मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ३ मंगलबार
  • Wednesday, 18 December, 2024
हिक्मतसिंह ऐर
२o८o पौष ३ मंगलबार o७:१३:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

एभरेस्ट एक्सप्रेस रोड र मेची करिडोरको कनेक्टिभिटी

पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि तीनै तहका सरकारले हिमाली पर्यटकीय गन्तव्य लुक्लाजस्ता महत्वपूर्ण स्थानलार्ई यथाशीघ्र देशको सडक सञ्जालमा जोड्नुपर्छ

Read Time : > 5 मिनेट
हिक्मतसिंह ऐर
नयाँ पत्रिका
२o८o पौष ३ मंगलबार o७:१३:oo

विश्वका आठ हजार मिटरभन्दा अग्ला चौध हिमशिखरमध्ये सर्वोच्च शिखर सगरमाथासहित सातवटा कोशी प्रदेशमै छन् । यहाँ भोटेकोसी, तामाकोसी, दुधकोसी, सुनकोसी, अरुण, वरुण, तमोरजस्ता ठूला नदी बग्छन् । यहाँ १५० किलोमिटर उत्तर–दक्षिण दूरीमा, तराईको ६० मिटर सतहको केचनाकवलदेखि सर्वोच्च शिखर सगरमाथासम्म रहेका छन् । त्यसैले यहाँ कृषि, जलविद्युत्, पर्यटन र उद्योग व्यापारको प्रचुर सम्भावना पाइन्छ ।

नेपालको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र सन् १९६४ मा लुक्ला हवाई अड्डा बनेपछि मात्र काठमाडौंसँग जोडिएको हो । त्यसअघि जिरी–सल्लेरी पैदलमार्गबाट मात्र पुग्न सकिन्थ्यो । हाल हवाई मार्गबाट खम्बुक्षेत्रको लुक्ला विमानस्थल काठमाडौंबाहेक फाप्लु, सल्लेरी, लामिडाँडा र मन्थलीबाट पनि पुग्न सकिन्छ । सन् २०१९ देखि लुक्ला विमानस्थल पुग्न मन्थली विमानस्थल प्रयोग हुँदै आएको छ । काठमाडौंबाट चार घन्टामा मन्थली पुगी त्यहाँबाट लुक्लाका लागि हवाई सेवा लिन सकिन्छ । काठमान्डौंभन्दा त्यहाँको मौसम सफा हुने भएकाले मन्थलीबाट लुक्ला पुग्न सहज हुने गरेको छ । 

लुक्लाको भौगोलिक बनोटले गर्दा विमानस्थलमा ठूलो रनवे बन्न सक्दैन । त्यसले गर्दा त्यहाँ ठूला हवाईजहाज जान सक्दैनन् । त्यहाँको प्राकृतिक मौसमले गर्दा सीमित हवाई उडान हुन सक्छ । जसले गर्दा सम्पूर्ण सगरमाथा–खुम्बुक्षेत्रको पर्यटकीय बजार विस्तार र त्यस क्षेत्रमा हुन सक्ने थप गतिविधिको विकास हुन सकेको छैन । यस सन्दर्भमा, केही समयअघि प्रकाशित ‘पर्यटन क्षेत्रलाई व्यवस्थित बनाऔँ’ भन्ने टानका पूर्वमहासचिव आङपेम्बा शेर्पाको लेखले पनि समस्याको पुष्टि गरेको छ ।

पछिल्ला केही वर्षमा सगरमाथा खुम्बुक्षेत्रको भ्रमणमा जाने पर्यटक घुमघामकै सिजनमा पनि मौसम खराब हुँदा हवाईजहाज नचल्दा लुक्लामा अलपत्र पर्ने अवस्था छ । साथै, चाहेको समयमा यथेष्ट हवाई सिट नपाउने अवस्थाले पनि पर्यटक पु¥याउन समस्या हुने गरेको छ । यसको समाधानका लागि लुक्लाजस्ता प्रमुख पर्यटकीय गन्तव्य जाने प्रवेशद्वारको हवाईअड्डाको निरन्तर आधुनिकीकरण र हवाई सेवाको अनुगमनसँगै यस पर्यटकीय गन्तव्यसम्मको सडक निर्माणलाई पनि गति दिनुपर्छ । 

खुम्बुक्षेत्रमा सडक निर्माण गर्नुपर्छ कि पर्दैन, यो छलफलको विषय हुन सक्छ । ट्रेकिङ व्यवसायको पक्षबाट एउटा मत हुन सक्छ, स्थानीयको अर्को । तर, समग्र पर्यटन क्षेत्रको विकासका लागि एउटा स्पष्ट दृष्टिकोण र रणनीति बनी समग्र रूपमा दीर्घकालीन कार्ययोजना बनी अघि बढ्नुपर्ने हुन्छ ।

एभरेस्ट एक्सप्रेस रोड निर्माणसँगै मेची करिडोरको उत्तर–दक्षिण नाका खोली प्रदेशभित्रका सडक सञ्जाल बाह्रैमास सञ्चालनमा ल्याउन सकियो भने यसबाट कोशी प्रदेशको मात्र नभई सिंगो देशकै समृद्धि र दिगो विकासको ढोका खुल्न सक्छ
 

विश्वव्यापी रूपमा हेर्ने हो भने प्रमुख हिमाली पर्यटकीय गन्तव्यसम्म राज्यले पर्यटकीय गतिविधि पुु¥याउन राम्रा सडक एवम हवाई कनेक्टिभिटीको प्रबन्ध गरेकै हुन्छ । हामीजस्तै भूगोल भएका विश्वप्रसिद्घ हिमाली गन्तव्य स्विट्जरल्यान्ड, अस्ट्रिया आदिले विगत लामो समयदेखि उच्च हिमाली क्षेत्रमा हवाई सेवा र केवलकारमा मात्र सीमित नभई, सडक निर्माणमा विशेष ध्यान दिई लाखौँ पर्यटक भित्र्याइरहेका छन् । पछिल्लो केही समयमा छिमेकी मित्रराष्ट्र भारत, चीन र पाकिस्तानले पनि उच्च हिमाली क्षेत्रमा सडक निर्माण गरेको देख्न सकिन्छ । 

स्विट्जरल्यान्डमा लगभग २५०० मिटरको उचाइका ग्रेट सेन्ट बर्नाड पास, फुर्का पास, उमब्रेल पासमा समेत सडक बनाई पर्यटक आकर्षित गर्नुका साथै छिमेकी राष्ट्र इटली र फ्रान्सको मोब्लाँ पहाडसम्म पनि सडकबाटै पुग्न सकिन्छ । अस्ट्रियाका प्रसिद्घ ग्रोसलोक्नर पास र साल्सबर्गका पहाडी गन्तव्यमा सडकबाटै पुग्न सकिन्छ । त्यस्तै, भारतको लद्दाखको पाँच ७६१ मिटरको उचाइमा चिसुमलदेखि डेम्चोकसम्मको हिमाली सडक मार्ग र सुरुङ, पाँच ३६० मिटरको उचाइमा लद्दाखको अर्को हिमाली सडक मार्ग चाँगला पास हुँदै बनेको छ ।

यी हिमाली सडकले भारतको लद्दाख क्षेत्रमा थप पर्यटक पुर्‍याउन मद्दत गरेको पाइन्छ । चीन सरकारले आफ्नो सिमानाको सगरमाथाको उत्तरपट्टिको बेसक्याम्पसम्मै सडक पुर्‍याएको छ । पाकिस्तानले पनि चीन सरकारको सहयोगमा हिमाली क्षेत्रमा काराकोरम हाइवेबाट राजधानी इस्लामाबादनजिकैको हसन अब्दाल सहरदेखि चीनको स्वायत्त जिनजियाङ प्रान्तको कासगर सहरसम्म सडक निर्माण गरेको छ । 

विश्वव्यापी रूपमा यस प्रकारका सडक निर्माण गरिँदै छ । अब हामीले पनि देशभित्रको सडक कनेक्टिभिटीतिर विशेष ध्यान पुर्‍याई तीनै तहका सरकारले हाम्रा हिमाली पर्यटकीय गन्तव्य लुक्लाजस्तो महत्वपूर्ण स्थानलार्ई यथाशीघ्र देशको सडक सञ्जालमा जोड्नुपर्ने देखिन्छ ।

खुम्बुक्षेत्रमा सडक मार्गको अवस्था : विगत केही वर्षदेखि सोलुखुम्बु क्षेत्रमा सडकको ट्र्याक खोली स्तरोन्नति गर्दै सगरमाथा क्षेत्रको प्रवेशद्वार लुक्लालाई सडक मार्गबाट जोड्ने प्रयास भइरहेको छ । काठमाडौंबाट जिपमा बिपी राजमार्गबाट धुलिखेल, खुर्काेट, घुर्मी बजारबाट पत्तिटार, माने भञ्ज्याङ हुँदै ओखलढुंगा, धापबाट सल्लेरी एभरेस्ट एक्सप्रेस रोडमा १२ घन्टामा सोलुखुम्बको सदरमुकाम सल्लेरी पुग्न सकिन्छ । यस सडकको दूरी लगभग २७६ किलोमिटर छ । सल्लेरीबाट लुक्लासम्मको सडक यात्रामा सुर्खे हुँदै थाकसिन्दुसम्म मात्र यात्रा गर्न सकिन्छ । थाकसिन्दुबाट चौँरीखर्क हुँदै लुक्लासम्म पाँच घन्टाको पदयात्रा गरी पुगिन्छ । ट्र्याक खुलेको छ, सडक बन्ने क्रममा छ । 

सोलुखुम्बको सल्लेरीसम्म तराईको पूर्व–पश्चिम राजमार्गको कर्जना भन्ने स्थानबाट उदयपुरको कटारी, ओखलढुंगाको धाप हुँदै सडक मार्गबाट पुग्न सकिन्छ । यो बाटो चल्तीमै छ । त्यस्तै अर्काे बाटो, तराईको पूर्व–पश्चिम राजमार्गसँग सल्लेरीलाई जोड्न १५६ किलोमिटर लामो सगरमाथा हाइवेद्वारा उदयपुरको गाईघाट, रानीवास, हर्दिया, पिपरा, दौलतपुर, दिक्तेल, लामिडाँडा, लोखिम, बाँकु हुँदै सल्लेरीसम्म पुग्ने सडक पनि बन्दै छ । फास्ट ट्र्याकमा यो सडक निर्माण होस् भन्नेमा स्थानीय सरकारसमेत लागिपरेको छ । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा हुने पर्यटकीय गतिविधि लामो समयदेखि चली नै रहेको छ । तर, केही वर्षदेखि खुम्बुक्षेत्रभन्दा तल सोलुको दुधपोखरी ट्रेकिङ, ओखलढुंगाको पिके डाँडामा माउन्टेन बाइकिङ, भोजपुरबाट खुम्बुतिरको मुन्दुम ट्रेकिङ ट्रेल र उदयपुरको रौता पोखरी क्षेत्रमा पनि ट्रेकिङ गर्नेका गतिविधि बढ्दो छ ।

पूर्वी  नेपालको हिमाली एवं पहाडी क्षेत्रमा सडक कनेक्टिभिटी :  तराई क्षेत्रमा सडक कनेक्टिभिटी राम्रो भएर नै विगत ५० वर्षको कालखण्डमा ठूलो परिवर्तन भएको छ । त्यस्तै, आर्थिक गतिविधिका लागि उत्तरी भूभाग चीनको तिब्बतसँग पनि यो क्षेत्र जोडिनुपर्ने हुन्छ । पूर्वी नेपालको ताप्लेजुङको टिप्ताला भन्ज्याङ र संखुवासभाको किमाथान्का भन्ज्याङबाट तिब्बतसँग परापूर्वकालदेखि नै पशु र कृषिजन्य सामग्री एवं जडीबुटी, गलैँचा, ऊन, लत्ताकपडाको व्यापार हुँदै आएको छ । तर, कोभिडकालदेखि यी नाका बन्द छन् । हाल दुवै देशबीच पुनः यी नाका खोल्ने सहमति भइसकेको छ ।

सुदूरपूर्वको उत्तर–दक्षिणको मेची करिडोरसँंग जोडिएको सडक ताप्लेजुङको टिप्ताला भञ्ज्याङबाट यन्गा, घुन्सा, ओलाङचुङगोलालगायत स्थानीयको मुख्य व्यापारमा प्रयोग हुँदै आइरहेको थियो । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट ओलाङचुङगोला ५४ किमिको दूरीमा छ । अहिले फक्तालिङ गाउँपालिकको तापेथुक बगरसम्म गाडी पुग्छन् । हिउँदमा इलाडाँडासम्म गाडी चल्छन् । त्यहाँबाट एक दिनको हिँडाइमा ओलाङचुङगोला पुगिन्छ ।

ओलाङचुङगोलाबाट पाँच हजार ९५ मिटरको उचाइमा रहेको टिप्ताला नाकासम्म पुग्न अर्काे एक दिन हिँड्नुपर्छ । टिप्तालापारि चीनको ङिडगी काउन्टीको रिउ भन्ने ठूलो सहरसम्म जान यहाँका स्थानीयलाई पासको व्यवस्था छ । चीन सरकारले टिप्ताला नाकामा पक्की गेटसहित आफूतिर पक्की सडक बनाइसकेको छ । टिप्तालाबाट नेपालतिर ओलाङचुङगोलासम्मको १७ किमि दूरीमा चीन सरकारले चार वर्षअघि नै मोटरेबल ट्र्याक खोलिदिएको छ । ओलाङचुङगोलाबाट फुङलिङतिर झर्दा लेलेकसम्मको दुई किलोमिटर ट्रेक मात्र खोल्न बाँकी छ । अन्य स्थानमा लगभग जिप हिँड्ने ट्र्याक नेपाल सरकारले खोलिसकेको छ ।

यस उत्तर–दक्षिणको बाटोले अर्काे राम्रो कनेक्टिभिटी कायम गरी देशको आर्थिक गतिविधि बढाउनुका साथै भारतलाई पनि चीनसँग जोड्ने काम गर्न सक्ने सम्भावना देखिन्छ । हाल मेचीपारि भारत सिक्किमको नथुला नाकाबाट चीनसँग जोडिएको छ । हाम्रो सडक मार्गको सञ्चालनपछि मेची करिडोरमा टिप्तलादेखि इलामको चारआली हुँदै मेचीनगरको काकरभिट्टा पूर्वी नाकाबाट भारतको पानीट्यांकी (पश्चिम बंगाल) र फूलबारीको बाटोबाट बांगलादेश पनि पुग्न सकिन्छ ।

यस मेची कोरोडोरमा पर्ने जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम र झापाका पर्यटकीय सम्पदासम्म पुग्ने भित्री बाटो पनि निर्माण भई बाह्रैमास आन्तरिक एवं छिमेकी भारत र चीनका साहसी पदयात्री, धार्मिक पर्यटकको आवागमन हुन देखिन्छ । कोशी प्रदेशको मध्य भूभागको लोकमार्गसँगै ग्रेटर हिमालयन ट्रेलको अवधारणामा पदयात्रा हुने गर्छ । त्यसमा कञ्चनजंघा बेस क्याम्पदेखि चोलापास, गोकियो, थामे हुँदै नाम्चे बजारसम्म पुग्ने पदमार्ग खण्ड रहेको छ । यस्ता अनेकौँ अवधारणामा पदमार्ग पूर्व–पश्चिम, दक्षिण–उत्तर हिमालतिर ट्रेकिङ चलेका छन् र यी पदमार्गलाई उत्तर–दक्षिणको मेची करिडोरसँंग जोडिएका सडक सञ्जालले सघाएको छ । 

टिप्ताला ओलङचुङगोलानजिकैबाट बग्ने तमोर घुन्सा, सिबुवा, काबेली, इवा, हिवालगायत खोलानाला मिलेर ठूलो नदी बन्दै धरान पुगेपछि सप्तकोसीमा मिसिन्छ । यो नदी र्‍याफ्टिङ र कायाकिङका लागि महत्वपूर्ण छ । मेची करिडोरको पूर्वमा भारतको दार्जिलिङ, सिक्किमसँगै सिंहलीला नेसनल पार्क जोडिन्छ । त्यस्तै सो करिडोरमा धार्मिक रूपले अत्यधिक पर्यटक आउने गन्तव्य पाथिभरा क्षेत्र पनि पर्छ । त्यसपछि तल सन्दकपुर, इलामको हिल स्टेसन पर्छ । जुन भारतको दार्जिलिङ सहरसँगको पशुपतिनगर नाकामा जोडिन्छ । 

पछिल्ला १० वर्षमा यस करिडोरवरपरका अनेकौँ गन्तव्यमा होटल तथा रेस्टुरेन्ट क्षेत्रमा ठूलो लगानी भई खानपिन र बसोवासको राम्रो व्यवस्था भएको छ । ताप्लेजुङको फुङलिङमा लगभग १० वटा टुरिस्टस्तरका होटल छन् भने पाँचथरमा पाँचवटा । इलाम बजारदेखि कन्याम, फिक्कल हुँदै श्रीअन्तुसम्म ३० वटा टुरिस्ट स्तरका होटल छन् । झापाको दमकमा २० वटा, बिर्तामोडमा लगभग सयवटा टुरिस्टस्तरका होटलसँगै एक पाँचतारे र दुई–तीनतारे होटेल रहेका छन् । काकडभिट्टामा पनि २० वटा टुरिस्टस्तरका होटेलसँगै एक पाँचतारे होटेल सञ्चालनमा छन् ।

उत्तर–दक्षिणका मित्रराष्ट्रलाई सडक मार्गबाट जोड्ने गरी मेची करिडोरको सडक सञ्जालको पूर्णता नै यस क्षेत्रको समृद्धिको आधार हो । सो सडक सञ्जालमा अन्तरदेशीय राजमार्ग बनी उद्योग, व्यापार, कृषि उत्पादनको बजारीकरण, जलविद्युत्को व्यापारसँगै पर्यटन क्षेत्रका विभिन्न गतिविधि हुन सक्ने सम्भावना छ । 

मेची करिडोरमार्फत मित्रराष्ट्र भारतको पश्चिम बंगाल, बिहार, सिक्किम आदि राज्यको पर्यटकीय टुर अपरेटरसँगको संयुक्त प्याकेजमा कलकत्ताकी कालिमाई, गोहाटीकी कामाख्या माता र ताप्लेजुङकी पाथिभरा माताको धार्मिक देवी सर्किट प्याकेज बनाउन आवश्यक छ । श्रीअन्तु इलाम, फुङलिङ बजार, सन्दकपुर हिल स्टेसन घुम्ने प्याकेज, तमोरमा र्‍याफ्टिङलगायत साहसिक खेलकुद र पूर्वाञ्चलका पदयात्राका लागि कञ्चनजंघा बेसक्याम्प ट्रेक, रेडपान्डा ट्रेल, ग्रेटर हिमालय ट्रेल आदि अनेकौँ ट्र्याकिङ प्याकेज बनाई भारतीय, चिनियाँ र बंगालादेशी पर्यटकलाई समेत आकर्षित गर्नु जरुरी छ । 

तसर्थ, एभरेस्ट एक्सप्रेस रोड निर्माणसँगै मेची करिडोरको उत्तर–दक्षिण नाका खोली प्रदेशभित्रका सडक सञ्जाल बाह्रैमास सञ्चालनमा आउन सक्ने बनाउने हो भने कोशी प्रदेशको मात्र नभई सिंगो देशकै समृद्धि र दिगो विकासको ढोका खुल्न सक्ने देखिन्छ । 
(ऐर नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हुन्)