मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ भदौ ६ सोमबार १२:०६:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

ठेकेदारको ढिलासुस्तीले अस्पताल भवन अलपत्र, मजदुरकाे बिचल्ली

Read Time : > 2 मिनेट
२०७९ भदौ ६ सोमबार १२:०६:००

रोल्पा अस्पतालको निर्माणाधीन भवन ठेकेदारको ढिलासुस्तीका कारण अलपत्र परेको छ। साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २९ करोड ५१ लाख २२ हजार लागतमा असोज ०७५ मा आशिष श्री जयन्ती निर्माण कम्पनीले जिम्मा पाएको थियो। आर्थिक वर्ष ०७६–७७ को असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने सम्झौता भए पनि हालसम्म सम्पन्न भएको छैन।

५० शय्याको अस्पताल सञ्चालनका लागि निर्माण थालिएको भवन नबन्दा जिल्ला अस्पतालको सेवा १५ शय्यामैै सीमित भएको छ। ०४१ सालमा निर्माण भएको अस्पतालको पुरानो भवनको भित्ता जीर्ण बनेको छ भने टिनको छानो खिया लागेको छ।

अस्पताल भवन बनेपछि धेरै विशेषज्ञसहितको सेवा पाइने जिल्लावासीको अपेक्षा भने अन्योलपूर्ण बनेको छ। भवनको करिब ८० प्रतिशत काम सकिए पनि बाँकी काम कहिले सकिन्छ भन्ने कुनै यकिन नभएको अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले बताए। ‘सुरुमा अपेक्षित रूपमै निर्माणको काम अगाडि बढ्दा छिट्टै आधुनिक भवनबाट सेवा पाइने आशा थियो,’ अध्यक्ष आचार्यले भने, ‘करिब–करिब सकिने अवस्थामा किन अलपत्र पारियो, र अब कहिले सम्पन्न हुन्छ निर्माण व्यवसायीले रोल्पाली सेवाग्राहीलाई जवाफ दिनुपर्छ।’

आशीष श्री जयन्ती निर्माण कम्पनीका सञ्चालक खगेन्द्र बुढाले भने निर्माणको काम जारी रहेको जिकिर गरेका छन्। ‘कोरोनालगायत विभिन्न कारणले केही ढिलो भएको हो,’ निर्माण व्यवसायी बुढाले भने, ‘काम अहिले पनि निरन्तर चलिरहेकाले अब धेरै समय कुर्नुपर्दैन।’ स्तरवृद्धि भई अस्पतालले ५० शय्याको स्वीकृति पाउनुका साथै आवश्यक मेसिनरी सामान, चिकित्सक, स्वास्थ्यकर्मी र अन्य जनशक्तिको समेत स्वीकृति भइसकेको छ। तर, भवन अभावमा सेवा विस्तार हुनसकेको छैन।


दबाब पनि निरर्थक
प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले निर्माण व्यवसायीलाई निरन्तर दबाब दिए पनि गरेजस्तो गर्ने र फेरि अलपत्र पार्ने क्रम नरोकिएको बताए। ‘मैले पटकपटक निर्माण व्यवसायीलाई भन्दै आएको छु। जिल्लाबाट प्रतिनिधित्व गर्ने मुख्यमन्त्री, सांसद सबैलाई ध्यानाकर्षण पनि गराएको छु। तर, उल्लेख्य प्रतिफल पाउन सकिएको छैन,’ प्रजिअ नवराज सापकोटाले भने, ‘समयमै काम नसक्ने निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने मान्यता राख्छु, तर हामी चुकिरहेका छौँ।’

सापकोटाका अनुसार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी रोल्पा आएको अवस्थामा भवनको अनुगमन गरिएको थियो। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा गरिएको ढिलासुस्ती र लापरबाही रोल्पाली राजनीतिक नेतृत्वका लागि ‘लाज’को विषय हुनुपर्ने नागरिक अगुवाहरू बताउँछन्। रोल्पा अस्पताल भवनसहित जिल्लाको समग्र विषयमा नागरिक समाजले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षणसमेत गराउँदै आएको छ।

ज्याला नपाएपछि हारगुहार गर्दै मजदुर
रोल्पा अस्पताल भवन निर्माणमा २५ रुपैयाँ वर्गफुटमा काम गर्ने गरी प्लास्टरको जिम्मा पाएका थिए सप्तरीका सुमन साहले। कामका लागि उनले पूर्वीतराईकै विभिन्न जिल्लाबाट मजदुरहरू रोल्पा ल्याए। सुरुमा मुख्य ठेकेदारबाट काम गरेबापत आठ लाख रकम पनि पाए। तर, काम बढ्दै जाँदा पाउनुपर्ने रकम मुख्य ठेकेदारले रोकिदिएपछि सुमन साहको बिचल्ली भयो। ‘तीन लाखमा सप्तरीमा जग्गा धितो राखेर कामदारको अलिअलि समस्या टारिदिएँ, तर त्यही तीन लाख फिर्ता गर्न नसक्दा जग्गा गुमाएँ,’ साहले भने, ‘मैले ल्याएको कामदारले मसँग माग्ने नै भए, मुख्य ठेकेदारले नदिएपछि मैले के गर्नु हजुर ?’

साहले अति भएपछि स्थानीय प्रहरीमा उजुरीसमेत दिए। ‘प्रहरीकोमा ठेकेदारको प्रतिनिधि हामी सबै बसेर १० दिनको म्याद दिएको थियो। २० दिन पुग्न लागिसक्यो, भोलि–भोलि मात्र भन्छ। भोलि कहिले आउँछ र पैसा पाउनु ?’ साहले भने। कामदारलाई चामल प्लास्टिकमा पैँचो मागेर खुवाउने गरेको गुनासो उनले सुनाए। 

प्लम्बिङको जिम्मा भारत उदिसाका प्रियरञ्जन प्रधानले ठेकेदार खगेन्द्र बुढासँग काम गर्न थालेको लामो समय भइसक्यो। पैसाको अभावमा उनी घर नगएकै दुई वर्ष पुग्न लागिसक्यो। ‘आमाबुबा बिरामी हुनुहुन्छ। पैसा पठा भन्नुहुन्छ, ठेकेदारले दिए पो पठाउनु ?’ प्रियरञ्जन भन्छन्, ‘कति दुःखमा काम गरियो। मेरो ३०–४० लाख फेसेको छ।’ 

मजदुरी गरिरहेका रोल्पाकै धनकुमारी डाँगीले पनि ज्याला नपाएकै कारण १५ दिन काम रोकेको र पैसा आउँछ भनेर बोलाएकाले काम गर्न सुरु गरेको बताइन्। ‘हामीलाई आश्वासन मात्र दिन्छन्, पैसा दिँदैनन्,’ डाँगीले भनिन्, ‘काम गरेको पसिनाको मूल्य नपाइने हो भने के काम गर्नु ?’ अर्का कामदार बलबहादुर डाँगीले पनि ज्याला नपाएकै कारण दैनिकी चलाउन मुस्किल परेको बताए। उनीहरूले ज्याला नपाएकोबारेमा भन्न खोजे पनि झनै ठेकेदारले अहिलेसम्मको पैसा नदिने हो कि भन्ने डरले भन्न नसकेका बताए।