
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्स म्यागाजिनको बेस्ट बैंक अवार्ड, २०२५ बाट सम्मानित भएको छ । यो अवार्डसँगै बैंक लगातार दोस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेस्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल फाइनान्सले बैंकलाई गत वर्ष पनि सम्मानित गरेको थियो ।
विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङलगायत मापदण्डमा बैंक सन् २०२५ का लागि नेपालको उत्कृष्ट बैंक भएको हो । यो अवार्डबाट सम्मानित हुने ग्लोबल आइएमई पहिलो नेपाली बैंक हो । ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रीय बैंक र वाणिज्य बैंकहरूलाई यो प्रतिष्ठित अवार्ड प्रदान गर्ने गर्छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले सम्मानले बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताए । ग्लोबल फाइनान्स म्यागजिनले ग्लोबल आइएमईसहित अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य–पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरूलाई सम्मान गरेको छ।
जसअन्तर्गत यस वर्ष हङकङको एचएसबिसी, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेसियाको युओबी मलेसिया, बंलादेशको सिटी बैंक, जापानको एसएमबिसीलगायत विश्वभरका विभिन्न बैंक विभिन्न विधामा सम्मानित भएका हुन् । ग्लोबल आइएमई बैंक यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट फरक–फरक विधामा सम्मानित भइसकेको छ ।