निराशा र चिन्ताका कारण जीवनको अस्तित्व नदेख्दा नेपाली समाजमा आत्महत्या गर्नेहरूको बढ्दो ग्राफ समाजका लागि चिन्ताजनक बन्दै गएको छ
नेपालमा बितेका वर्ष र खासगरी पछिल्ला दशकमा आत्महत्याको दर अनपेक्षित रूपमा बढ्दै गएको तथ्यांकले देखाउँछ । नेपाली टाइम्सले नेपाल प्रहरीको स्रोत उल्लेख गर्दै आत्महत्याको दर अघिल्ला वर्षमा वार्षिक ८.५ प्रतिशत रहेकोमा पछिल्लो वर्ष ०२०/२१ को लकडाउनको समयमा १९.४ प्रतिशत पुगेको उल्लेख गरेको छ । यस तथ्यांकले आत्महत्या दर बढदै गएको र यो नेपाली समाजको एक मुख्य सामाजिक समस्या बनेको पुष्टि गर्छ । यसले नेपालको प्राज्ञिक एवं पत्रकारिता क्षेत्रलगायत अन्य सबैको ध्यानाकर्षण गरेको छ । यसकारण पनि यसबारे केही चर्चा गर्नु र यसको कारण र न्यूनीकरणका उपायबारे चर्चा र विश्लेषण गर्नु आवश्यक छ । नेपाली समाज र राज्यले पनि त्यसको नियन्त्रणका लागि संवेदनशील भई त्यसतर्फ ध्यान दिनु जरुरी हुन्छ । नेपाली समाजमा बढ्दै गएको आत्महत्या र यसबारेका आमचासो र बहसलाई ध्यान दिँदै आत्महत्याका सामाजिक कारण र न्यूनीकरणका उपायबारे चर्चा गर्न यो आलेख तयार गरिएको हो ।
नेपाली समाजमा विगत केही वर्षदेखि बढ्दै गएको आत्महत्याको दर र कारणबारे सञ्चारमाध्यम, सामाजिक सञ्जाल र आमनागरिकबीच चर्चा भएको देखिन्छ । तर, यसलाई सामाजिक तथ्यका रूपमा व्याख्या विश्लेषण नगरी यसका कारण र न्यूनीकरणका उपाय पहिचान गर्न सकिँदैन । यसकारण पनि आत्महत्याको सामाजिक पक्षबारे चर्चा हुनु सान्दर्भिक हुन्छ । सुरुसुरुमा आत्महत्यालाई नितान्त व्यक्तिगत र मनोवैज्ञानिक घटना मानिन्थ्यो । यसलाई व्यक्तिको समस्याका रूपमा लिइन्थ्यो । आत्महत्यालाई व्यक्तिगत समस्या मानिएको सन्दर्भमा समाजशास्त्री इमाइल दुर्खिमले सामाजिक तथ्यका रूपमा व्याख्या गरे । आत्महत्या व्यक्तिगत समस्या नभई यो सामाजिक घटना र समस्या हो भन्ने उल्लेख गर्दै उनले युरोपेली समाजमा उपलब्ध आत्महत्याबारेको तथ्यांकलाई सामाजिक ऐतिहासिक दृष्टिले व्याख्या विश्लेषण गरे । समाजमा हुने आत्महत्याका खास कारण वा निर्धारक तत्वहरू हुन्छन् । समाजशास्त्री दुर्खिमले आत्महत्या व्यक्तिगत समस्या वा कारणको उपज नभई सामाजिक संरचना वा कारणको परिणाम हो भनेका छन् ।
सामाजिक एकता वास्तवमा व्यक्ति र समाजबीचको सामाजिक सम्बन्धको एक स्वरूप हो । यो सामाजिक सम्बन्ध वा एकता कहिले निकै सबल वा उच्च हुन्छ भने कहिले निकै कमजोर वा निम्नस्तरको हुन्छ । सामाजिक एकता उच्च र न्यून दुवै किसिमको हुँदा समाजमा आत्महत्या हुन्छ, तर आत्महत्याको दर र कारण भने फरक हुन्छ । दुर्खिमका अनुसार उच्च किसिमको सामाजिक एकता हुँदा व्यक्तिले अरू, समाज वा राष्ट्रको हितमा आत्महत्या गर्छ । यसलाई अरूको भलाइका लागि व्यक्तिले गर्ने आत्महत्याका रूपमा लिइन्छ । राष्ट्रिय खेलमा देशको हारमा खेलाडीले गर्ने आत्महत्या यस प्रकारको आत्महत्या हो । त्यस्तै सामाजिक एकता कमजोर वा निम्नस्तरको भएको अवस्थामा पनि व्यक्तिले आत्महत्या गर्छ । यस अवस्थामा व्यक्तिले आफू एक्लै भएको र आफ्ना लागि समाजमा कोही पनि देख्दैन र आत्महत्या गर्छ । विभिन्न तहको परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीले गर्ने आत्महत्या यस किसिमको आत्महत्या हो । आत्महत्यालाई निर्धारण गर्ने अर्को तत्व सामाजिक नियमन हो । सामाजिक नियमन राज्यको कानुन, सामाजिक मूल्य–मान्यतालगायत तत्वबाट निर्देशित र सञ्चालित हुन्छ । सामाजिक नियमनको अवस्था पनि सबल वा उच्च र कमजोर वा निम्नस्तरको हुन्छ । सामाजिक नियमन उच्च भएको अवस्थामा व्यक्तिले जे पाउँछ वा ऊसँग जे हुन्छ, त्यो उसको भाग्यमा लेखिएको वा जीवनभर भोग्नैपर्ने विषय हो भन्ने लाग्छ । यसबाट मुक्ति हुने कुनै सम्भावना वा उपाय नदेखेपछि व्यक्तिले आत्महत्याको बाटो रोज्छ ।
सामाजिक नियमन कमजोर वा निम्नस्तरको भएको अवस्थामा राज्यमा विद्यमान कानुन र समाजमा विद्यमान सामाजिक मूल्य–मान्यता आदिले काम गर्दैनन् र सामाजिक कचिंगल, विसंगति वा अराजकताको अवस्था सिर्जना हुन्छ । कानुन र समाजले के गर्ने, के नगर्ने भन्ने विषयमा कुनै निश्चितता दिन सक्दैनन् र व्यक्तिको जीवन अन्योल र अनिश्चिततामा फस्न पुग्छ । यस्तो अवस्थामा व्यक्तिले आफ्नो जीवनको अस्तित्वका लागि अनुकूल वातावरण महसुस गर्दैन, जीवनको अस्तित्वको कुनै विकल्प देख्दैन र आत्महत्या गर्छ ।
सामूहिकताको भावनामा वृद्धि गर्ने, एकअर्कालाई सहयोग गर्ने संरचना निर्माण गर्ने, अप्ठ्यारो पर्दा व्यक्तिले साथ र सहयोग पाउन सक्ने तथा हरेक व्यक्तिको साथमा समाज छ भन्ने भावना सिर्जना गर्न सकियो भने आत्महत्यामा कमी आउँछ
युरोपमा हुने आत्महत्याको ऐतिहासिक तथ्यांकबाट दुर्खिमले विभिन्न निष्कर्ष निकालेका छन् । आत्महत्याको दर विवाहितभन्दा एकल व्यक्तिमा बढी, महिलामा भन्दा पुरुषमा बढी, सामान्य नागरिक वा सर्वसाधारणभन्दा सैनिक जवानमा बढी, जाडो मौसममा भन्दा गर्मीको समयमा बढी, गाउँमा बस्नेभन्दा सहरमा बस्नेहरूमा बढी, ज्युज र क्याथोलिकमा भन्दा प्रोटेस्टेन्टमा बढी रहेको दुर्खिमले बताएका छन् । जुनसुकै किसिमको व्यक्तिले गर्ने आत्महत्या भए पनि आत्महत्या सामाजिक एकता र नियमनको सबल वा कमजोर अवस्थाका कारण सिर्जना हुने निराशा, जीवनको व्यवस्थापनमा हुने समस्या, एक्लोपनको महसुसलगायत कारणसँग सम्बन्धित हुन्छ भन्ने दुर्खिमको निष्कर्ष छ । समाजमा कुनै पनि घटनाको दर जब सामान्यभन्दा बढी हुन्छ, त्यसपछि समाज र राज्यले त्यसप्रति प्रतिक्रिया जनाउँछ र सो असामान्य घटनालाई सामान्य अवस्थामा ल्याउन प्रयत्न गर्छ । यस अवस्थामा विभिन्न किसिमको अभियान चल्छ । यस किसिमको अभियान वा आन्दोलनबाट व्यक्ति, समाज र राज्यको ध्यानाकर्षण हुन्छ र सो घटना नियन्त्रण वा न्यूनीकरणका लागि पहल हुन्छ र बिस्तारै सामान्य अवस्थामा आउँछ ।
विगत केही वर्षदेखि नेपालमा बढिरहेको आत्महत्याको दरलाई पनि यस्तै किसिमको असामान्य सामाजिक घटनाका रूपमा लिन सकिन्छ । नेपाली समाजको उत्पादन प्रणाली र राज्यको राजनीतिक प्रणाली एवं सामाजिक मूल्य–मान्यता आदिमा आएको परिवर्तन र त्यसबाट सिर्जित संक्रमणकालीन सामाजिक संरचनाका कारण आत्महत्या, बलात्कार, पारिवारिक एवं सामूहिक हिंसालगायत सामाजिक सम्बन्ध र सामाजिक तथ्यमा अनपेक्षित परिवर्तन देखिएका छन् । यसकारण यसप्रति सबैको ध्यान जानु स्वाभाविक हो । किनभने, यसको नियमन गरी सामाजिक व्यवस्था र तथ्यलाई सामान्य अवस्थामा ल्याउनु व्यक्ति, समाज र राज्यको दायित्व हो । यसका लागि यस्ता घटनाको सामाजिक कारणबारे उपयुक्त चर्चा र विश्लेषण हुनु आवश्यक हुन्छ ।
नेपाली समाज विगत करिब तीन दशकदेखि दु्रत परिवर्तनको संक्रमणकालीन अवस्थामा छ । यस्तो अवस्थामा नेपाली समाजको सामाजिक एकता र सामाजिक नियमन दुवै कमजोर वा निम्नस्तरको अवस्थामा रहेका छन् । एकातर्फ देशमा राजनीतिक परिवर्तन भएको छ भने अर्कातिर सूचना र प्रविधिलगायत माध्यमबाट समाजका व्यापक पक्षमा परिवर्तन आएको छ । समाजको परिवर्तित सामाजिक संरचनामा व्यक्तिले आफ्नो इच्छा, आकांक्षा र आवश्यकताको सहज र अपेक्षित परिपूर्ति हुने सम्भावना देखिरहेको छैन । जीवन कठिन बन्दै गएको छ । विद्यमान सामाजिक सम्बन्धमा व्यक्तिले न त घरपरिवार, समुदाय र राज्य तहबाट आफू मजबुत सम्बन्धमा रहेको महसुस गरी आफूलाई सबैबाट साथ र सहयोग हुन्छ भन्ने देख्छ, न विद्यमान कानुन, नियम, सामाजिक मूल्य–मान्यताले नै सहयोग गर्नेमा ढुक्क छ । यसले व्यक्तिमा उच्च निराशा र चिन्ताको सिर्जना गरेको छ । यस्तो निराशा र चिन्ताको बन्धनमा व्यक्तिले आफ्नो जीवनको अस्तित्व देख्दैन र आत्महत्या गर्ने निर्णयमा पुग्छ । यस किसिमको विचलित व्यवहारबाट व्यक्तिले आफ्नो जीवन परित्याग गर्छ ।
नेपालमा एकातर्फ लोकतान्त्रिक संघीय गणतन्त्रको स्थापना र त्यससँगै हुनुपर्ने लोकतान्त्रिक एवं लोककल्याणकारी नियम, कानुन, सामाजिक मूल्य–मान्यता आदिमा परिवर्तन आयो, तर त्यसबाट सामाजिक एकता र नियमन जुन किसिमबाट हुनुपथ्र्यो, त्यो हुन सकेन । यसबाट सामाजिक अन्योेल, अराजकता वा विसंगतिको अवस्था सिर्जना हुन पुग्यो । सामाजिक एकता र सामाजिक नियमनको अवस्था यस्तो भयो कि व्यक्तिले आफ्नो जीवनको अस्तित्व आत्मसम्मानपूर्ण र सहज छ भन्नेमा आश्वस्त हुने अवस्था रहेन । परिणामस्वरूप व्यक्तिले आफ्नो सोचाइअनुसारका इच्छा, आकांक्षा र आवश्यकताको पूर्ति गर्न सकेन । त्यसैले, नेपाली समाजमा विगत केही दशकदेखि सामाजिक आशा, उत्साह, हौसला, गौरव र भरोसा कमजोर भयो र दुर्खिमले भनेजस्तो अहंकारी आत्महत्या बढी भएको देखिन्छ । त्यति मात्र होइन कि नेपाली समाज राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनको हिसाबले पनि संक्रमणकालीन अवस्थामा रहेको छ । यस अवस्थामा पुरानो कानुन, सामाजिक मूल्य–मान्यताले काम गरेका छैनन् र नयाँ पनि स्थापना भइसकेका वा पूर्ण क्रियाशील भएका छैनन्, यसकारण पनि व्यक्तिले आफ्नो इच्छा, आकांक्षा, आवश्यकताको पूर्ति हुने सामाजिक संरचना र व्यवस्था देख्दैन र आफ्नो जीवन नै समाप्त पार्नेतर्फ उद्यत् हुन्छ ।
बितेको तीन वर्षमा त कोभिड १९ महामारीका कारण सामाजिक एकता र नियमन झनै खलबलिएको छ । महामारीको समयमा कति व्यक्तिले ज्यान गुमाए, कतिपयले रोजगारी गुमाए, आम्दानी गुमाए, परिवारका सदस्य गुमाए तर व्यक्ति, घरपरिवार, साथीभाइ, छिमेक, समुदाय र राज्य कहीँ कतैबाट साथ र सहयोग पाएनन् । यस्तो अवस्थामा व्यक्तिले आफू समाजमा एकीकृत नभएको र सामाजिक नियमन पनि कमजोर भएको महसुस गर्ने अवस्था सिर्जना भयो र सो कमजोर सामाजिक एकता र नियमनको सामाजिक संरचनामा आफ्नो जीवनको सम्मानित अस्तित्वको सम्भावना देखेनन् र आत्महत्याको बाटो रोजे ।
नेपालको उत्पादन प्रणाली, राजनीतिक व्यवस्था, सामाजिक एवं सांस्कृतिक मूल्य–मान्यता सबै परिवर्तन भइरहेका छन् । तर, नयाँ कानुन, नियम, सामाजिक मूल्य–मान्यता आदि पूर्ण स्थापित र क्रियाशील भइसकेका छैनन् । सूचना र प्रविधिका क्षेत्रमा भएको विकासमा आधारित वस्तु र सेवाको बढ्दो उपयोगका कारण सांस्कृतिक पछौटेपनको अवस्था छ । नयाँ भौतिक र अभौतिक वस्तु र सेवा प्रयोग गर्ने तरिका र यसका फाइदा–बेफाइदाबारे यथेष्ट र उपयुक्त ज्ञान छैन । यस्तो अवस्थामा अनेकन् सामाजिक विचलन देखा पर्छन् । आत्महत्यामा देखिएको वृद्धि पनि यसै किसिमको संक्रमणकालीन सामाजिक संरचना र व्यवस्थाको उपज हो ।
नेपालको परिवर्तित सामाजिक र राजनीतिक संरचनाअन्तर्गत जीवन बिताउने नागरिकले सो संरचनामा आफ्नो जीवनको अस्तित्व र सम्मान देख्न सके मात्र आत्महत्यामा कमी आउँछ । यसकारण कमजोर सामाजिक एकता भएको वर्तमान नेपाली सन्दर्भमा सामूहिकताको भावनामा वृद्धि गर्ने, एकअर्कालाई सहयोग गर्ने संरचना निर्माण गर्ने, अप्ठ्यारो पर्दा व्यक्तिले साथ सहयोग पाउन सक्छ भन्ने सुनिश्चितता हुने वातावरण तयार गर्ने र हरेक व्यक्तिको साथमा समाज छ भन्ने भावना सिर्जना गर्न सक्यो भने आत्महत्यामा कमी आउँछ । अर्कातर्फ परिवर्तित राजनीतिक संरचनामा पनि दल, बल र नाता होइन कि लोकतान्त्रिक गणतन्त्रमा पद्धतिमा आधारित मूल्य–मान्यतामा व्यक्तिको अस्तित्व, आत्मसम्मान र मर्यादा हुन्छ भन्ने सामाजिक नियमनको अवस्था सिर्जना हुनुपर्छ ।
देशमा उपलब्ध स्रोतसाधन र अवसरमा हरेक नागरिकको पहुँच हुन सक्ने सुनिश्चितता हुनुपर्छ । हरेक व्यक्तिको साथमा राज्य छ भन्ने महसुस हरेक नागरिकले गर्न सक्नुपर्छ । यस्तो अवस्थामा व्यक्तिले आफ्नो अस्तित्व, आत्मसम्मान र मर्यादा भएको महसुस गर्न सक्छ र आफ्नो जीवनको अर्थ देख्छ । यसकारण सामाजिक एकता र नियमनको उपयुक्त सामाजिक राजनीतिक परिवेश सिर्जना गर्नेतर्फ व्यक्ति, समाज, सरकार एवं अन्य सामाजिक संस्था सचेत रहँदै व्यक्ति र समाज एवं व्यक्ति र राज्यको सम्बन्ध सबल बनाउन सकियो भने आत्महत्याको दरमा कमी आउँछ ।