिस्तानबाट तीन र इंग्ल्यान्डका दुईजना खेलाडी छन् । लिगमा सहभागी यी हुन् चर्चित विदेशी खेलाडी :

थिसरा परेरा (श्रीलंका)
आबद्ध : काठमाडौं गोर्खाज

काठमाडौं गोर्खाजले श्रीलंकाली क्रिकेटर परेरालाई अनुबन्ध गरेको छ । यस टोलीमा नाम चलेका विदेशी खेलाडीमध्ये परेरा अगाडि छन् । परेरा अलराउन्डरका रूपमा राम्रो प्रदर्शन गर्न सक्छन् । दायाँहाते बलर र बायाँहाते ब्याट्सम्यान परेरा सन् २०१० देखि श्रीलंकाली टी–२० टोलीमा छन् । श्रीलंकाली टोलीमा तल्लो क्रममा ब्याटिङ गर्ने परेरा आवश्यकताअनुसार आक्रामक रूपमा प्रस्तुत हुन्छन् । सन् २००९ मा उनले भारतविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका थिए । सन् २०२१ को १४ मार्चमा उनले अन्तिमपटक श्रीलंकाली टोलीबाट वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गरे । सन् २०१० मा उनले जिम्बावेविरुद्ध टी–२० मा डेब्यु अवसर पाए । गत वर्षको मार्चमा उनले वेस्ट इन्डिजविरुद्ध अन्तिमपटक टी–२० खेले । श्रीलंकाली टोलीबाट परेराले ८४ अन्तर्राष्ट्रिय टी–२० खेलमा तीन अर्धशतकको मद्दतमा एक हजार दुई सय चार रन बटुलेका छन् । उनले टी–२० खेलमा श्रीलंकाबाट ५१ विकेट लिएका छन् । 

एन्जेलो म्याथ्युज (श्रीलंका)
आबद्ध : विराटनगर सुपर किंग्स

श्रीलंकाली पूर्वकप्तान एन्जेलो म्याथ्युज विराटनगरमा आबद्ध भएका छन् । श्रीलंकाली टोलीमा उनी अलराउन्डर खेलाडीका रूपमा परिचित छन् । ब्याटिङसँगै मध्यम गतिमा बलिङ गर्न रुचाउने म्याथ्युजले अन्तिमपटक श्रीलंकाली टोलीबाट सन् २०२२ को २४ जुलाईमा पाकिस्तानविरुद्ध टेस्ट खेलेका थिए । सन् २००९ मै उनले श्रीलंकाली टी–२० खेलमा डेब्यु अवसर प्राप्त गरे । मुथैया मुरलिधरणजस्ता विश्व कीर्तिमानी बलरको उपस्थितिमा उनले आफूलाई टोलीमा स्थापित गर्न सफल भए । फिल्डिङमा पनि उनी राम्रा फिल्डर मानिन्छन् । पछिल्लो समय श्रीलंकाले पाएको एक गतिलो अलराउन्डरमध्ये म्याथ्युज हुन् । श्रीलंकाली टी–२० टोलीमा उनले ७८ खेलमा एक हजार एक सय ४८ रन बनाउँदा पाँचपटक अर्धशतक लगाए । उनले बलिङमा ३८ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन ३/१६ हो । 

मोहमद हाफिज (पाकिस्तान)
आबद्ध : पोखरा एभेन्जर्स

नेपाल टी–२० लिगमा विदेशी खेलाडीमा सर्वाधिक नाम चलेका पाकिस्तान मोहमद हाफिज हुन् । क्रिकेटको तीनवटै फम्र्याटमा ब्याटिङ र बलिङको जादु चलाउन सक्ने हाफिजलाई पोखराले भित्र्याएको छ । ओपनिङ ब्याट्सम्यान हाफिजले स्तरीय स्पिन बलिङ पनि गर्न सक्छन् । बलिङ र ब्याटिङमा समान योगदान दिन सक्ने भएकाले उनी आइपिएलबाहेक अन्य अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिगमा आबद्ध छन् । सन् २००३ मै पाकिस्तानी टोलीमा स्थान बनाइसकेका हाफिजले सन् २०२१ मा अस्ट्रेलियाविरुद्ध अन्तिमपटक टी–२० खेलमा सहभागिता जनाए ।

ब्याटिङ क्रममा उनले एक सय १९ अन्तर्राष्ट्रिय टी–२० खेलमा दुई हजार पाँच सय १४ रन बनाउँदा १४ पटक अर्धशतकीय इनिङ्स खेले । एकदिवसीयमा उनले ११ तथा टेस्टमा १० शतक बनाएका छन् । पाकिस्तानी एकदिवसीयमा उनले ३८ पटक अर्धशतकीय इनिङ्स खेले । उनी टी–२० मा पनि राम्रा ब्याट्सम्यान हुन् । उनले १४ पटक टी–२० अर्धशतक ठोकेका छन् । बलिङ क्रममा १ सय १९ टी–२० खेलमा ६१ विकेट लिए । टेस्टमा ५३ तथा एकदिवसीयमा एक सय ३९ विकेट लिएका छन् । 

वेन कटिङ (अस्ट्रेलिया) 
आबद्ध : लुम्बिनी अल स्टार्स

वेन कटिङको अस्ट्रेलियाली टोलीमा त्यति धेरै लामो यात्रा रहेन । एक वर्ष अस्ट्रेलियन टोलीबाट खेल्दा उनले छाप छाड्न सफल भए । एकदिवसीय तथा टी–२० टोलीमा मात्र परेका कटिङले टेस्ट खेलको अनुभव नै गर्न पाएनन् । एक वर्ष टोलीमा रहँदा उनले उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए । तीव्र गतिमा बल फ्याँक्ने कटिङले चार एकदिवसीय खेलमा पाँच र टी–२० मा चार विकेट लिए । लुम्बिनीले पूर्वअस्ट्रेलियन बलरलाई आबद्ध गर्दै बलिङ पक्ष बलियो बनाएको छ । पछिल्लो समय उनी विभिन्न चर्चित टी–२० फ्रेन्चाइजमा आबद्ध छन् । इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदरावाद, कोलकाता नाइट राइडर्स तथा राजस्थान रोयल्सको अनुभव उनीसँग छ । 

इब्राहिम जार्दान (अफगानिस्तान)
आबद्ध : जनकपुर रोयल्स

अफगानिस्तानका अलराउन्डर इब्राहिम जार्दानलाई जनकपुरले भित्र्याएको छ । ‘ए’ श्रेणीमा जार्दानलाई अनुबन्ध गरेको जनकपुरले उनीबाट ब्याटिङमा ठूलो अपेक्षा राखेको छ । अफगानिस्तानको उमेर समूहबाट उत्कृष्ट प्रदर्शन गर्दै जार्दानले राष्ट्रिय टोलीमा सहजै स्थान बनाउन सफल भए । उनले १३ अन्तर्राष्ट्रिय टी–२० मा तीन सय १ रन बनाएका छन् । उनले पाँच टेस्टमा तीन अर्धशतक र टी–२० मा एक अर्धशतक बनाएका छन् । अफगानी टोलीमा जार्दानलाई एक आक्रामक र विश्वासिलो ब्याट्सम्यानका रूपमा लिने गरिन्छ । टोलीलाई आवश्यक परेका वेला मध्यगतिको बलिङ पनि उनी गर्न सक्छन् । सन् २०१९ मा उनले राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । 

कार्लोस बार्थवेट (वेस्ट इन्डिज)
आबद्ध : फारवेस्टर्न

बार्थवेटको नाम कसले भुल्न सक्छ ? सन् २०१६ को फाइनलमा इंग्ल्यान्डविरुद्ध लगातार छक्का प्रहार गरी उनले वेस्ट इन्डिजलाई आइसिसी टी–२० विश्वकपको उपाधि दिलाएका थिए । विश्व क्रिकेटमा आक्रामक र लामो सर्ट प्रहार गर्ने ब्याट्सम्यानका रूपमा ब्राथवेटलाई लिने गरिन्छ । सन् २०११ मै उनले एकदिवसीय टोलीमा स्थान बनाए । आठ वर्षको वेस्ट इन्डिज टोली यात्रा गर्दा उनले आफूलाई एक स्तरीय अलराउन्डर खेलाडीका रूपमा स्थापित गर्न सफल भए । अन्तर्राष्ट्रिय टी–२० मा ३१ तथा एकदिवसीयमा ४३ विकेट लिएका ब्राथवेटले टेस्ट खेलमा केवल एक विकेट मात्र हात पारे । ब्याटिङमा पनि मध्यक्रममा आउँदै टोलीलाई उकास्ने काम उनी गर्छन् । सुदूरपश्चिमले विश्व क्रिकेटकै दिग्गज अलराउन्डर भिœयाउँदै टोली बलियो बनाएको छ । 

धनञ्जय डी सिल्भा (श्रीलंका)
आबद्ध : काठमाडौं गोर्खाज

प्राविधिक रूपमा श्रीलंकाली ब्याट्सम्यान धनञ्जय राम्रा छन् । ओपनर खेलाडी डी सिल्भा सटिक सर्ट छनोट गर्छन् । सन् २०१५ को सिजनमा घरेलु सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी श्रीलंकाली छनोट कमिटीको नजरमा परेका थिए । सोही वर्ष नै उनले पाकिस्तानविरुद्ध टी–२० खेलमा डेब्युको अवसर पाए । सन् २०१६ मा उनले श्रीलंकाली टेस्ट टोलीमा स्थान बनाए । श्रीलंकाली टी–२० टोलीबाट उनले अहिलेसम्म २५ खेलमा चार सय ४९ रन जोडेका छन् । ६० एकदिवसीयमा उनले एक हजार तीन सय २५ रन जोडेका छन् । क्लासिक ब्याट्सम्यान डी सिल्भाले टेस्टमा नौ शतक, एकदिवसीयमा आठ अर्धशतक तथा अन्तर्राष्ट्रिय टी–२० मा तीन अर्धशतकीय इनिङ्स खेलेका छन् । बलिङमा उनले टी–२० मा ६ विकेट मात्र लिएका छन् । 

सिक्कुगे प्रसन्न (श्रीलंका)
आबद्ध : पोखरा एभेन्जर्स

एकरूपताका साथ स्पिन बलिङ गर्न खप्पिस प्रसन्न प्रसन्न तल्लो क्रममा ब्याटिङ गरी टोलीलाई उत्कृष्ट योगदान दिन सक्छन् । यसै क्षमताले भरिएका कारण नै प्रसन्न छोटो समयमै श्रीलंकाली टी–२० टोलीमा स्थान बनाउन सफल भए । जस्तोसुकै पिचमा गुग्ली बलिङ गरी विपक्षी नामुद ब्याट्सम्यानलाई सहजै आउट पार्न सक्ने प्रसन्नले केवल चार वर्ष मात्र राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गरे । पछिल्लो समय उनी विभिन्न अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइजमा व्यस्त छन् । सन् २०१३ मा टी–२० मा डेब्यु गरेका उनले २०१७ मा अन्तिमपटक श्रीलंकाली टोलीबाट खेले । २० अन्तर्राष्ट्रिय टी–२० खेलमा उनले दुई सय १४ रन बनाएका छन् । टी–२० बलिङमा उनले दश विकेट हात पारेका छन् ।