कोभिड संकटपछि नेपाल आउने विदेशी पर्यटकको संख्या आसलाग्दो देखिएको छ । तथ्यांकअनुसार अप्रिलमा कोभिड महामारीयताकै सबैभन्दा धेरै ५८ हजार विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन् । नेपाल सरकारले पनि आगामी आर्थिक वर्षमा १० लाख विदेशी पर्यटक भित्याउने लक्ष्यअनुरूप बजेटमा पर्यटन क्षेत्रको विकास एवं प्रवर्दनका लागि नौ अर्ब ३८ करोड बजेट विनियोजित गरेको छ । महामारीको वर्ष सन् २०२० मा साढे दुई लाख र २०२१ मा डेढ लाख पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएकामा यस वर्ष अप्रिलमै त्यति पर्यटक भित्रिनुलाई पर्यटन व्यवसायीले राम्रो संकेत मानेका छन् । कोरोना महामारीले थला परेको पर्यटन व्यवसायीलाई मासिक भाडा तिर्न र कामदारको तलब दिनसमेत हम्मेहम्मे भएको छ । यतिखेर पदयात्रामा जाने विदेशी, भारतीय तीर्थयात्री र आन्तरिक पर्यटकले प्रमुख पर्यटकीय गन्तव्य भरिभराउ छन् ।
निजी कम्पनीका जहाजले लुक्ला, जोमसोमलगायत गन्तव्यमा सेवा सुचारु गरिरहेका छन्, हिमाली जिल्ला मुगु, हुम्ला, जुम्ला र डोल्पामा उडान गर्दै थिए, तर पूर्वमा सिजन चलेपछि भने त्यताका उडान रोकिएका छन् । नेपाल एयरलाइन्सको एक मात्र जहाज नेपालगन्जबाट उडिरहेको छ । निजी कम्पनीका जहाज जता फाइदा र कमाइ हुन्छ, त्यतै जाने क्रम लामो समयदेखि नेपाली उड्डयन क्षेत्रमा देखिएको छ । जसका कारण पहाडी जिल्लाका नागरिकले सास्ती भोगिरहेका छन् । नयाँ–नयाँ पर्यटकीय गन्तव्य रारा, सिमकोट (मानसरोवर जान), डोल्पा, जुम्ला आदिले आन्तरिक एवं विदेशी पर्यटक पाउने सम्भावना कम हुँदै गएको छ ।
नेपालको उड्डयन क्षेत्रको इतिहासमा फर्केर हेर्ने हो भने नेपाल वायुसेवा निगमले सन् १९५८ मा पटनाबाट काठमाडौँको गौचरनमा उतारेको २८ सिटर डिसी–३ डकोटा जहाजबाट सुरु भएको औपचारिक यात्रु हवाई सेवाले ६४ वर्ष नाघिसकेको छ । ६ दशकको यात्रामा जहाज चढ्ने सौभाग्य धेरै नेपालीले पाएका छन् । विगतमा तत्कालीन शाही नेपाल वायुसेवा निगमले देशभित्र तराईसँगै पहाडको दुर्गम स्थानमा पनि १९ सिटर हवाइजहाज उडाएर आफ्नो सेवा प्रदान गरी दक्षिण एसियामै नेपालको पर्यटन क्षेत्रमा एक अलग पहिचान बनाएको थियो । आज त्यो आन्तरिक सेवा र सुविधालाई निरन्तरता दिन सकिएको छैन ।
सन् १९७० मा तत्कालीन शाही नेपाल वायुसेवा निगमद्वारा भद्रपुर, विराटनगर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढीमा आफ्नो सेवा दिएको सम्झनामा छ । बुबा कञ्चनपुरको नेसनल ट्रेडिङको डिलरको काम गर्नुहुन्थ्यो । विदेशी सामानको थोक व्यापारी भएकाले धनगढी एयरपोर्टमा काठमाडौँबाट विदेशी सामान उतारेको पनि सम्झना ताजै छ । त्यस्तै सन् १९८७ तिर मझगाउँ, कन्चनपुर एयरपोर्टबाट म बैतडीको पाटन एयरपोर्ट गएको र त्यसैताका निगमका बोर्डिङबाट थाइल्यान्ड, दिल्ली र लन्डनसम्म आफन्तहरू पुगेको पनि सम्झना छ ।
देशमा सन् १९९० को खुला अर्थतन्त्रको नीतिले हवाई क्षेत्र पनि खुला प्रतिस्पर्धामा गयो र निजी क्षेत्रका हवाई कम्पनीले फड्को मारी विगत २५ वर्षमा आन्तरिक बजारमा राम्रो पकड जमाउन सफल भए । बुद्ध, यती, श्री आदि निजी हवाई कम्पनीले गुणस्तरीय हवाई सेवा दिइरहेका छन् । तर, आज नेपाल वायुसेवा निगमले केही पहाडी जिल्लामा मात्र आफ्नो सेवा दिइरहेको छ । यस्तो किन भयो ? यस्तो अवस्था आउनुमा को जिम्मेवार छ ? आन्तरिक हवाई सेवामा जहाज थपी बजार बढाउनुको सट्टा उदासीन भई आन्तरिक बजारबाटै निगम किन पलायन भइरहेको छ ?
आन्तरिक बजारको आकलन निगमको बागडोर सम्हाल्ने कार्यकारी समिति र प्रमुखको प्राथमिकतामा नपरी केवल अन्तर्राष्ट्रिय बजार र दिल्लीको रुटमा मात्र सीमित भयो, किनकि निगमको बागडोर काठमाडौँका सीमित व्यापारीको निर्देशनमा सञ्चालित भइरहेको देखिन्छ । विगत ३० वर्षमा हवाई क्षेत्रको आन्तरिक बजार स्वदेशी यात्रुबाट निकै बढेको छ, तर हाम्रो राष्ट्रिय ध्वजावाहक निगमको आन्तरिक बजार प्रत्येक वर्ष कम हुँदै सीमित हुँदै गएको छ ।
निगमले सन् २०१२ मा आन्तरिक बजारलाई सम्बोधन गर्न केही नीतिगत निर्णय गरी चीन सरकारबाट सन् २०१४ मा चीनमा निर्मित दुईवटा, ५६ सिटर र चारवटा साना १७ सिटर जहाजमध्ये चारवटा खरिद गरेकोे थियो भने दुईवटा (एक ठूलो र एक सानो) अनुदानमा पाएको थियो । उसको त्यतिखेरको निर्णयले निगमले अहिले पनि ठूलो आर्थिक भार बोक्दै आइरहेको छ । त्यही समयताका चिनियाँ जहाज किन्न बंगलादेशले पनि आफ्नो विज्ञ टोली पठाएको थियो, तर गुणस्तर र दिगोपनका कारण उसले जहाज किनेन, तर हामी भने चुक्यौँ । हाम्रो आन्तरिक बजार बढ्दै छ र कम्तीमा सय सिट क्षमताको मझौला आकारका एटिआर या फोकर जहाज किन्नुपर्नेमा कुनै मार्केटिङ रणनीतिको दूरदर्शिता नदेखाई हतारमा चिनियाँ जहाज खरिद गर्ने निर्णयले निगम देशको आन्तरिक बजारबाट बाहिरियो ।
निगमको कमजोर रणनीतिको फाइदा निजी क्षेत्रले लिएका छन् । निजी हवाई कम्पनीहरू स्थापित भई हजारौँले रोजगारी र जनताले सेवा पाउनु खुसीको विषय हो । यसबाट राज्यले राम्रै राजस्व पनि पाएको छ । देशको पैसा देशमै रहेको छ, हवाई क्षेत्र फस्टाएको छ । क्षेत्रीय बजारमा मित्रराष्ट्र भारतका केही सहरमा समेत सेवा दिने निजी क्षेत्रको तयारी छ । तर, नेपालका उत्तरमुखी गन्तव्यहरू जुन ट्रेकिङका लागि महत्वपूर्ण छन्, ती गन्तव्यले नयाँ सेवा पाएका छैनन् । आन्तरिक हवाई सेवाको निरन्तरता, सेवाको नयाँ–नयाँ गन्तव्यमा पहँुच र सस्तो भाडा नभएका कारण कैयौँ गन्तव्य ओझेलमा परेका छन् ।
विगत ३० वर्षमा हवाई क्षेत्रको आन्तरिक बजार स्वदेशी यात्रुबाट निकै बढेको छ, तर हाम्रो राष्ट्रिय ध्वजावाहक निगमको आन्तरिक बजार प्रत्येक वर्ष सीमित हुँदै गएको छ
हुन त हवाई सेवामा दक्षिण एसियाको अनुभव त्यति आसलाग्दो छैन । भारतमा पनि सन् १९३२ मा टाटा कम्पनीले टाटा एयरलाइन्सको नामले निजी हवाई सेवा सुरु गरेको कम्पनी पछि सन् १९४६ मा इस्ट इन्डिया पब्लिक कम्पनी भई भारत सरकारले राष्ट्रियकरण गर्यो । सरकारले सन् १९५३ देखि सन् २०२० सम्म कम्पनी चलाई सन् २०२१ मा राष्ट्रिय ध्वजावाहक एयर इन्डिया पुनः टाटा कम्पनीले नै पुनः चलाउन थालेको छ । भारतको दोस्रो ठूलो हवाई सेवा कम्पनी जेट एयर सन् १९९५ देखि सञ्चालनमा रही सन् २०१९ मा आठ हजार करोडको ऋणसहित बन्द भएको छ । त्यस्तै, किङफिसर एयरलाइन्स, एयर सहारा आदि पनि लामो समय सञ्चालनमा रही हाल बन्द भएका छन् । तर, नयाँ हवाई सेवासहित गो एयर, इन्डिगो, इस्पाइस जेट, बिस्तरा आदि हवाई कम्पनीले भारतको आन्तरिक बजारमा आफ्नो सेवा दिइरहेका छन् । भारतको आन्तरिक हवाई बजार पनि प्रत्येक वर्ष बढ्दो छ । विगतमा पटना, वनारस, कोलकाता, लखनउ, दिल्लीबाट नेपाल आउने पर्यटक भित्रिन्थे भने अब हाम्रा सीमासँग जोडिएका सहरमा पनि भारत सरकारले थप विमानस्थल बनाएको छ । पूर्वमा बागडोगरा एयरपोर्ट, दरभंगा एयरपोर्ट, मध्यमा कुशीनगर एयरपोर्ट र सुदूरपश्चिममा बरेली एयरपोर्ट र पिथौरागढ एयरपोर्टहरू सञ्चालनमा आएका छन् ।
नेपालको निजी क्षेत्रले पनि हाल दिल्ली, मुम्बई, कोलकाता, वनारस आदि सहरमा आफ्नो सेवा दिइरहेका छन् । हाम्रो राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले पनि क्षेत्रीय बजारमा जाने योजना बनाइरहेको छ । तर, निगमसँग आन्तरिक बजारका लागि जहाज नै नभई सेवा दिन नसक्ने स्थिति भएकाले यसतर्फ निगम र मन्त्रालयले यथाशक्य ध्यान पुर्याई मझौला खालका ७२ देखि सय सिट क्षमताका कम्तीमा तीनवटा र चारवटा १९ सिटर जहाज तत्काल किन्नु वा लिजमा लिनुुपर्ने देखिन्छ । ती जहाजबाट आन्तरिक बजारमा आफ्नो उपस्थिति बलियो बनाई पहाडतिर साना र तराईतिर ठूला तथा मझौला खालका जहाजबाट सेवा दिँदा नयाँ पहाडी गन्तव्य जस्तै इलाम, सुकेटार (ताप्लेजुङ, पाथिभराका लागि) रारा, डोल्पा, हुम्ला आदि गन्तव्य प्रवद्र्धन गर्नेतर्फ निजी टुर अपरेटरहरूको यथोचित ध्यान पुग्नेछ । तराईका यात्रुले समेत हवाई सुविधा पाउने र हवाई भाडामा पनि प्रतिस्पर्धा हुुन गई हवाई सेक्टरको विकास हुने देखिन्छ ।
हवाई सेवा व्यापारमा नयाँ जहाज र विमानस्थलले मात्र हुँदैन, त्यसमा चढ्ने यात्रुलाई राम्रो, सस्तो, सुरक्षित र निरन्तर सेवा दिन सक्ने, त्यसप्रति आकर्षण बनाइराख्न सक्ने विषय निगमको सेल्स तथा मार्केटिङ टिमको कार्य दक्षतामा भरपर्छ । प्रभावकारी सेल्स तथा मार्केटिङ टिमविना हवाई सेवा कम्पनी दिगो रूपमा चल्न सक्दैन । सर्वसाधारणले नेपाल वायुसेवा निगमको जहाजको आन्तरिक टिकट मोबाइल एपको प्रयोगबाट सीधै किन्न सक्ने व्यवस्थालाई दुरुस्त बनाउनुपर्छ । सस्तो रेटमा निरन्तर सेवा दिने हो भने निगमको हवाई सेवाले राम्रो बजार लिन सक्छ ।
वर्तमान परिस्थितिमा सरकारले जेठ २०७९ देखि देशमा दुईदिने बिदाको सकारात्मक कदम चालेको छ । यस कदमले आन्तरिक पर्यटनमा ठूलो मद्दत पुग्नेछ । लामो समयदेखि पर्यटन क्षेत्रले दुईदिने बिदाको माग गरेको विषय अर्कै प्रसंगमा भए पनि सरकारले कार्यान्वयन गरेर देशको अर्थतन्त्रलाई सबल बनाउन महत्वपूर्ण कदम चालेको छ । एक दिन थप बिदाले आन्तरिक पर्यटनमा गति दिनेछ । साथै, सामाजिक दृष्टिकोणले समेत परिवारमा सकारात्मक प्रभाव पार्न सहयोग गर्न सक्ने देखिन्छ ।
आजभोलि काठमाडौँका बासिन्दा पोखरा, चितवन तथा दोलखाका होटलमा बिदा मनाउन पुग्ने गर्छन् । हामी चाहन्छौँ, यस प्रकारको माहोल देशैभरि होस् । साथै, छिमेकी भारतीय पर्यटक पनि विराटनगर, काकडभिट्टा हुँदै इलाम, गुफापोखरी, पाथीभरा आदि ठाउँमा पुगून् । वीरगन्ज, सिमराबाट दामन, मार्खु, पोखरा आदि ठाउँमा पुगून् । भैरहवाबाट माथि पाल्पा, स्वर्गद्वारी, गुल्मी आदि ठाउँमा पुगूुन् । नेपालगन्जबाट जुम्ला, रारा, हुम्ला आदि ठाउँमा पुगून् । धनगढी, महेन्द्रनगरबाट डडेल्धुरा, पाटन, अछाम, खप्तड आदि ठाउँमा पुगून् । यस प्रकारका गतिविधिले हाम्रो थला परेको पर्यटन क्षेत्रको छिटो पुनरुत्थान हुन सक्छ ।
हालको स्थानीय निकायको चुनावमा अत्यन्त महत्वपूर्ण एजेन्डा बोकेका प्रतिनिधिले आफ्नो पालिकाका प्रमुख पर्यटकीय गन्तव्यमा इन्टरनेट सेवा निःशुल्क दिने र सवारीसाधनको राम्रो पार्किङको व्यवस्था गर्न सक्नुपर्छ । यसले पर्यटकबाट गन्तव्यको प्रचारप्रसार हुनुका साथै स्थानीय नागरिकले मोबाइल एप चलाई सोसल मिडियाद्वारा आफ्नो गन्तव्यको व्यापक प्रचारप्रसार गर्नुका साथै आफ्नो निजी व्यापारमा पनि सकारात्मक प्रभाव पार्न सक्छन् ।
कुनै पनि स्थानमा पर्यटकीय गतिविधि गर्दा पर्यटकको यातायात र होटलमा हुने खर्चको प्रमुख भूमिका रहन्छ । देशभरि होटल, रिसोर्ट, लज र होमस्टेले राम्रो दररेटमा सेवा दिइरहेका छन् तर मुख्य तगारो राम्रो यातायात सेवा नै हो । त्यसका लागि आन्तरिक हवाई सेवा सहज र सुलभ रूपमा विस्तारित हुनु जरुरी छ । देशमा आन्तरिक विमान कम्पनीबाट हवाई सेवा लिनेको संख्या निकै राम्रो छ । सन् २०१८ मा यात्रुको आगमन र प्रस्थानको कुल संख्या २८ लाख ४८ हजार थियो, सन् २०१९ मा सर्वाधिक ३३ लाख सात हजार पुगेको थियो । तर, कोभिड–१९ ले गर्दा सो संख्या सन् २०२० मा १६ लाख ७३ हजारमा झर्यो । तर, समग्र रूपमा नेपालको आन्तिरिक हवाई बजार बढ्दो क्रममै छ । नेपाल वायुसेवा निगम र नेपाल सरकारले चीन सरकारबाट प्राप्त ६ वटा जहाजबारे ऋणमुक्त हुन राजनीतिक सहयोगको प्याकेज मागी अघि बढ्नुपर्छ र आन्तरिक बजारका लागि प्राविधिक रूपले सबल र आवश्यक जहाज तत्काल किन्ने वा लिजमा लिने कार्य अघि बढाउनु जरुरी छ । (ऐर नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हुन्)