मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २७ शुक्रबार
  • Saturday, 12 July, 2025
नवनिर्मित सेन्टरको उद्घाटनपछि निरीक्षण गर्दै प्रधानमन्त्री केपी ओली । तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार २७ शुक्रबार o७:१८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आधुनिक प्रविधिसँग जोडियो खेलकुद 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २७ शुक्रबार o७:१८:oo

खेलकुद इतिहासमा पहिलोपटक नेपाली खेलाडी अत्याधुनिक प्रविधिसँग जोडिएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलाडीका लागि बिहीबारदेखि उच्चस्तरको सुविधासम्पन्न नेसनल हाई पर्फर्मेन्स सेन्टर सञ्चालनमा ल्याएको छ । ११ करोड लगानीमा निर्मित सेन्टरको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गरेका छन् । राखेपले नेसनल हाई पर्फर्मेन्स सेन्टर बनाउन सात करोड र स्पोर्टस् साइन्स रिसर्च सेन्टरका लागि चार करोड लगानीमा निर्माण भएको जनाएको छ । 

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा निर्मित सेन्टर सञ्चालनमा आएसँगै नेपाली खेलाडीले अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण लिन सक्नेछन् । नेपालका अधिकांश खेलाडीले परम्परागत प्रशिक्षण गर्दै आइरहेका छन् । नेपाली खेलकुदमा खेलाडीलाई केन्द्रमा राखेर कुनै पनि अध्ययन अनुसन्धान हुने गरेको छैन । खेलाडीको प्रशिक्षण, छनोट, व्यवस्थित खानपिन, शारीरिक अभ्यास, प्रतियोगिता आयोजनाजस्ता सबै कुरा परम्परागत रूपमै सञ्चालन हुँदै आएका थिए ।

राखेपले दुवै सेन्टर आफ्नै मातहतमा निर्माण गरेको हो । सेन्टरमा सयजनाले एकैपटक अभ्यास गर्न सक्नेछन् । सेन्टरको क्षेत्रफल सात हजार ५७८ वर्गफिट रहेको छ । सेन्टरमा जिम हलको पनि सुविधा छ । त्यसको क्षेत्रफल चार हजार ९६ वर्गफिट छ । यसैगरी आउटडोर र हिटिङ पौडी व्यवस्था भएको राखेपका सदस्यसचिव टंकलाल घिसिङले बताए । सेन्टरको निर्माणले नियमित प्रशिक्षण गर्नका लागि सुविधासम्पन्न प्रशिक्षण स्थलको अभाव हट्ने उनले बताए । 

सेन्टरमा जिमहलमा १० वटा बाथरुम, ३० जनाले एकैपटक प्रयोग गर्न सक्ने चेन्जिङ, लकर रुम र सुविधासम्पन्न शौचालय छन् । यसैगरी खेलाडीले थेरापी, स्टिम, ट्रेडमिल, इलिप्टिकल, इन्डोर बाइक, पुलडाउन, स्क्वाट स्टेन्ड, फंसनल ट्रेनिङ सिस्टम र एक्सटेन्सनलगायत उपकरणको सुविधा लिन पाउनेछन् । अत्याधुनिक प्रविधिमा खेलाडीको समग्र पक्ष परीक्षण र अनुसन्धान गरी खेलाडीको प्रशिक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित राखेपले अनुसन्धान केन्द्र स्थापना गरेको सदस्यसचिव घिसिङले बताए । 

सेन्टरको प्रविधि अत्याधुनिक
हाई पर्फर्मेन्स सेन्टरमा जडान भएका लगभग सबैजसो प्रविधि विदेशी भएको बायोमेडिकल इन्जिनियर भास्कर रिजालले बताए । सेन्टरमा अहिले १२ प्रकारका यन्त्र जडान छन् । उनका अनुसार ती सबै सामग्री अमेरिका, बेलायत, जर्मनी र दक्षिण कोरियालगायतबाट झिकाइएका हुन् । ‘विश्वस्तरीय प्रविधिले नेपाली खेलकुदको स्तर उकास्न महŒवपूर्ण भूमिका निर्वाह गर्ने विश्वास छ,’ उनले भने, ‘सेन्टरमा जडान गरिएका यन्त्रहरूले खेलाडीमा देखिएको समस्या र कमीकमजोरी पत्ता लगाउन सहयोग गर्छ ।’ सेन्टरमा अहिले आवश्यक प्रविधि मात्र जडान गरिएको छ । भविष्यमा आवश्यकताअनुसार थप यन्त्र जडान गर्दै अघि बढ्न सकिने उनले बताए ।  

खेल र खेलाडी व्यावसायिक हुने
प्रधानमन्त्री ओलीले सेन्टरको प्रयोगले खेल र खेलाडी व्यावसायिक हुने बताए । ‘सीमित स्रोत र साधनका बाबजुद खेलाडीले प्रगति गर्नुका साथै देशको गौरव कायम गरेका छन्,’ ओलीले भने, ‘सेन्टरले खेलाडीको खेल गुणस्तरमा परिवर्तन ल्याउनेछ ।’ उनले दशरथ रंगलाशाको क्षमता कम भएकाले भक्तपुरको सूूर्यविनायकमा कम्तीमा २५ देखि ५० हजार दर्शक अट्ने रंगशाला बनाउने योजना रहेको बताए । कीर्तिपुर रंगशालाको क्षमता पनि दोस्रो चरणमा विस्तार गरिने उनले बताए । उनले मिसन २०२६ को तयारी तीव्र गतिमा बढ्नुपर्ने धारणा राखे । पहिलो संस्करणको नेपाल प्रिमियर लिगको छानबिन भइरहे पनि यसको आगामी संस्करणको तयारी रोकिन नहुने र यसको तयारी थाल्न ओलीले निर्देशन दिएका छन् ।