मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २१ मंगलबार १७:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवासँग भारतीय सेनाध्यक्षको भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २१ मंगलबार १७:२२:००

नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले रक्षा मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा भारतीय सेनाध्यक्ष पाण्डेले नेपाल–भारत रक्षा सहकार्य थप मजबुत बनाउन प्रयास गर्ने बताए। प्रधानमन्त्री देउवाले दुई सेनाबीच विगतदेखि मित्रवत् सम्बन्ध रहँदै आएको चर्चा गरेका थिए। उनले नेपाली सेनाको मानार्थ महारथीका रूपमा विभूषित भएकोमा सेनाध्यक्ष पाण्डेलाई बधाई दिएका थिए। सेनाध्यक्ष पाण्डेले आफूलाई विभूषित गरेकोमा धन्यवाद दिए।

पाण्डेले न्यानो आतिथ्यका लागि नेपाल सरकारप्रति आभार व्यक्त गरेका थिए। उक्त भेटमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार अरुणकुमार सुवेदी, सेनाका उच्च अधिकारी, परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी थिए। नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलगायत भारतीय अधिकारी पनि भेटवार्तामा सहभागी थिए।

भारतीय सेनाध्यक्ष पाण्डेलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्ज्यानीबाट सुशोभित गरेकी थिइन्। मंगलबार बिहान माउन्टेन फ्लाइटका क्रममा उनी सोलुखुम्बुस्थित सगरमाथाको आधार शिविर पुगेर फर्केका थिए। उनले मंगलबारै नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजका शिक्षार्थीलाई सम्बोधन गरेका थिए।

बुधबार मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्ने र पोखरास्थित सेनाको मध्यकमान्ड मुख्यालय भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।