
त्रिभुवन विश्वविद्यालय सभाले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ । बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले आगामी आर्थिक वर्षका लागि २८ अर्ब १२ करोड ५७ लाख २१ हजार रुपैयाँको बजेट पारित गरेको हो ।
त्रिवि सभाहलमा हुनुपर्ने बैठक प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा राखेका थिए । बैठकमा त्रिवि रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले बजेट प्रस्तुत गरे । बुधबारमा मात्रै प्रधानमन्त्री ओलीले त्रिवि उपकुलपतिमा प्रा.डा. दीपक अर्याललाई नियुक्ति गरेका थिए । २२ असारमा बस्नुपर्ने त्रिवि सभा बिहीबार बसेको हो । त्रिविले आगामी आर्थिक वर्षमा श्रमबजारउन्मुख पाठ्यक्रम निर्माण गर्ने कार्यक्रम समेटेको छ । अन्तर्राष्ट्रिय विद्यार्थी भिœयाउने रणनीतिसहित काम गर्ने योजना त्रिविले अघि सारेको छ । आगामी आर्थिक वर्ष त्रिविले विभिन्न प्राज्ञिक अनुसन्धानमूलक कार्य, अन्तर्राष्ट्रिय गोष्ठी, कार्यशाला तथा सेमिनारलाई समेत प्राथमिकतामा राखेको छ । सभाले विभिन्न संकाय र तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीसहितको ६३औँ ग्रेसलिस्ट पारित गरेको छ ।
त्रिवि कुलपतिसमेत रहेका ओलीले विश्वविद्यालयलाई २१औँ शताब्दीको समयसुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रूपमा स्थापित गर्न आग्रह गरे । शिक्षामन्त्री रघुुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्न शिक्षा क्षेत्रको महŒवपूर्ण भूमिका हुने भएकाले विश्वविद्यालयले त्यसअनुसार काम गर्नुपर्नेमा जोड दिए । उपकुलपति प्राडा दीपक अर्यालले विश्वविद्यालयमा कुल विद्यार्थीको कम्तीमा एक प्रतिशत (करिब चार हजार) विदेशी विद्यार्थी हुने गरी लाग्नुपर्ने बताए ।
त्रिवि सभामा विद्यार्थी प्रतिनिधि नराखिएको भन्दै विद्यार्थी संघ–संगठनले विरोध गरेका छन् । नेविसंघ, अखिल क्रान्तिकारीलगायतले विज्ञप्ति नै जारी गरेर विद्यार्थी प्रतिनिधिविना राखिएको सभाको विरोध गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन त्रिविले विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएको छ । ‘विद्यार्थीको अधिकार कुण्ठित गर्ने नियतले प्रतिनिधिविनै बसेको विश्वविद्यालय सभा बैठक हाम्रा लागि मान्य छैन । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र शैक्षिक निकाय हो, यहाँ हुने कुनै पनि बाह्य हस्तक्षेप स्वीकार्य हुँदैन,’ सभापति दीपकराज जोशीले जारी गरेको विज्ञप्तिमा छ ।
त्रिविको बेरुजुको अवस्था डरलाग्दो छ । महालेखाको पछिल्लो ६२औँ वार्षिक प्रतिवेदनअनुसार त्रिविमा ३० अर्ब ५५ करोड ६२ लाख दुई हजार रुपैयाँ बेरुजु छ । प्रतिवेदनमा दुई अर्ब २३ करोड ४५ लाख ६३ हजार बेरुजु थपिएको उल्लेख छ । तीन आर्थिक वर्षदेखि बेरुजु संपरीक्षण तथा फस्र्योट हुन नसकेको त्रिविले जनाएको छ । आइतबार प्रस्तुत गरिएको त्रिविको आर्थिक लेखाजोखा विवरणमा महालेखा परीक्षकको कार्यालयको ६१औँ वार्षिक प्रतिवेदनले २८ अर्ब ३२ करोड १६ लाख ३९ हजार बेरुजु देखाएकोमा यस वर्ष बढेको हो ।