शिक्षा प्राप्त गर्ने बालबालिकाको नैसर्गिक अधिकारलाई प्रभावकारी बनाउन बाह्रबिसे नगरपालिकाले दुईवटा महत्वपूर्ण निर्णय घोषणा गरेको छ। सरकारले कक्षा ६ सम्म दिँदै आएको दिवाखाजालाई बढाएर आठ कक्षासम्म दिने र १२ कक्षासम्म कुनै पनि प्रकारको शुल्क नलिने घोषणा गरेको हो।
शिक्षा समितिको बैठकमा प्रधानाध्यापक, अभिभावक र सरोकारवाला पक्षसँग अन्तर्क्रिया गरेर नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले निर्णय सुनाएका हुन्। नगरभित्र रहेका ५४ विद्यालयलाई परिपत्र गरेर दिवाखाजा र निःशुल्क शिक्षासम्बन्धी जानकारी पनि गराइएको छ।
‘नगरभित्र यो शैक्षिक सत्रमा भर्ना भएका ६ हजार सात सय विद्यार्थीले कुनै किसिमको शुल्क तिर्नुपर्दैन,’ मेयर बस्नेतले भने, ‘कुनै पनि विद्यालयले नगरको परिपत्रविपरीत शुल्क लिए कारबाही गरिनेछ।’
माध्यमिक विद्यालयलाई आवश्यक सबै शैक्षिक सामग्री नगरले उपलब्ध गराएपछि विद्यार्थीसँग शुल्क लिन नपाउने उनले प्रस्ट्याए। दिवाखाजा, परीक्षा शुल्क र विज्ञान संकायको प्रयोगशालालाई लाग्ने अतिरिक्त खर्च नगरपालिकाले व्यहोर्ने भएको छ। जसका लागि दुई करोड ६० लाख रकम छुट्याइएको छ। शिक्षा शाखा प्रमुख विनोद कार्कीले राज्यले संविधानमा उल्लेख गरेको शिक्षासम्बन्धी प्रावधान नगरपालिकाले यो वर्षदेखि कार्यान्वयन गर्न लागेको बताए।