को–को भए प्रदेश प्रमुख ?
प्रदेश १
- गोविन्दबहादुर तुम्बाहाङ (३ माघ ०७४ – १८ कात्तिक ०७६)
- सोमनाथ अधिकारी ‘प्यासी’ (१८ कात्तिक ०७६ – २२ कात्तिक ०७८)
- पर्शुराम खापुङ (२२ कात्तिक ०७८ देखि बहाल)
मधेस
- रत्नेश्वरलाल कायस्थ (३ माघ ०७४ – १८ कात्तिक ०७६)
- तिलक परियार (१८ कात्तिक ०७६ – ७ फागुन ०७७)
- राजेश झा (७ फागुन ०७७ – ३२ साउन ०७८)
- हरिशंकर मिश्र (३२ साउन ०७८ देखि बहाल)
बागमती
- अनुराधा कोइराला (३ माघ ०७४ – १८ कात्तिक ०७६)
- विष्णुप्रसाद प्रसाईं (१८ कात्तिक ०७६ – ३ भदौ ०७८)
- यादवचन्द्र शर्मा (४ भदौ ०७८ देखि बहाल)
गण्डकी
- बाबुराम कुँवर (३ माघ ०७४ – १८ कात्तिक ०७६)
- अमिक शेरचन (१८ कात्तिक ०७६ – २० वैशाख ०७८)
- सीताकुमारी पौडेल (२० वैशाख ०७८ – १२ साउन ०७८)
- पृथ्वीमान गुरुङ (१२ साउन ०७८ देखि बहाल)
लुम्बिनी
- उमाकान्त झा (३ माघ ०७४ – १८ कात्तिक ०७६)
- धर्मनाथ यादव (१८ कात्तिक ०७६ – १२ साउन ०७८)
- अमिक शेरचन (१२ साउन ०७८ देखि बहाल)
कर्णाली
- दुर्गाकेशर खनाल (३ माघ ०७४ – १८ कात्तिक ०७६)
- गोविन्दप्रसाद कलौनी (१८ कात्तिक ०७६ – २२ कात्तिक ०७८)
- तिलक परियार (२२ कात्तिक ०७८ बाट बहाल)
सुदूरपश्चिम
- मोहनराज मल्ल (३ माघ ०७४ – १८ कात्तिक ०७६)
- शर्मिलाकुमारी पन्त त्रिपाठी (१८ कात्तिक ०७६ – २० वैशाख ०७८)
- गंगाप्रसाद यादव (२० वैशाख ०७८ – २२ कात्तिक ०७८)
- देवराज जोशी (२२ कात्तिक ०७८ देखि बहाल)
पछिल्लो पाँच वर्षमा राजनीतिक अस्थिरताको असर प्रदेश सरकारहरूमा मात्र होइन, प्रदेश प्रमुख नियुक्तिमा पनि देखियो । सरकार परिवर्तनसँगै प्रमुख पनि फेर्ने होडबाजीले संघीय संरचनाको पहिलो कार्यकालमै सात प्रदेशमा २४ जना प्रदेश प्रमुख नियुक्त भए । जब कि प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुन्छ ।
पाँच वर्षमा मधेस, गण्डकी र सुदूरपश्चिमले चार–चार प्रदेश प्रमुख पाए । बाँकी चार प्रदेशमा तीन–तीनजना प्रमुख बने । तिलक परिवार र अमिक शेरचनले दुई–दुईपटक प्रदेश प्रमुख बन्ने अवसर पाए ।
प्रदेश प्रमुख संघीय सरकारको प्रतिनिधिका रूपमा रहने व्यवस्था छ । जसकारण केन्द्रमा सरकार परिवर्तन हुँदैपिच्छे प्रदेश प्रमुख पनि हटाउने र नयाँ नियुक्त गर्ने काम भइरह्यो । यसले राज्यलाई आर्थिक भार थप्ने मात्रै होइन, संघीयताको विरोध गर्नेहरूलाई प्रोत्साहित पनि बनाइरह्यो ।
तत्कालीन शेरबहादुर देउवाको चुनावी सरकारले ३ माघ ०७४ मा सातवटै प्रदेशमा पहिलोपटक प्रदेश प्रमुख नियुक्त गरेको थियो । जसअनुसार प्रदेश १ मा गोविन्दबहादुर तुम्बाहाङ, मधेसमा रत्नेश्वरलाल कायस्थ, बागमतीमा अनुराधा कोइराला, गण्डकीमा बाबुराम कुँवर, लुम्बिनीमा उमाकान्त झा, कर्णालीमा दुर्गाकेशर खनाल र सुदूरपश्चिमा मोहनराज मल्ल नियुक्त भएका थिए । प्रदेश २ राजपा र प्रदेश ५ फोरमले पाएको थियो भने बाँकी प्रदेशमा कांग्रेसका तर्फबाट प्रदेश प्रमुख नियुक्त गरिएका थिए ।
संघीय सरकार परिवर्तन भएसँगै १७ कात्तिक ०७६ को मन्त्रिपरिषद् बैठकले सातै प्रदेश प्रमुखलाई बर्खास्त गर्यो । र, १८ कात्तिकमा सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ नियुक्त गरिन् । जसअनुसार प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, मधेसमा तिलक परियार, बागमतीमा विष्णुप्रसाद प्रसाईं, गण्डकीमा अमिक शेरचन, लुम्बिनीमा धर्मनाथ यादव, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा शर्मिलाकुमारी पन्त त्रिपाठी नियुक्त भए । एकतापूर्वका एमाले र माओवादीको भागबन्डाका आधारमा नियुक्ति गरिएको थियो ।
तत्कालीन नेकपाभित्र विवाद चर्किंदै जाँदा त्यसको असर प्रदेश प्रमुखहरूमा पनि पर्यो । सरकारले मधेसमा तिलक परियारलाई बर्खास्त गरेर ७ फागुन ०७७ मा राजेश झालाई प्रदेश प्रमुख नियुक्त गर्यो । त्यस्तै, २० वैशाख ०७८ मा गण्डकी र सुदूरपश्चिम प्रमुख फेरिए । गण्डकीमा शेरचनलाई हटाएर सीता पौडेललाई प्रमुख बनाइयो भने सुदूरपश्चिममा पन्तलाई बर्खास्त गरेर गंगाप्रसाद यादवलाई नियुक्त गरियो ।
तत्कालीन केपी ओली नेतृत्वको सरकार ढलेपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि प्रदेश प्रमुख हेरफेरलाई निरन्तरता दियो । १२ साउन ०७८ मा गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख फेरिए । सीता पौडेललाई बर्खास्त गरेर गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्त गरियो भने लुम्बिनीका धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई प्रदेश प्रमुख बनाइयो । शेरचन त्यसअघि गण्डकीका प्रदेश प्रमुख थिए ।
३२ साउनको मन्त्रिपरिषद् बैठकले मधेसका प्रदेश प्रमुख फेर्यो । झालाई हटाउँदै सरकारले हरिशंकर मिश्रलाई प्रमुख नियुक्त गर्यो । ३ भदौ ०७८ मा विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई बागमतीको प्रदेश प्रमुख बनाइयो ।
प्रदेश प्रमुख हेरफेरको शृंखला त्यतिमै टुंगिएन । २२ कात्तिक ०७८ को मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिममा प्रदेश प्रमुख बर्खास्त गर्यो । प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशी नियुक्त गरियो । उनीहरू अहिले बहाल छन् ।