गत वर्षको तुलनामा मुलुकमा अपराध बढेको छ । प्रहरीकै तथ्यांकअनुसार गत वर्षको तुलनामा पछिल्लो चार महिनामा अपराध दर झन्डै तीन प्रतिशतले बढेको छ । गत वर्ष र चालू आर्थिक वर्षको चार महिनामा प्रहरी कार्यालयमा दर्ता भएका मुद्दा संख्याको विश्लेषणका आधारमा यस्तो तथ्यांक देखिएको हो । पछिल्लो चार महिनायता गृह मन्त्रालयको जिम्मेवारी रमेश लेखकले सम्हालेका छन् ।
नेपाल प्रहरीको तथ्यांकअनुसार चालू आर्थिक वर्षको चार महिनामा मुलुकभरका प्रहरी कार्यालयमा १९ हजार ४९८ मुद्दा दर्ता भएका छन्, जुन अघिल्लो आर्थिक वर्षको चार महिनामा दर्ता भएका मुद्दा संख्याभन्दा पाँच सयले धेरै हो । अर्थात् अघिल्लो आवको सुरुको चार महिनामा मुलुकभर १८ हजार ९९८ मुद्दा दर्ता भएका थिए । यो दर त्यसभन्दा अघिल्लो आवको चार महिनामा दर्ता भएकोभन्दा २.६३ प्रतिशतले धेरै हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विश्व अधिकारीले मुलुकभर अपराधसँग सम्बन्धित मुद्दा दर्ता संख्या झन्डै तीन प्रतिशतले बढेको बताए । ‘मुलुकभर अपराध बढेकोजस्तो देखिन्छ । प्रहरी कार्यालयमा दर्ता भएका मुद्दा संख्या विश्लेषणले यही देखाउँछ । अघिल्लो आवको सुरुको चार महिनामा मुलुकभरका प्रहरी कार्यालयमा १८ हजार ९९८ मुद्दा दर्ता भएका थिए । यो संख्या बढेर अहिले १९ हजार ४९८ पुगेको छ । चालू आवको चार महिनाको मुद्दा दर्ता संख्या अघिल्ला वर्षको भन्दा पाँच सयले धेरै देखिन्छ,’ उनले भने ।
प्रहरीको तथ्यांकअनुसार मुलुकभर प्रत्येक दिन १६२.४ मुद्दा प्रहरी कार्यालयमा दर्ता हुने गर्छन् । जसमध्ये सबैभन्दा धेरै बैंकिङ कसुरसँग सम्बन्धित छन् । तथ्यांकअनुसार चालू आवको चार महिनामा मुलुकभर बैंकिङ कसुरसँग सम्बन्धित मुद्दा मात्रै चार हजार ३५९ दर्ता भएका छन् । यो दर्ता भएको कुल अपराध संख्याको २२.३५ प्रतिशत हो । त्यस्तै, यस अवधिमा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकतासँग सम्बन्धित मुद्दा तीन हजार १४४ वटा दर्ता भए । यो कुल संख्याको १६.१२ प्रतिशत हो ।
यस अवधिमा आत्महत्यासँग सम्बन्धित मुद्दा दुई हजार २३६ दर्ता भएका छन् । यो कुल संख्याको ११.४६ प्रतिशत हो । त्यसबाहेक लागुऔषधसँग सम्बन्धित मुद्दा एक हजार ६१९, चोरीका एक हजार २४२, करणीका ८२३, ठगी तथा आपराधिक लाभका ६१८, सवारी ज्यानका ५७० र ज्यान मार्ने उद्योगका ३८२ मुद्दा दर्ता भए । यो कुल अपराधको क्रमशः ८.३० प्रतिशत, ६.३६ प्रतिशत, ४.२२ प्रतिशत, ३.१६ प्रतिशत, २.९२ प्रतिशत र १.९५ प्रतिशत हो । बाँकी चार हजार ५१३ मुद्दा भने अन्य अपराधसँग सम्बन्धित छन् । जुन कुल संख्याको २३.१४ प्रतिशत छ ।
प्रहरी प्रधान कार्यालयमा भएको पत्रकार सम्मेलनमा तथ्यांक सार्वजनिक गर्दै प्रवक्ता एसएसपी अधिकारीले अपराधको प्रकृतिबारे पनि ब्रिफिङ गरे । ‘मुलुकभर सबैभन्दा धेरै बैंकिङ कसुरसँग सम्बन्धित मुद्दा दर्ता भएका छन् । त्यसपछि दर्ता हुने सबैभन्दा धेरै सार्वजनिक हित, स्वास्थ्य तथा सुरक्षासँग सम्बन्धित मुद्दा छन् । आत्महत्या, करणी, लागुऔषध, चोरीलगायतका अपराधसँग सम्बन्धित मुद्दा पनि यस अवधिमा धेरै नै दर्ता भएको देखिन्छ,’ उनले भने ।
तथ्यांकअनुसार सबैभन्दा धेरै अपराधका घटना काठमाडौं उपत्यकामा भएका छन् । यस अवधिमा उपत्यकाभित्र मात्रै पाँच हजार ५४५ मुद्दा दर्ता भए । त्यसपछि कोशी प्रदेशमा सबैभन्दा धेरै अपराधका घटना भएका छन् । यस अवधिमा उक्त प्रदेशमा मात्रै तीन हजार २४० अपराधसँग सम्बन्धित मुद्दा दर्ता भएका छन् ।
त्यस्तै, मधेश प्रदेशमा यस अवधिमा दुई हजार ९९४ अपराधसँग सम्बन्धित मुद्दा दर्ता भएका छन् । त्यसपछि लुम्बिनी प्रदेशमा यस अवधिमा दुई हजार ५४९ मुद्दा दर्ता भएका छन् । त्यस्तै, बागमती प्रदेशमा एक हजार ७६९, गण्डकीमा एक हजार ४१७, सुदूरपश्चिममा एक हजार ३५६ र कर्णालीमा ६२८ मुद्दा दर्ता भएका छन् ।
प्रवक्ता एसएसपी अधिकारीले यस अवधिमा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा अपराध भएको देखिने बताए । ‘त्यसपछि कोशी र मधेश प्रदेशमा अपराधका घटना भएका देखिन्छन् । बाँकी अपराधका घटना भने अन्य प्रदेशमा भएका देखिन्छन्,’ उनले भने ।
अपराध बढ्यो कि अपराधपछि कानुनी उपचार खोज्ने प्रवृत्ति ?
प्रहरीको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा धेरै बैंकिङ कसुरसँग सम्बन्धित अपराध बढेका छन् । नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल यसो हुनुमा आर्थिक गतिविधिमा देखापरेको चरम शिथिलतालाई मुख्य कारण ठान्छन् । ‘मुलुकमा आर्थिक गतिविधि धिमा छ । व्यापार–व्यवसाय चल्न सकेका छैनन् । यस्तो अवस्थामा न भुक्तानी दिन सकिन्छ, न लिन नै । नियत ठिक हुँदाहुँदै पनि कानुनविपरीतका काम हुन पुग्छन्,’ उनले भने ।
केही अवधि दबाबबाट उम्कन व्यक्तिले मौजुदा रकम नभएका बैंकका चेक प्रवाह गर्छ । सोही चेक ‘बाउन्स’ हुन्छ । त्यो मुद्दा बनेर प्रहरी कार्यालयमा दर्ता हुन्छ । प्रहरीको तथ्यांकअनुसार पछिल्लो चार महिनामा यस्ता मुद्दा मात्रै चार हजार ३५९ दर्ता भएका छन् । जुन कुल अपराध संख्याको २२.३५ प्रतिशत हो । नेपाल प्रहरीका प्रवक्ता एसएसपी विश्व अधिकारीले भने अपराधपछि प्रहरीमा उजुरी गर्ने चेतना बढेको र उजुरी लिन प्रहरीले पनि सक्रियता बढाएका कारण अपराधसँग सम्बन्धित मुद्दा दर्ता संख्या बढेको बताए । उनले भने, ‘पहिला अपराधपछि उजुरी गर्नुपर्छ भन्ने चेतना थिएन । अहिले त्यो हटेको छ । अपराध सहेर बस्नुको सट्टा कानुनी उपचार खोज्ने प्रवृत्ति बढेका छन् । यसमा प्रहरीले पनि सहजीकरण गरेको छ । मुद्दा दर्ता संख्या बढ्नुको कारण यो हो भन्ने लाग्छ ।’