न्याय खोज्नेहरूको ‘जक्सन’ बन्दै माइतीघर, ६ वर्षमा ३४२७ विरोध र धर्ना
लन्डनको हाइडपार्कस्थित ‘स्पिकर कर्नर’ जस्तै बन्दै माइतीघर मण्डला
सात लाख ऋणको ३५ लाख ५० हजार चुक्ता गरिसक्दा पनि गाउँका खुँखार साहुकार ५५ वर्षीय जगदीश कानु बानियाँले थप ३२ लाख मागेपछि प्रतापपुर गाउँपालिका– २ नवलपरासीका रामसुरत तेली गुप्ता तीन सातादेखि माइतीघर मण्डलामा धर्नामा छन् । रामसुरतका साथमा छन्– साहुकारबाट पीडित उनीजस्तै अन्य एक सय नौजना ।
प्रत्येक बिहानको ठीक ११ बजे उनीहरू माइतीघर मण्डलास्थित सडक पुग्छन् । झोलाबाट ‘प्लेकार्ड’ र ब्यानर झिक्छन् । ब्यानर सडकमा ओछ्याउँछन्, ‘प्लेकार्ड’लाई हातले ठड्याउँछन् र धर्नामा बस्छन् । धर्ना साँझको ५ बजेसम्म चल्छ । उनीहरूलाई विश्वास छ– यसपटकको धर्ना खेर जानेछैन ।
धर्नालाई नेतृत्व दिइरहेका मिटरब्याज तथा ठगीविरुद्धको किसान मजदुर संघर्ष समितिका अध्यक्षसमेत रहेका रामसुरतले नयाँ पत्रिकासँग भने, ‘साहुकारबाट हामी वर्षौँसम्म पीडित बन्यौँ । ऋणबाट मुक्ति पाउन सबै उपाय अपनायौँ, तर सकेनौँ । हाम्रो पीडा सिंहदरबारलाई सुनाउन माइतीघर मण्डलामा आएका छौँ । आशा छ– यसपटकको हाम्रो धर्ना खेर जानेछैन ।’
माइतीघर मण्डलामा भेला भएर आवाज उठाउँदा न्याय मिल्ने उनीहरूको आशा केही हदसम्म जायज छ । यसअघिका नजिरले यही भन्छ । सडक र सदन दुवै ठाउँबाट नसुल्झिएका अड्चन पनि मण्डलाबाट बोलेपछि सुल्झिएका छन् ।
अनेक संघर्षबाट पनि न्याय नपाएपछि महोत्तरी जलेश्वरकी निहारिका राजपुतले माइतीघरबाट विरोध सुरु गरेपछि देशव्यापी मुद्दा बनेको छ । २७ जेठदेखि सुरु भएको उनको विरोध आमरण अनशन हुँदै आत्मदाह प्रयासको निर्मम चरणसम्म पुगेको छ । जसले सरकारलाई सोच्न गम्भीर बनायो । र, अहिलेसम्म निहारिकाको पीडा नसुनेको सरकारले उनीमाथि बलात्कारको आरोप लागेका शिवराज श्रेष्ठलाई पक्राउ गरि अनुसन्धान थालेको छ ।
त्यस्तै, १६ मंसिर ०७७ मा बेपत्ता नेपालगन्जकी निर्मला कुर्मी हत्या अनुसन्धानको माग गर्दै आन्दोलनमा उत्रिएकी नागरिक अभियन्ता रुवी खानको आवाज होस् वा १७ वैशाख ०७६ मा ल्याइएको गुठी विधेयकविरुद्ध काठमाडौंका रैथाने नेवारले गरेको विरोध, माइतीघरको छिँडीबाट घन्किएपछि मात्रै सिंहदरबारले सुन्यो । त्यसो त चिनी मिलबाट ठगिएका तराईका विभिन्न जिल्लाका उखु किसानको पैसा पनि माइतीघरकै आन्दोलनबाट केही हदसम्म भए पनि उठेको ज्वलन्त उदाहरण छ ।
१४ असार ०७५ मा तत्कालीन सरकारले माइतीघर मण्डलालगायत उपत्यकाका १३ स्थानमा विरोध र सभा–सम्मेलन गर्न नपाउने उर्दी नै जारी गरेको थियो । तर, त्यसविरुद्ध मण्डलामै भएको आन्दोलनपछि सरकार पूर्ववत् निर्णयबाट पछि हट्यो ।
थापाथलीतर्फ जाने मोडदेखि नयाँ बानेश्वरतर्फ आउने सडकको करिब ५० मिटर लम्बाइ र पाँच मिटर चौडाइ । दैनिक कुनै न कुनै विरोधका कार्यक्रम हुने माइतीघर मण्डलास्थित ‘विरोध स्थल’को भौतिक आयतन यति नै हो । तर, यहाँ हुने विरोधको आयतन भने मुलुकभर फैलिन्छ । त्यसैले राज्यसँगका असन्तुष्टी प्रकट गर्ने र न्यायका लागि आवाज बुलन्द गर्न माइतीघर मण्डला रोज्ने क्रम बढिरहेको छ । प्रहरीको तथ्यांकले पनि यही भन्छ ।
५ पुस ०७७ मा केपी ओली नेतृत्वको सरकारले संसद् विघटन गर्यो । राजनीतिक दलले त्यसको विरोध माइतीघर मण्डलाबाटै सुरु गरे । त्यही आन्दोलनले ओली सरकारलाई विस्थापनसम्म गरायो । हाल निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले १४ कात्तिक ०७८ बाट सुरु गरेको आन्दोलनका सबै कार्यक्रम पनि माइतीघर मण्डलाकेन्द्रित नै थिए ।
माइतीघर मण्डलाबाट बोलेपछि सिंहदरबारले सुन्ने विश्वासकै कारण गत ९ जेठमा जाजरकोट भेरी नगरपालिका– ४ देखि ४१ वर्षीया उर्मिलादेवी विक केही सहयोगी लिएर काठमाडौं आइन् । प्रेमिकासँग अन्तर्जातीय विवाह गर्न खोजेका छोरा नवराज विक र उनका पाँच साथीको १० जेठ ०७७ मा हत्या भएपछि उनी न्याय माग्दै माइतीघरसम्म आएकी थिइन् । जिल्लामा रहेर पटक–पटक चिच्याउँदा नसुनेको सिंहदरबारले माइतीघरबाट बोलेपछि उनको आवाज सुन्यो । गृहमन्त्री बालकृष्ण खाणसँग वार्ता भएपछि उनी न्याय पाउने आशामा अहिले घर फर्किएकी छिन् । त्यतिवेला सिंहदरबारमा भेटिएकी उर्मिलाले नयाँ पत्रिकासँग भनेकी थिइन्, ‘छोरालाई मारेर भेरी नदीमा बगाए । दुई वर्ष बित्यो । अझै न्याय पाउन सकिएन । सोही पीडा सुनाउन हामी माइतीघर मण्डला आउन बाध्य भयौँ । अहिले दोषीलाई सजाय दिने आश्वासन सरकारबाट पाएका छौँ । आशा छ– हामीले न्याय पाउनेछौँ ।’
जनताबाट प्रत्यक्ष निवर्धाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने व्यवस्थाको माग गर्दै गत आइतबारबाट कीर्तिपुर नगरपालिका– ७ भाजंगलका ३८ वर्षीय नवीन सुनाम अहिले माइतीघर मण्डलामै धर्नामा छन् । स्पिकर बोकेर कीर्तिपुरबाट उनी बिहान ११ बजेभित्रै माइतीघर आइपुग्छन् । झोलाबाट ब्यानर र प्लेकार्ड झिक्छन्, स्पिकरमा पेनड्राइभ घुसाउँछन् र राष्ट्रिय गीत बजाउँछन् । तीन घन्टा धर्नामा बसेर घर फर्किने नियमित ‘रुटिन’ बनाएका उनलाई पनि विश्वास छ– माइतीघर मण्डलाबाट गरेको विरोध सिंहदरबारले देख्नेछ र माग पूरा हुनेछ ।
टन्टलापुर घाम छेक्न हातको प्लेकार्ड टाउकोमा राखेका उनले भने, ‘मेरा माग अवश्य पूरा हुनेछन् । त्यही भएर म धर्नामा उत्रिएको हुँ । माग पूरा नहुन्जेल धर्ना जारी रहनेछ । मेरो आवाज सरकारले अवश्य सुन्नेछ ।’
न्याय खोज्नेहरूको ‘जक्सन’ बन्दै माइतीघर, ६ वर्षमा ३४ सय २७ विरोध र धर्ना
थापाथलीतर्फ जाने मोडदेखि नयाँ बानेश्वरतर्फ आउने सडकको करिब ५० मिटर लम्बाइ र पाँच मिटर चौडाइ । दैनिक कुनै न कुनै विरोधका कार्यक्रम हुने माइतीघर मण्डलास्थित ‘विरोध स्थल’को भौतिक आयतन यति नै हो । तर, यहाँ हुने विरोधको आयतन भने मुलुकभर फैलिन्छ । त्यसैले माइतीघर मण्डलाकेन्द्रित विरोध बढिरहेका छन् । प्रहरीमा दर्ता तथ्यांकले पनि यो तथ्यलाई पुष्टि गर्छ ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारले ६ वर्षयता माइतीघर मण्डलामा भएका विरोधका सबै कार्यक्रमको तथ्यांक राखेको छ । तथ्यांकअनुसार ०७३/७४ मा मण्डलमा विरोध र धर्नाका दुई सय ५३ कार्यक्रम भएका थिए । ०७४/७५ मा ३७.९४ प्रतिशतले बढेर तीन सय ४९ विरोध कार्यक्रम भए । त्यस्तै, ०७५/७६ मा विरोधका ६ सय ७५ कार्यक्रम भए, जुन अघिल्लो वर्षको तुलनामा ८८.२५ प्रतिशतले धेरै हो ।
तथ्यांकअनुसार ०७६/७७ मा माइतीघरमा विरोध र धर्नाका पाँच सय १४ कार्यक्रम भएका थिए । कोरोना महामारीकै वर्ष ०७७/७८ मा झन् धेरै कार्यक्रम भएका देखिन्छन् । उक्त वर्ष माइतीघरमा सात सय आठ विरोधका कार्यक्रम भए । ०७८/७९ मा अझै बढेर नौ सय २८ विरोध तथा धर्ना भए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनाली मैतीघर मण्डलामा पछिल्ला दिन दैनिक पाँचदेखि सात वटासम्म विरोधका कार्यक्रम हुँदै आएको बताउँछन् । उनी भन्छन्, ‘मैतीघर मण्डलामा धर्ना दिने, अनशन बस्ने, जुलुस प्रदर्शन गर्ने जस्ता विरोधका कार्यक्रम बढेका छन् । यस्ता कार्यक्रम दैनिक पाँचदेखि सात वटासम्म हुने गरेको हामीसँग रेकर्ड छ।’
‘माइतीघर’मा अनि मिसियो ‘मण्डला’
०५८ मा नेपालमा ११औँ सार्क शिखर सम्मेलन हुने भयो । काठमाडौंलाई झकिझकाउ बनाउनुपर्ने भयो । काठमाडौं महानगरपालिकाको मेयर थिए– केशव स्थापित । काठमाडौं सिँगार्ने जिम्मा सरकारले उनैलाई दियो ।
हाल मण्डला रहेको त्रिकोण जमिनमा व्यक्तिका निजी घर थिए । मेयर स्थापित उक्त घर पहिलेदेखि नै हटाउन चाहन्थे । तर, सकिरहेका थिएनन् । सार्क सम्मेलन उनका लागि अवसर बन्यो । २४ घन्टाभित्र उनले जमिन खाली गरे । जमिनमा केही नयाँ गर्ने सोच पलायो । तर, गर्ने के ?
चर्चित कलाकार थिए पाटनका वत्सगोपाल वैद्य । स्थापितले उनीसँग सल्लाह गरे । खाली जमिनको बीचभागमा महायानी बौद्ध तन्त्र विधिअनुसारको मण्डला र ढुंगेधारा बनाउने निर्णय भयो । अन्ततः १० देखि १५ दिनको बीचमा भव्य रंगीन मण्डला तयार भयो । दक्षिणतर्फ ढुंगेधारा बनाइयो ।
राजा वीरेन्द्रको वंशनाशपछि आन्दोलनका कार्यक्रम जताजतै हुन थाले । विशेषगरी रत्नपार्क आन्दोलनको केन्द्र थियो । यातायात अस्तव्यस्त हुने र दरबार पनि नजिक भएको हुँदा तत्कालीन सरकारले रत्नपार्कसहित अन्यत्र निषेधित क्षेत्र घोषणा गर्यो । माइतीघर मण्डलादेखि नयाँ बानेश्वरतर्फ जाने सडकमा भने आन्दोलन गर्न पाइने भयो ।
अब सानोतिनोदेखि विरोधका ठूला कार्यक्रम माइतीघर मण्डलामै केन्द्रित हुन थाले । ०६२/६३ को जनआन्दोलन पनि माइतीघर मण्डलाबाटै सुरु भयो । आन्दोलनमा सहभागी हुनेहरूले कहाँ जाने भन्दा सजिलोका लागि ‘मैतीघर मण्डला’ भन्न थाले । त्यही वेलादेखि माइतीघरमा मण्डला मिसिन थाल्यो । सांस्कृतिक अभियन्ता सुन्दर भन्छन्, ‘माइतीघर र मण्डला फरक–फरक हुन् । माइतीघर र मण्डला दुवैको आ–आफ्नै अस्तित्व छ । नामकरण हुनुमा दुवैले मौलिक तथ्य बोकेका छन् । ०६२/६३ को जनआन्दोलनपछि ‘माइतीघर मण्डला’ संयुक्त रूपमा भन्न लागिएको हो । यो क्रम जारी छ ।’
लन्डनको हाइडपार्कस्थित ‘स्पिकर कर्नर’ र माइतीघर मण्डला
सांस्कृतिक अभियन्ता मल्ल के सुन्दर माइतीघर मण्डलालाई लन्डनको ‘हाइडपार्क’स्थित ‘स्पिकर कर्नर’सँग तुलना गर्छन् । सो पार्कस्थित ‘स्पिकर कर्नर’ लन्डनवासीको आक्रोश पोख्ने थलो मात्रै होइन, सरकारलाई घुँडा टेकाउने खुला सदन पनि हो । पछिल्ला दिन माइतीघर मण्डला सोही रूपमा विकास हुँदै गएको उनको भनाइ छ ।
उनी भन्छन्, ‘लन्डनको हाइडपार्कमा एउटा विरोध गर्ने ठाउँ छ । जसलाई संसारले ‘स्पिकर कर्नर’का नामले चिन्ने गर्छ । विरोधका स–सानादेखि ठूला–ठूला कार्यक्रमसम्म सोही कर्नरमा हुने गर्छन् । किनकि कर्नरमा उभिएर विरोध गर्न कसैको अनुमति लिनुपर्दैन । माइतीघर मण्डला पनि अहिले त्यही रूपमा विकास हुँदै गएको छ ।’
लन्डनको अक्सफोर्ड स्ट्रिट मार्बल आर्कमै छ– हाइडपार्क । जसलाई रोयलपार्क अफ लन्डन पनि भनिन्छ । सोही पार्कको दक्षिण–पूर्वी कुनामा छ– आक्रोश पोख्ने थलो । जुन ‘स्पिकर कर्नर’का नाममा चर्चित छ । जहाँ विनाअनुमति सर्वसाधारणले मन लागेको विषयमा बोल्न पाउँछन् ।
सोही पार्कबाट कम्युनिस्ट विचारक कार्लमाक्र्सले आफ्नो धारणा सार्वजनिक गरेका थिए । रसियाका क्रान्तिकारी नेता भ्लादिमिर लेनिनले पनि कर्नरको सदुपयोग गरेका थिए । इंग्ल्यान्डका चर्चित साहित्यकार जर्ज अरवेलले पनि कर्नरमा पुगेर भाषण गरेका थिए ।
उक्त पार्क रहेको ठाउँ विगतमा खुला क्षेत्र थियो । कर्नरनजिकै कुख्यात ‘ट्याबर्न ग्यालो (शूलीमा चढाउने ठाउँ) थियो । सन् ११९६ मा त्यस ठाउँमा ग्यालो स्थापना गरिएको थियो । जहाँ राजबन्दीहरूलाई पालैपालो फाँसी दिने गरिन्थ्यो ।
फाँसी चढ्नुअघि उनीहरूलाई मनमा लागेको भवना व्यक्त गर्न लगाइन्थ्यो । यसरी व्यक्त भएका भावना कति सरकारविरोधी हुन्थे भने कति व्यवस्थाविरोधी । फाँसी दिने दिन उक्त ठाउँमा मानिसको भिड लाग्थ्यो । कति त टिकट काटेर फाँसी दिएको हेर्न पुग्थे । उनीहरूका लागि छुट्टै बस्ने सुविधासमेत हुन्थ्यो ।
फाँसी चढाउने प्रथा अमानवीय देखिन थाल्यो । कतिपय सहभागीले फाँसीको विरोध पनि गर्न थाले । त्यसपछि राजबन्दीलाई फाँसीमा चढाउनुको सट्टा जेलमा बन्दी बनाएर राख्ने चलन सुरु भयो । जसलाई ‘न्यु गेट प्रिजन’ भनेर चिनिन्छ । सन् १७८३ मा भने ग्यालो भत्काइयो । यस अवधिसम्म ५० हजारभन्दा धेरै सर्वसाधारणलाई त्यस ठाउँमा ल्याएर फाँसी दिइसकिएको थियो । तर, ग्यालोनजिक गएर विरोध गर्ने चलन भने चलिरह्यो ।
सन् १८७२ मा बेलायतको संसद्ले उक्त ठाउँलाई ‘पब्लिक स्पिकिङ’ क्षेत्र बनाउन अनुमति दियो । र, उक्त ठाउँ ‘स्पिकर कर्नर’का रूपमा विश्वविख्यात बन्यो ।
फिब्ब: ख्य:देखि माइतीघरसम्म
फिब्ब: ख्य: अर्थात् बालुवाको चउर । माइतीघर मण्डलाले आधुनिक रूप लिनुअघि रैथाने नेवार यस ठाउँलाई फिब्ब: ख्य: नामले चिन्थे । किनकि टुकुचा खोलाको किनार आसपास पर्ने उक्त क्षेत्र बालुवा नै बालुवाले भरिएको थियो । खेर गएका नवजात शिशु सोही आसपास गाडिन्थे । भद्रकालीतर्फ उक्लिने टुकुचाकै किनारछेउमा रैथाने नेवारहरूले फिब्बः अजिमा (मन्दिर) स्थापना गरेका थिए । अजिमा थानमा नेवारहरू प्रत्येक वर्ष पूजा लगाउने गर्थे । हाल उक्त ठाउँ सैनिक मुख्यालय हाताभित्र पर्छ । उक्त ठाउँमा फिब्बः अजिमा थान अझै पनि रहेको सांस्कृतिक अभियन्ता मल्ल के सुन्दर बताउँछन् ।
‘हालको माइतीघर मण्डला भएको ठाउँलाई नेवारी भाषामा फिब्ब: ख्य: भन्थे । यो भनेको बालुवाको चौर हो । किनकि पहिला त्यो ठाउँमा बालुवैबालुवा भएको चौर थियो,’ उनले भने, ‘उक्त ठाउँमा खेर गएका नवजात शिशु गाड्ने चलन थियो । टुकुचा खोलाछेउमा भने फिब्बः अजिमा थियो । त्यहाँ नेवारहरू पूजा गर्थे । अहिले त्यो ठाउँ सैनिक ब्यारेक हाताभित्र पर्छ । त्यसवेलाको अजिमा अझै पनि देख्न सकिन्छ ।’
बढ्दो सहरीकरणसँगै बलौटे चौर ठूला–ठूला घरले भरिन थाले । टुकुचा खोलातर्फको भाग सैनिक मुख्यालयले अधिग्रहण गर्यो । केही ठाउँमा सडक बने । बाँकी चौर सरकारको नाममा सारिए । हाल माइतीघर मण्डला रहेको जग्गा पनि निजी घरले भरिएका थिए । सोहीमध्ये एउटा घरमा थियो, सुमाञ्जली फिल्मको ब्यानरमा बनेको नेपाली कथानक चलचित्र ‘माइतीघर’को निर्माण कार्यालय । कार्यालयबाहिर टाँगिएको थियो– सोही चलचित्रको पोस्टर ।
यही समयतिर काठमाडौंका व्यापारी लुँपौरन्त तुलाधर र करुणरत्न तुलाधरले नेपाल ट्रान्सफर सर्भिस नामको यातायात खोले । रत्नपार्कदेखि भद्रकाली–सिंहदरबार–माइतीघर–थापाथली हुँदै ट्रान्सफरका बस पाटनढोका रुटमा चल्न थाले । बस यात्रुले खचाखच भरिन्थे । शुल्क लिन र यात्रु व्यवस्थापन गर्न सबै बसमा सहचालक राखिएका थिए । बस हालको माइतीघर पुग्न लाग्दा यात्रु चढाउन र ओराल्ने सहचालकले उक्त ठाउँलाई सजिलोका लागि ‘माइतीघर, माइतीघर’ भन्न थाले । अन्तरालमा फिब्ब: ख्य: अर्थात् बालुकाको चौर, माइतीघर नामबाट स्थापित बन्यो ।
सांस्कृतिक अभियन्ता सुन्दर भन्छन्, ‘नरशमशेरको लगानीमा बन्न लागेको ‘माइतीघर’ चलचित्र बिएस थापाले निर्देशन गर्ने भए । चलचित्रमा माला सिन्हा र सिपी लोहनी मुख्य भूमिकामा हुने भए । चलचित्र निर्माणका लागि बलौटे चौरमा बनेको एउटा घरमा कार्यालय खोलियो । बाहिर चलचित्रको पोस्टर टाँगियो । त्यही समय रत्नपार्कदेखि पाटनढोकासम्म बस चल्न थाल्यो । बलौटेचौर पुग्दा सहचालकले सजिलोका लागि माइतीघर–माइतीघर भन्न थाल्यो । पछि त्यही ठाउँ नै माइतीघरको नामले चर्चित भयो ।’