नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गर्दा सदस्यता शुल्क र लेबीबाहेक कुनै रकम नउठाउन पार्टीमातहतका सबै कार्यसमितिलाई निर्देशन दिएको छ। पार्टी केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै मातहतका कार्यसमितिहरूलाई यस्तो निर्देशन दिएको हो।
आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारको नाम सिफारिस गर्दा कतिपय पार्टी निकायबाट रकम माग भएको जानकारी आएको भन्दै कांग्रेसले विधानविपरीत रकम नउठाउन निर्देशन दिएको हो। ‘कतिपय पार्टी निकायबाट आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्दा नगद माग गरिएको भन्ने जानकारी प्राप्त हुन आएकाले केन्द्रको गम्भीर ध्यानाकर्षण भएको छ,’ निर्देशनमा भनिएको छ।