बालबालिकामा देखिने स्वास्थ्य समस्यामध्ये दम पनि एक हो । हाल अस्पतालमा विभिन्न रोग लागेर उपचारका लागि पुगेका बालबालिकामध्ये ८ देखि १० प्रतिशतमा दमको समस्या हुने गरेको अध्ययनले देखाएको छ । समयमै यसको राम्ररी उपचार नगरेमा बालबालिकाको श्वासप्रश्वाससम्बन्धी स्वास्थ्यमा नकारात्मक समस्या निम्तिन्छ । कहिलेकाहीँ त मृत्यु पनि हुन सक्छ । त्यसकारण आफ्नो बच्चालाई दम भएको हो/होइन भन्ने थाहा पाउन जरुरी छ ।
दम हुँदा के–के लक्षण देखिन्छन् ?
लामो समय खोकी लाग्ने, विशेष गरी रातको समयमा धेरै खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, सुन्दा अप्ठेरो मान्ने, स्याँ–स्याँ हुने, घ्यारघ्यार हुने, हरेकपटक रुघा वा खोकी लागेको वेला छिटो निको नहुने, छातीमा सिट्ठी बजेजस्तो आवाज आउने, अलि ठूला (पाँच वर्षभन्दा माथिका) बालबालिकामा खेल्दा वा हिँड्दा बढी स्यास्या हुने, सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिन्छन् । यी लक्षण देखिएमा आफ्नो बच्चालाई दम भएको छ कि भनेर अभिभावकले ख्याल गर्नु जरुरी छ । रुखाखोकी, धुवाँ, धुलो, एलर्जी, भाइरल इन्फेक्सनजस्ता कारणले दमको ट्रिगरको रूपमा काम गर्छ ।
दमको डाइग्नोसिस गरेपछि श्वासप्रश्वासको विधिबाट पनि उपचार गर्नुपर्ने हुन्छ । मुखले खाने औषधि प्रयोग गर्दा नकारात्मक असर निम्तिन सक्ने भएकाले इनहेलरको प्रयोगले उपचार गर्नुपर्ने हुन्छ ।
यस्ता लक्षण देखिए के गर्ने ?
यी सबै लक्षण भएका बालबालिकालाई दमको जाँच गराउन लैजानु उचित हुन्छ । तर, धेरै सानो बच्चा (पाँच वर्षभन्दा मुनि)मा जाँच गर्न सकिँदैन ।
दम कसरी पुष्टि गर्न सकिन्छ ?
यी लक्षण भएका बालबालिकालाई विभिन्न टेस्ट गर्नुपर्छ । रोग पहिचान गरेपछि मात्रै उपचार थालिन्छ । अन्य उपचारमा लाग्नुभन्दा टेस्ट गरेर डाइग्नोसिस गर्न जरुरी छ । दम भएका बालबालिकामा गरिने केही टेस्ट छन् । त्यसमा एउटा पल्मोनरी फङ्सन टेस्ट हो । अर्कोचाहिँ स्पाइरोमेट्री (बच्चालाई एउटा मेसिनमा सास फुक्न लगाउने) गर्नुपर्छ । दम भएका बालबालिकामा टेस्ट गर्दा ‘सालबुटामोल’ भन्ने औषधि दिएर पुनः फुक्न लगाउनुपर्छ । यसलाई रिभर सेभिलिटी टेस्ट पनि भन्ने गरिन्छ ।
सानो बच्चामा चाहिँ लक्षणका आधारमा पनि उपचार गर्नुपर्ने हुन सक्छ । किनकि, पाँच वर्षभन्दा साना बच्चाहरूले यसरी सास फुक्न सक्दैनन् । उनीहरूमा लक्षणका आधारमा दम हो भनेर उपचार गर्नुपर्ने हुन्छ । साना बच्चामा दमभन्दा पनि अरू कारणले पनि घ्यारघ्यार हुन सक्छ । त्यसैले अन्य केही रोग छन् कि भनेर पनि जाँच गर्नुपर्ने हुन्छ । त्यसमध्ये दूरबिनबाट गरिने श्वासनलीको जाँच पनि एक हो ।
बालबालिकामा दम हुनुका कारण
एलर्जी, धुलो, धुवाँ तथा वंशानुुगत कारणले पनि दम हुन सक्छ । त्यस्तै, भाइरल इन्फेक्सन, खानपान नमिल्दा र किरा तथा फुडको एलर्जीले पनि दम भएको पाइन्छ ।
उपचार विधि के हुन सक्छ ?
दमको डाइग्नोसिस गरेपछि श्वासप्रश्वासको विधिबाट पनि उपचार गर्नुपर्ने हुन्छ । बारबार मुखले खाने औषधि प्रयोग गर्दा नकारात्मक असर निम्तिन सक्ने भएकाले इनहेलरको प्रयोगले उपचार गर्नुपर्ने हुन्छ ।
सामान्यतया दुईथरी इनहेलरको प्रयोग हुन्छ । एकथरी इनहेलरले तुरुन्तै आराम दिन्छ, त्यसलाई रिलिभर भनिन्छ । र, यो बच्चालाई धेरै गाह्रो भएको अवस्थामा प्रयोग गरिन्छ । अर्को, कन्ट्रोलर इनहेलर हो । यो लामो समयसम्म प्रयोग गर्नुुपर्ने हुन्छ । कन्ट्रोलर इनहेलरको प्रयोगले तीन महिना आराम भएपछि बिस्तारै बन्द गर्दा बच्चाको दम लामो समयसम्म कन्ट्रोल हुने सम्भावना धेरै हुन्छ र केही बच्चामा निको नै हुन्छ ।
बच्चामा इनहेलरको प्रयोग पेसरको माध्यमबाट गर्नुपर्ने हुन्छ । पेसर प्रयोग नगर्दा सबै औषधि घाँटीमा जम्मा हुन्छ र फोक्सोमा कम औषधि पुग्छ । जसकारण, औषधिको असर कम हुन्छ । र, रोग नियन्त्रण गर्न गाह्रो हुन्छ वा औषधिले काम नगर्न पनि सक्छ । इनहेलर प्रयोगपश्चात् घाँटी कुल्ला गर्नुपर्छ ।