धादिङ–मलेखु कालुपाण्डे मार्ग, हरेक डेढ दुई सय मिटरमा ठूलाठुला घुम्ती । घुमाउरो बाटो, ठाउँठाउँमा भास्सिएको सडक । हरेक वर्षझैँ यस वर्ष पनि धादिङको नीलकण्ठ नगरपालिका– ८, दारेगौडामा सडक भासिएको छ । तर, मर्मतसम्भारको अभावमा दैनिक सयौँ सवारीसाधनहरू जीर्ण सडकमा जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् ।
दारेगौडामा हरेक वर्ष वर्षाको समयमा सडक भासिने तथा पहिरोले पुरिने गरे पनि जोखिम मोलेर सडक सञ्चालन गरिँदै आएको स्थानीय अगुवा भरत ढुंगानाले बताए । ‘दिनमा २-५ पटक ओहोरदोहोर गर्नुपर्छ । तलबाट खोलाले सडक तानिरहेको छ । माथिबाट पहिरो झरिरहेको हुन्छ,’ उनले भने, ‘यो धादिङबेँसी प्रवेश गर्ने मुख्य बाटो हो । न सरकारले देखेको छ न त अर्काे विकल्प नै छ । त्यसैले जोखिम मोलेरै हामी यात्रा गर्न बाध्य छौँ,’ उनले भने ।
शुक्रबार काभ्रेदेखि धादिङ आएकी सन्ध्या रञ्जितकारले कालुपाण्डे मार्गको यात्रा जोखिमपूर्ण रहेको बताइन् । राजमार्गका ठूल्ठूला खाल्डा, वर्षातको वेला कतै भासिएका, कतै पहिरोले पुरिएका सडकले यात्रालाई कठिन बनाएको उनको भनाइ छ । ‘करिब ६५ भन्दा बढी जिल्लाका नागरिक राजधानी प्रवेश गर्ने मार्गमा गाईजात्रा छ । धादिङ–मलेखु सडक झन् घुमाउरो, रिँगटा नै लाग्छ,’ उनले भनिन्, ‘त्यसमाथि भासिएर तल पुगेको सडकमा मुटु छामेर यात्रा गर्नुपर्ने बाध्यता छ । वेलैमा मर्मत गर्नुपर्छ नि । यात्रा गर्दैगर्दा पहिरो गएर कसैको ज्यान गए जिम्मेवारी कसले लिन्छ ?’ आक्रोशसहित उनले प्रश्न गरिन् ।
थोपल खोलाको किनारैमा जोडिएको कालुपाण्डे मार्ग हरेक वर्ष खोतल्लिएर जोखिम बन्दै गएको छ । दारेगौडामा पहिरोका कारण कालुपाण्डे मार्ग भासिएको हो । सवारीचालक सन्तोष श्रेष्ठ भन्छन्, ‘हरेक वर्ष भासिएर जोखिम बढ्दै गएको सडकमा करिब सय मिटर लम्बाइको पहिरो छ । दैनिक सयौँ सवारी यही पहिरोमा आवातजावत गरिरहेका छन्,’ उनले भने, ‘कतिपय यात्रुहरू बाटो देखेर डराउँछन् र झर्न हतारिन्छन् । बाटाका कारण हामी चालकको ज्यान र पेसा दुवै धरापमा छ ।’
कालुपाण्डे मार्ग २०५७ सालमा कालोपत्रे गरिएको हो । तर, सडक कालोपत्रे हुनुभन्दा पहिलेदेखि आवतजावत बन्द हुने गरी पहिरो जाँदै आएको सडक पिच गरिएपछि पनि समस्या समाधान भएन । न लगातार पहिरो आउने क्रम रोकियो, न मर्मत नै भयाे, न त वैकल्पिक बाटो नै खोजियो । अझै पनि हरेक वर्ष भासिने, चिरा पर्ने र सडक बीचैमा भ्वाङ परिरहेको छ । ठाउँ ठाउँमा पहिरो गए पनि पहिरो रोक्ने दिगो उपाय भने अझै खोजिएको छैन ।
पहिरो रोक्न खोला किनारदेखि नै पर्खाल उठाएर मर्मत गर्नुपर्छ । मर्मतको नाममा पहिलोपटक यो वर्ष केही भागमा ग्याबिएन जाली लगाइएको थियो । तर, प्राविधिक योजनाविनै लगाइएको जाली सडकसँगै दबिएको छ । कालुपाण्डे मार्गका सुपरभाइजर अर्जुन सापकोटाले हाल गरिएको मर्मत क्षणिक मात्र भएको बताए । ‘दारेगौडामा थोरै थोरै भासियो, एकैचोटी भासिएन । तलैबाट भासिएको पहिले जानकारी भएको भए ग्याविएन जाली पनि तलैबाट लगाएर मर्मत गरिन्थ्यो । तर हामीले माथि मात्रै जाली लगाउँदा जालीसहित पुनः सडक भासियो,’ उनले भने, ‘मर्मतको लागि टेन्डर भैसकेको छ । अब छिट्टै मर्मत कार्य सुरु गर्छाैं ।’ तर दिगो व्यवस्थापनका लािग माटो परीक्षण गरेर मात्रै काम अगाडि बढाउनुपर्ने उनको भनाइ छ । ‘अहिलेको मर्मत क्षणिक र बर्खाबाट जोगाउन मात्रै हो,’ उनले भने ।
वैकल्पिक बाटो पनि प्रयोग विहीन
वैकल्पिक बाटोको रूपमा ससाह देउराली चौताराबाट इँटाभट्टा, ससाह खोला, मैदी भञ्ज्याङ हुँदै तल्लो ज्यामिरे निस्कन सकिन्छ । तर, कच्ची सडक खण्ड र सबै खालका सवारीसाधन पार गर्न सक्ने अवस्था नुहँदा वैकल्पिक बाटो प्रयोग विहीन छ ।
वैकल्पिक बाटो प्रयोग गर्दा सवारीसाधनले करिब दुई किमि बढी दुरी पार गर्नुपर्छ । तर इँटाभट्टादेखि मैदी भञ्ज्याङ छिचोल्ने सडक हिलाम्मे छ । सडकभरि खाल्डा खुल्डी छन् । सबै खालका सवारीसाधनहरू सहज रूपमा पार गर्न सकिन्न । ससाह खोला आसपासको करिब पाँच सय मिटर दुरीको सडक बिग्रेको छ । बिग्रेको सडकमा ग्रावेल गर्ने हो भने सबै खालका सवारीसाधनहरू सहजै पार गराउन सकिन्छ । तर, वैकल्पिक बाटो र जीर्ण बनेको कालुपाण्डे मार्गतर्फ कसैको ध्यान पुग्न सकेको छैन ।