मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २७ सोमबार
  • Thursday, 19 December, 2024
पिटर सिंगर
२o७९ भदौ २७ सोमबार १o:४७:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नैतिक मूल्य  : केटाकेटीको ठीक कि वयस्कको ?

Read Time : > 3 मिनेट
पिटर सिंगर
नयाँ पत्रिका
२o७९ भदौ २७ सोमबार १o:४७:oo

एउटा मान्छे वा धेरै जनावरमध्ये कसलाई बचाउने ? पाँचदेखि नौ वर्षका केटाकेटीको नजरमा एउटा कुकुर र एउटा मानवजीवन उत्तिकै महत्वपूर्ण हुन्छ ।

हाम्रा नैतिक निर्णयलाई वर्णन गर्ने निम्न कथनलाई विचार गरेर हेराैँ : यदि एउटा बच्चा भोकाएको छ वा उसलाई कुनै चोटपटक लागेको छ भने उसलाई सहयोग गर्ने सबैभन्दा ठूलो दायित्व अपरिचित व्यक्तिको भन्दा उसका अभिभावक वा साथीहरूकोे हुन्छ । यदि हामीले एउटा मानिस र एउटा कुकुर (वा थुप्रै कुकुर)मध्ये कसको जीवन बचाउने भनेर छनोट गर्नुपर्‍यो भने हामीले मानिसलाई बचाउनुपर्ने हुन्छ ।

यी नैतिक निर्णयसँग लगभग सबैजना सहमत छन्, के यो सही हो ? होइन, गलत हो । मानिसहरूको एउटा ठूलो समूह भिन्न मत राख्छ । गत दुई वर्षका छुट्टाछुट्टै अध्ययनले यी दुई विषयमा वयस्कहरूको दृष्टिकोणलाई पाँचदेखि दश वर्षबीचका केटाकेटीको धारणासँग तुलना गरेर हेरेको छ र ती केटाकेटीको प्रतिक्रिया (वयस्कहरूको भन्दा) उल्लेखनीय ढंगले भिन्न फेला पारेको छ । 

केटाकेटीमा फराकिलो नैतिक संवेदनशीलता हुँदोरहेछ भन्ने अध्ययनले देखाएको छ । अधिकांश संस्कृतिमा यी संवेदनशीलता केटाकेटीको उमेर वृद्धिसँगै साँघुरिँदै गएको पनि पाइएको छ । 

यी दुवै अध्ययनले हाम्रा नैतिक निर्णय कसरी निर्माण हुँदा रहेछन् भनेर प्रकाश पार्न खोजेको छ ताकि नैतिकताबारेको एउटा ‘ठूलो प्रश्न’को जवाफ दिन हामीलाई मद्दत होस् : के नैतिकता मूलतः हाम्रो संस्कृतिमा निहित हुन्छ वा यो जन्मजात हो ? उन्नाइसौँ शताब्दीको मध्यपछि र बीसौँ शताब्दीको प्रारम्भमा जब मानवशास्त्रीहरू विश्वभर फैलिए, तिनका प्रतिवेदनहरूले समाज–समाजबीच नैतिक मान्यतामा हुने भिन्नतालाई जोड दिए । परिणामस्वरूप नैतिकता एक सांस्कृतिक परिघटना हो भन्ने दृष्टिकोण हाबी भयो ।

तर, सन् १९७० को दशकमा इ.ओ. विल्सन र रिचार्ड डकिन्सजस्ता क्रमिक विकासवादी वैज्ञानिकले नैतिकताको सांस्कृतिक व्याख्यामा असहमति जनाउन थाले । उनीहरूले तर्क गरे कि आनुवंशिक चयन (आनुवंशिक चयन त्यो प्रक्रिया हो, जसद्वारा कुनै प्रजातिका केही गुण अरू गुणभन्दा बढी प्रकट हुन्छन्) को अध्ययनद्वारा मानव व्यवहारको ठूलो हिस्साको व्याख्या गर्न सकिन्छ । आनुवंशिक चयनले प्रत्येक इन्डिभिजुअल अर्गानिजमको संरक्षण गर्दैन, बरु ती जिनहरूको संरक्षण गर्छ, जुन उसका सन्तानसँग मात्र होइन, अन्य नातेदारसँग पनि साझेदारी भएको छ । यही कारण एकआपसलाई लाभ पुर्‍याउने पारम्परिक सम्बन्धलाई प्रोत्साहन गर्ने नियमका साथै अपरिचितलाई भन्दा आफन्तलाई सहयोग गर्नुपर्छ भन्ने कर्तव्य थोपर्ने नैतिक नियम विकसित भएको हुनुपर्छ । 

नैतिकता कसरी उत्पत्ति भयो भन्ने सम्बन्धको विकासवादी दृष्टिकोणले अन्य सामाजिक स्तनधारी प्राणीमा मानवीय नैतिकताको पूर्व लक्षणहरू पत्ता लगाउनेलगायत थुप्रै काम गरेको छ । फ्रान्स डे वालजस्ता केही समाजशास्त्रीले प्राणीहरूमा निष्पक्षताको भावना पाएका छन् । यो भावना ‘तिमी मेरो पिठ्युँ कन्याइदेऊ अनि म पनि तिम्रो कन्याइदिन्छु’ भन्ने तहको भन्दा बढी विकसित भावना हुन सक्ने सम्भावना छ । अर्थात् यो भावना समान कामका लागि समान ज्यालाको माग गर्ने तहको चेत (भावना) हुन सक्छ : ‘एउटै कामका लागि तपाईंले बाँदरलाई अंगुर दिनुभयो र मलाई पिठोको डल्लो दिनुभयो भने म स्वीकार गर्दिनँ !’ भन्ने खालको । 

तथापि विकासवादी सिद्धान्तबाट अपरिचितहरूलाई सहयोग गर्न जानु हाम्रो दायित्व हुन्छ भन्ने अवधारणालाई व्याख्या गर्न निकै कठिन हुन्छ । मेरो पुस्तक दी एक्सपान्डिङ सर्कलमा मैले नैतिकताको आधारको विकासवादी व्याख्या स्वीकार गरेको छु । यद्यपि, मैले त्यसमा हाम्रो तर्क गर्ने क्षमताले हामीलाई बाँच्न र सन्तानोत्पादनका लागि सक्षम बनाउनेभन्दा बढी सक्षम बनाउन सक्छ भन्ने तर्क थपेको छु । तर्क गर्ने क्षमताले हामीलाई सार्वभौम दृष्टिकोण अपनाउन सक्षम बनाउँछ, जसबाट हामीले अपरिचितहरू पनि हामीजस्तै हुन् भनेर देख्छौँ, उनीहरूको आवश्यकतालाई उपेक्षा गर्नु गलत हो भन्ने बुझ्छौँ ।

केटाकेटी (बालबालिका)ले पक्कै पनि यस्तै सोच्छन् जस्तो लाग्छ मलाई । बोस्टन कलेजकी पोस्टडक्टोरल फेलो जुलिया मार्सलको नेतृत्वमा भएको अध्ययनमा पाँचदेखि १० वर्षबीचका केटाकेटीले यदि कुनै बच्चा भोकाएको छ वा उसलाई चोटपटक लागेको छ भने एक अपरिचित व्यक्तिमा पनि त्यस बच्चालाई मद्दत गर्नुपर्ने दायित्व हुने उत्तर दिएका थिए । यसविपरीत, त्यसभन्दा बढी उमेरका बालबालिका र वयस्कहरूले भने अपरिचितमा उक्त बच्चालाई सहयोग गर्नुपर्ने दायित्व नहुने तर अभिभावक र साथीहरूमा सहयोगको दायित्व हुने उत्तर दिए । ठूला केटाकेटी र वयस्कहरूले अपरिचित र परिचितबीच भेद गरेको देखियो । 

लगभग सबैजसो वयस्कले सयौँ कुकुर वा सयौँ सुँगुरभन्दा एउटा मानिसलाई नै बचाउनुपर्छ भन्ने धारणा राखेका थिए । तर, अधिकांश केटाकेटीले भने एउटा कुकुरको जीवनलाई एउटा मानवजीवनलाई जत्तिकै महत्व दिए । साथै, केटाकेटीले सुँगुरलाई भन्दा कुकुरलाई बढी महत्व दिने गरेको पनि देखियो । 

यो अध्ययन जर्मनी, भारत, जापान, युगान्डा र अमेरिकामा गरिएको थियो । यी सबै देशका साना केटाकेटीले अपरिचितहरूले उक्त बच्चालाई मद्दत गर्नुपर्छ भन्ने सोच अभिव्यक्त गरेका थिए । भारत, जापान र युगान्डाका सहभागीले अमेरिका र जर्मनीका सहभागीको तुलनामा आमाबाबु तथा साथीभाइ र अपरिचितबीचको भिन्नतालाई कम महत्व दिएका थिए । अध्ययनमा पाइएको एउटा मुख्य सांस्कृतिक भिन्नता यो थियो । युगान्डामा भने साना केटाकेटीले भन्दा पनि ठूला केटाकेटीले परिचित र अपरिचित दुवैमा उक्त बच्चालाई सहयोग गर्ने दायित्व हुने धारणालाई जोड दिएका थिए । 

एडिनबर्ग विश्वविद्यालयका उपप्राध्यापक माटिविल्क्सको नेतृत्वमा भएको एकजना मान्छे वा (धेरै)जनावरमध्ये कसलाई बचाउने भन्ने प्राथमिकतासम्बन्धी अध्ययनले पाँचदेखि नौ वर्षका केटाकेटीले वयस्कहरूको तुलनामा फराकिलो दृष्टिकोण राख्ने गरेको पायो । तर, यस मामलामा यो धारणा जीवनको महत्वसम्बन्धी फराकिलो दृष्टिकोण हो । जबकि लगभग सबैजसो वयस्कले सयौँ कुकुर वा सुँगुरभन्दा एउटा मानिसलाई नै बचाउनुपर्छ भन्ने धारणा राखेका थिए । तर, अधिकांश केटाकेटीले भने एउटा कुकुरको जीवनलाई एउटा मानवजीवनलाई जत्तिकै महत्व दिए । साथै, केटाकेटीले सुँगुरलाई भन्दा कुकुरलाई बढी महत्व दिने गरेको पनि देखियो । यसैगरी, अध्ययनमा सहभागी अधिकांश केटाकेटीले एकजना मान्छेलाई भन्दा दशवटा सुँगुरलाई बचाउन रोजेका थिए ।

मासु खाएर हुर्किएका केही बालबालिकाले मासु जनावरलाई मारेर तयार गरिने परिकार हो भन्ने थाहा पाएपछि किन मासु खान इन्कार गर्छन् भन्ने सवाललाई यसले केही प्रकाश पार्न सक्छ । एउटी सानी केटीले मासु अस्वीकार गरेको भिडियो झन्डै आठ करोडपटक हेरिएको देखिन्छ ।

यी दुवै अध्ययनले सहयोगको आवश्यक परेको व्यक्तिलाई कसले सहयोग गर्नुपर्छ भन्ने सम्बन्धमा र कसले कुन प्राणीको बढी चिन्ता गर्छन् भन्ने सन्दर्भमा साना केटाकेटीमा फराकिलो नैतिक संवेदनशीलता हुँदो रहेछ भन्ने देखाएको छ । साथै यी अध्ययनले अधिकांश संस्कृतिमा यी संवेदनशीलता केटाकेटीको उमेरमा वृद्धिसँग साँघुरिँदै जाने गरेको देखाएका छन् । यो संकुचन बालबालिकाको लालनपालन र सांस्कृतिक विचलनको कारण आएको हो वा बालबालिकाले ठूलो हुँदै जाँदा प्राप्त गर्दै जाने संसारको ज्ञानको आलोकमा आफ्ना निर्णयलाई पुनरावलोकन गर्ने भएर यस्तो भएको हो ? हामीसँग अहिले यसको उत्तर छैन । 

यी अध्ययनका सह–अनुसन्धाता एवं टोरन्टो विश्वविद्यालयको मनोविज्ञानका प्राध्यापक पउल ब्लुम यी दुवै अध्ययनले अरू केही समान नतिजा पनि पाएको बताउँछन् । ब्लुम यी दुवै अध्ययनको निष्कर्षले उनको आफ्नो पुस्तक ‘जस्ट बेबिज’का दाबीहरूलाई चुनौती दिएको पनि स्विकार्छन् । त्यो पक्कै पनि प्रशंसनीय छ । प्राप्त प्रमाणलाई खुला हृदयले स्वीकार गर्ने हो भने हामीले संस्कृति, जीव विज्ञान र नैतिक निर्णय निर्माणमा हाम्रो तर्क क्षमताको भूमिका के हुन्छ भन्ने प्रश्नलाई सुल्झाउन सक्षम हुनेछौँ । 

(सिंगर प्रिन्सटन विश्वविद्यालयमा बायोइथिक्सका प्राध्यापक छन् । उनी गैरनाफामूलक संस्था द लाइफ यु क्यान सेभका संस्थापक पनि हुन् ।) 

Project Syndicate र नयाँ पत्रिकाको सहकार्य