१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १९ आइतबार
  • Saturday, 28 September, 2024
हिक्मतसिंह ऐर
२o७९ भदौ १९ आइतबार o९:o१:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

भारतीय पर्यटकको वास्तविक तथ्यांक खै ?

Read Time : > 5 मिनेट
हिक्मतसिंह ऐर
नयाँ पत्रिका
२o७९ भदौ १९ आइतबार o९:o१:oo

हवाई र स्थल दुवै मार्गबाट नेपाल भित्रिने पर्यटकको यथार्थ गणना हुन सके मात्र पर्यटनले जिडिपीमा गरेको योगदानको वास्तविक तथ्य पत्ता लाग्छ

नेपाल सरकार, अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२२ को जुलाई (७ महिना)सम्म हवाईमार्गबाट २,८५,३६३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपालमा विदेशी पर्यटक आगमनको तथ्यांक नियाल्ने हो भने सन् २०१९ मा सर्वाधिक ११,९७,१९१ जना पर्यटकमध्ये हवाईमार्गबाट ८,९५,८८४ र स्थलमार्गबाट २,०१,३०७ जना आएको तथ्यांक पाइन्छ । त्यस्तै, पछिल्लो ४४ वर्षको पर्यटन आगमन तथ्यांक हेर्दा सन् २०२१ मा सबैभन्दा कम १,५०,९६२ जना पर्यटक आएकामा हवाईमार्गबाट १,५०,६२५ र स्थलमार्गबाट ३३७ जना मात्र विदेशी पर्यटक आएको देखिन्छ । 

उपरोक्त तथ्यांकले पर्यटन व्यवसायको वर्तमान स्थितिको आकलन गर्दै हालको परिवेशमा कति पर्यटक आए, अब हाम्रो पर्यटन बजारको स्थिति कस्तो हुन्छ ? भन्ने आकलन गर्न सकिन्छ । यस वर्षको पर्यटक आवागमन तथ्यांकले कोभिडबाट प्रभावित नेपालको पर्यटन क्षेत्र क्रमशः सुधारको बाटोमा गई सन् २०१९ को तुलनामा ६७ प्रतिशत सुधार भएको देखिन्छ । 

जुलाई २०२२ को एक महिनामा भित्रिएका कुल ४४ हजार ४६२ मध्ये ३८.९ प्रतिशत अर्थात्, १७ हजार २९९ जना भारतीय पर्यटक हवाईमार्गबाट नेपाल आएका छन् । स्थलमार्गबाट ७ महिनामा कति भारतीय पर्यटक आएका छन्, त्यसको तथ्यांक हामीसँग छैन । वर्षको अन्तिममा मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी वर्षभरि चारपांग्रे बस, जिप, कारले नाकाहरूमा एक दिनभन्दा बढी बस्ने गरी लिएको नेपाल प्रवेश अनुमतिका आधारमा भारतीय पर्यटकहरूको कुल संख्याको गणना गर्ने गरेको छ, त्यसमा मोटरसाइकल र आफ्नै मोटरगाडीबाट आई सोही दिन फर्केका भारतीयलाई पर्यटकको रूपमा गणना गर्ने गरेको छैन । 

हवाईमार्ग र स्थलमार्गबाट देशमा भित्रिने पर्यटक संख्याको यथार्थ गणना हुनुपर्ने जरुरी देखिन्छ । किनकि, देशको कुनै पनि क्षेत्रमा हुने क्रियाकलापको तथ्य जान्नु जरुरी हुन्छ । त्यस्तै, पर्यटन क्षेत्रमा पर्यटकको वास्तविक संख्या हवाई र स्थलमार्गबाट हुने आगमनको तथ्यांक, पर्यटकले बजारमा वास्तविक कति खर्च गरेको हो र पर्यटन गतिविधिले कुन–कुन व्यवसायलाई समेटेको छ भन्ने कुरा पत्ता लगाउन जरुरी छ । उपरोक्त सम्पूर्ण तथ्यांकको विवरण प्राप्त भएमा मात्र पर्यटन व्यवसायले देशको राष्ट्रिय गार्हस्थ्य उत्पादनमा गरेको योगदानबारे यथार्थ पत्ता लाग्न सक्थ्यो । तर, हालसम्म नेपाल सरकारको तथ्यांकले पर्यटन उद्योगको राष्ट्रिय गार्हस्थ्य उत्पादनमा सन् २०१८–२०१९ मा २ प्रतिशत योगदान मात्र देखाउँछ । जबकि, पर्यटनसँग सम्बन्धित अन्तर्राष्ट्रिय अनुसन्धान गर्ने संस्था वल्र्ड ट्राभल एन्ड टुर काउन्सिल (डब्लुटिटिसी)को तथ्यांकले सन् २०१८–२०१९ मा नेपालको गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान ७.५ प्रतिशत देखाउँछ, जुन एकआपसमा बाझिएका छन् । 

त्यस्तै, देशभित्रका प्रमुख पर्यटकीय सहरमा कति स्वदेशी र कति विदेशी पर्यटक आउँछन्, त्यसको कुनै तथ्यांक राख्ने गरेको पाइँदैन । केवल पदमार्गहरू जस्तै– अन्नपूर्ण, सगरमाथा आदि क्षेत्रमा जाने विदेशी पदयात्री पुगेकोे रेकेर्ड टिम्स रेकर्डमार्पmत राखेको पाइन्छ । साथै, केही वर्षअघिबाट लुम्बिनीको मायादेवी मन्दिर, पर्वतारोहण गर्ने टिमको विवरण र सबै राष्ट्रिय वन्यजन्तु पार्क तथा संरक्षित क्षेत्रहरूमा प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटक संख्याको तथ्यांक राख्ने गरेको पाइन्छ, तर अन्य पूर्ण तथ्यांकविना नै हालसम्मका योजना एवं कार्यक्रमहरू राज्यलाई पर्यटन व्यवसायले देखाएको कारोबार र तिरेको कर, विदेशी मुद्रा आर्जनकोे विवरणका आधारमा तथ्यांकहरू प्रकाशन हुने गरेकोे छ । 

आकलनको भरमा हाम्रो व्यवस्था चलिरहेको देखिन्छ । निजी क्षेत्रले आफ्नो वा बैंकको लगानी आकलनकै भरमा वा पर्यटनसँग सम्बन्धित अन्तर्राष्ट्रिय अनुसन्धान गर्ने संस्थाहरू जस्तै– युएनडब्लुटिओ, डब्लुटिटिसी, विश्व बैंक आदिले नेपालको पर्यटनबारे गरेको प्रक्षेपण तथा आकलनको भरमा बनेका प्रतिवेदनहरूका आधारमा बजार विस्तार गरी ठूलो लगानी गरेको क्षेत्र हो, पर्यटन क्षेत्र । पर्यटन व्यवसायीहरूको विवेक र साहसका आधारमा होटेल, गेस्टहाउस, रिसोर्ट, रेस्टुरेन्टहरू खुल्ने गरेको विभिन्न स्थानको उदाहरण यहाँ पाइन्छ । गत वर्ष नेपालमा थपिएका २० वटा होटेलसँगै पर्यटन विभागको तथ्यांकअनुसार गत वर्ष देशभर १८ वटा पाँचतारे र १६२ वटा एकदेखि चारतारे होटेल, ११,८३० पर्यटकस्तरीय होटेल र ७४० जति होमस्टेको संख्या पुगेको पाइन्छ । देशमा पर्यटक आगमन हेर्ने हो भने हवाईमार्गबाहेक स्थलमार्ग भई दक्षिणतर्फबाट भारतीय र उत्तरी नाकाबाट चिनियाँ पर्यटक नेपाल आउने गर्दछन् । देशमा भारतसँग जोडिएका १७ वटा नाका छन् । 

प्रविधिको युगमा पनि यातायात विभाग र ट्राफिक प्रहरीले हातले लेखेर सवारीसाधनको आवागमनको रेकर्ड राख्ने गरेको पाइन्छ । अस्थायी पैठारीको रूपमा एक दिनको पास लिई सुविधाको रूपमा अस्थायी रूपले नेपाल प्रवेश गरी घरायसी सामानको खरिददारी गर्ने होटेल, रेस्टुरेन्ट, क्यासिनोमा मनोरञ्जन गरी बेलुकी फर्की जाने भारतीय पर्यटकको संख्या ठूलो छ । आजको दिनमा पूर्वदेखि पश्चिमसम्मका प्रमुख सहर काँकडभिट्टा, मेचीनगर, विराटनगर, भन्टाबारी, राजविराज, जलेश्वर, मलंगवा, गौर, वीरगन्ज, भैरहवा, कृष्णनगर, नेपालगन्ज, धनगढी र महेन्द्रनगरमा प्रत्येक दिन भारतीयहरू नेपाल आउँछन् र बेलुकी फर्किन्छन् । नेपाल–भारत सिमानामा दुई देशले आफ्ना देशको प्रथम प्रवेश हुने सहरमा आफ्नै गाडीबाट आउने–जाने सुविधा दुवै देशका नागरिकलाई दिँदै आएको पाइन्छ, तर पर्यटनको परिभाषाभित्र एक रात नबस्ने व्यक्ति नपर्ने भएकाले स्थलमार्गबाट एक दिनका लागि नेपाल आएका भारतीय पर्यटकको गणना गर्ने गरेको छैन । पैदलयात्रु, रिक्सा, टाँगामा आए–गएका व्यक्तिहरूको कुनै रेकर्ड हुँदैन । 

बिहार सरकारले सन् २०१६ अप्रिलदेखि बिहार राज्यमा मदिराको बिक्री वितरणमा बन्देज गरेपछि सीमावर्ती नेपालका सहरमा रेस्टुरेन्ट र होटेल तथा क्यासिनो, डान्सबार आदि मनोरञ्जन व्यवसायमा भारतीय पर्यटकको आगमनले राम्रो प्रभाव पारेको पाइन्छ । साथै, जनकपुर, विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज तथा सीमावर्ती भारतीय सहरहरूबाट विवाह, रिसेप्सन आदि समारोहले उक्त सहरका पार्टी प्यालेस, होटेल आदिले पनि राम्रो व्यवसाय गरेका छन् । हप्ताको दुई दिन शनिबार र आइतबार भारतबाट सपरिवार नेपाली सहरका वाटरपार्कहरू वा नजिकका हिलस्टेसन; इलाम, भेडेटार, दामन, पाल्पा, पोखरा आदि स्थानमा आफ्नै साधनबाट पर्यटक आउने गरेका छन् । आफ्नै गाडीबाट आएका यस्ता केही पर्यटकको तथ्यांक राख्ने गरिन्छ, केहीको तथ्यांक राख्ने गरेको पाइँदैन । किनकि, उनीहरू बोर्डरभित्र पैदल, टाँगा, रिक्साबाट पनि आउँछन् र बोर्डरबाटै नेपाली गाडीमा नेपाल घुमी सोही बाटोबाट फिर्ता जान्छन् । यस्तो संख्या ठूलो छ, तर तथ्यांकको अभावले कति सीमाका सहरहरूमा रहे, कति पोखरा, चितवन र काठमाडौं आए भन्नै सकिन्न । 

पछिल्लो समयमा नेपालको तराई क्षेत्रका नयाँ विकासोन्मुख सहरहरूमा ठूला–ठूला होटेल, रेस्टुरेन्ट, क्यासिनो तथा वाटरपार्कहरू धमाधम खुल्दै राम्रो व्यापार गरिरहेका छन्, जुन व्यवसायीहरूले देखाएको कारोबार र तिरेको करको तथ्यांकले देखाउँछ । झापाको मेचीनगर, भैरहवा, नेपालगन्जमा खुलिसकेका पाँच र चारतारे होटेल र विराटनगर, जनकपुर, बुटवल, धनगढीमा खुल्ने क्रममा रहेका पाँचतारे र चारतारे होटेलले आसलाग्दो अवस्था स्पष्ट रूपमा देखाउँछ । त्यहाँ मुख्यतः ठूलो संख्यामा भारतीय पर्यटक आउने गरेको देखिन्छ, तर त्यसको तथ्यांक हामीसँग प्रस्ट रूपमा नरही आकलनमा सीमित रहनुपर्ने व्यवस्था छ । स्थलमार्गबाट आउने पर्यटकको तथ्यांकको व्यवस्थापन नभएकाले उनीहरूलाई राम्रो पार्किङ, यात्रामा चाहिने शौचालय, चमेनागृहजस्ता सुविधा पनि राज्यले दिन सकेको पाइँदैन । केही निजी व्यवसायीले बाटोमा खाने–बस्ने व्यवस्था मिलाएको पाइन्छ । आजको दिनमा हाम्रा प्रमुख पर्यटकीय स्थलहरू काठमाडौं, पोखरा, चितवनमा स्थलमार्गबाट कति भारतीय, कति तेस्रो मुलुकका र कति स्वदेशी पर्यटक आएका छन् र उनीहरू कति दिन ती स्थानमा बसे र के–के गतिविधिमा संलग्न भई पर्यटन क्षेत्रमा उनीहरूको योगदान कति छ भन्ने प्रश्नको उत्तर नै छैन । वास्तवमा स्थलमार्गबाट आउने पर्यटकहरूको तथ्यांक राख्न नाकाहरूमा तत्काल व्यवस्था गर्नुपर्ने आवश्यकताका साथै निम्न बमोजिमका केही सुझाव राख्न चाहन्छु :

१. नेपाल–भारत बोर्डरलाई पर्यटकमैत्री बनाई व्यवस्थित गर्ने,    प्रत्येक तेस्रो मुलुकका नागरिकसँगै भारतीय आगन्तुकले पनि पासपोर्ट, आधार कार्ड, रासन कार्ड, नानीहरूलाई स्कुलको आइडी कार्डका आधारमा नेपाल प्रवेश गर्दा इन्ट्री गराउने व्यवस्था यथाशीघ्र लागू गर्नुपर्छ । 

२. बोर्डरमा यात्रुको आवागमनको समय सक्दो बढाउनुपर्छ । 

३. भेइकल स्क्यानिङ मेसिन प्रमुख नाकाहरूमा जडान गर्नुपर्छ । 

४. नेपालको स्थानीय नियम, नेपाली कानुनबारे नाका प्रवेश अनुमति लिने स्थानमा आवश्यक सूचना सम्प्रेषण गर्नुपर्छ । 

५. नेपाल सरकारले अघि बढाइरहेको टुरिजम सेटेलाइट अकाउन्ट सिस्टमलाई यथाशीघ्र कार्यान्वयनमा ल्याई सोहीअनुरूप सरकारको सम्पूर्ण योजना बनाउनुपर्ने आवश्यकता देखिन्छ । यसको उपयोगले पर्यटन क्षेत्रमा संलग्न सबै व्यवसायको नेपाली अर्थतन्त्रमा रहेको योगदान हेर्न सकिन्छ । 

६. सबै आगुन्तक स्वदेशीसमेतलाई एउटा परमिट प्रणालीद्वारा सबै ट्रेकिङ मार्गमा र राष्ट्रिय वन्यजन्तु पार्क तथा संरक्षित क्षेत्रहरूमा डिजिटल एपद्वारा अनुमति दिने प्रणाली लागू गर्नुपर्छ । 

७. भारतीय बोर्डरसँग जोडिएका नेपालका ठूला सहरहरूनजिकैका पहाडी क्षेत्रमा अवस्थित हिल स्टेसनमा आउने सम्पूर्ण पर्यटकको तथ्यांक राख्ने व्यवस्थाको सुरुवात गर्नुपर्छ । यसका लागि प्रत्येक गन्तव्यका होटेलमा राम्रो इलेक्ट्रोनिक रेकर्ड, भेइकल स्क्यानिङ मेसिनबाट ट्याक्सी, बस, जिप, कारको रेकर्डलाई एकीकृत रूपमा राख्न सकिने गरी तथ्यांक तथा रेकर्ड संकलन एवं विश्लेषण गरी मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा तथ्यांक प्रस्तुत गर्ने संयन्त्र बनाउनुपर्ने हुन्छ । भारतको सिक्किमको रेम्पोमा बाहिरी पर्यटकको इन्ट्री गरिनेजस्ता राम्रा प्रचलन पहिलेदेखि नै छिमेकमा छन् । यस्तै, भुटानमा पनि भारतीय नागरिकलाई विनाभिसा इन्ट्री मात्र गरी प्रवेश गर्न दिइन्छ । हाम्रो पनि सबै नाका र गन्तव्यहरूमा रेकर्ड राख्न सम्भव नभए तापनि प्रमुख पर्यटकीय सहरमध्ये इलाम, धरान, काठमाडौंं उपत्यका प्रवेश गर्दा नागढुंगामा र पोखरा प्रवेश गर्दा सेती पुलमा, चितवन र मनाङ तथा मुस्ताङजस्ता केही स्थलमा पर्यटकीय आगन्तुकको रेकर्ड राख्न सुरुवात गर्नु उपयुक्त देखिन्छ । 

नेपाल आएका पर्यटक संख्याको यथार्थ तथ्यांक हामीसँग नभएका कारण नै हाम्रा पूर्वाधारका योजनाहरू जस्तै– विमानस्थल र सडकहरूको स्तरोन्नति र नयाँ प्रोजेक्टमा सरकारकोे व्यावसायिक दृष्टिकोणभन्दा पनि राजनीतिक उद्देश्यले प्रेरित लगानी भएको पाइन्छ । साथै, निजी क्षेत्रको पनि होटेल, यातायात, मनोरञ्जन आदि व्यवसायमा, व्यक्तिगत आकलनका आधारमा र बजारमा एकअर्काको देखासिकी गरी नयाँ व्यवसायमा लगानी भइरहेको पाइन्छ । उदाहरणका लागि सन् २०१७ देखि २०१९ सम्म नेपालमा राम्रो संख्यामा पर्यटक आएको र नेपाल सरकारले पनि पर्यटन वर्ष २०२० घोषणा गरेको अन्दाजमा बैंकहरू तथा वित्तीय संस्थाहरूले होटेल, रिसोर्ट, गाडी तथा मनोरञ्जन व्यवसायमा ठूलो लगानी गरेको पाइन्छ । 

त्यस्तै, नेपालमा आउँदो वर्ष ०८० सम्म १७ वटा पाँचतारे होटेल थपिने, साथैै देशभरि अनेकौँ तारे होटल, रिसोर्ट, होमस्टे, रेस्टुरेन्ट, जिपलाइन, वाटर पार्कहरू खुल्ने क्रममा रहेका छन् । साथै, आगामी डेढ वर्षभित्र ३५ वटा पाँचतारे होटेलमा पाँच हजार दुई सय ३३ कोठा पुग्ने अनुमान छ । पर्यटन उद्योगलाई नेपाली अर्थतन्त्रको दिगो संवाहक बनाउन यसलाई आवश्यक पर्ने यथार्थपूर्ण तथ्यांक संकलन गर्ने संयन्त्र बनाउन जरुरी देखिन्छ । त्यसबाट समग्र पर्यटन क्षेत्र मात्र हैन, हाम्रो अर्थतन्त्रको आयात, निर्यात, विभिन्न व्यवसायको आर्थिक कारोबारमा छुट र सुविधा एवं करको दररेट निर्धारण गर्र्न, बैंकहरूको लगानी सुरक्षित गर्नका साथै हाम्रा नाका र विभिन्न गन्तव्यहरूमा आपराधिक गतिविधि रोक्न, राम्रो सुरक्षाको प्रत्याभूति दिन, ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सकिन्छ । यसले समग्रमा पर्यटकीय गन्तव्यहरूमा आकर्षण तथा गुणस्तरीय सेवा सत्कार बढाउन, राम्रो अनुभूति दिन पर्यटकलाई लाइफ टाइम एक्सपेरियन्सको यथार्थ अनुभव गराउन मद्दत मिल्नेछ ।  

निर्देशक, नेपाल पर्यटन बोर्ड