नेपालमा वैकल्पिक राजनीतिको वकालत गर्ने लहर ००७ सालतिरैबाट सुरु भएको हो । राजनीतिक इतिहासका जानकारहरूका अनुसार सात सालवरपर कांग्रेस आफैँमा वैकल्पिक राजनीतिक शक्ति थियो । तत्कालीन प्रजा परिषद्को राजनीतिको विकल्पमा कांग्रेस वैकल्पिक शक्तिका रूपमा उदाएको थियो । मूलधारको राजनीतिमा स्थापित हुँदै गर्दा कांग्रेसका क्रान्तिकारी नारा भुत्ते बने भन्दै कम्युनिस्ट शक्तिका रूपमा एमालेको उदय भयो । कालान्तरमा एमाले नेतृत्व पनि सत्तामा पुगेपछि कांग्रेसकै लयमा हिँड्न खोजेको भन्दै उसैभित्रबाट मालेलगायत विभिन्न घटकका नाममा राजनीतिमा वैकल्पिक सोच दिने कोसिस भयो । पछि ती नयाँ वैकल्पिक वामपन्थी सोच पनि एमालेमा बिलाउँदै गए । त्यसपश्चात् सशस्त्र द्वन्द्वको जगमा माओवादी स्थापित भयो । माओवादी पनि कांग्रेस–एमालेजस्तै भएको भन्दै केही मधेसवादी र केही क्षेत्रीय दल खुले ।
नेपालमा वैकल्पिक राजनीतिको पृथक् प्रयास भने देवेन्द्रराज पाण्डेले गरेका हुन् । पञ्चायती व्यवस्थाका बखत बहुदलीय व्यवस्था र निर्दलीय व्यवस्थाका लागि जनमत संग्रह हुँदा सूर्यबहादुर थापा नेतृत्वको सरकारको अर्थसचिवबाट राजीनामा दिएर पाण्डे चर्चित भएका थिए । ०४६ को जनआन्दोलनपछि पाण्डेले कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री बनेर थप चर्चा कमाए । ०४८ सालको चुनावमा कांग्रेसले प्रजातान्त्रिक समाजवाद छोडेको भन्दै पाण्डे वैकल्पिक राजनीतिक शक्तिका रूपमा लोक दल स्थापना गरी चुनावमा उठे । विडम्बना, त्यही चुनावबाट पाण्डे कहिल्यै उठ्न नसक्ने गरी पराजित भए र नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको पृथक् प्रयास तुहियो ।
नेपालमा माओवादी छाडेर नयाँ शक्ति गठन गरेका डा. बाबुराम भट्टराई, विवेकशील अभियानबाट राजनीति थालेका स्वर्गीय उज्ज्वल थापा, बिबिसी नेपाली सेवाको जागिर छाडेर साझा पार्टी गठन गरेका रवीन्द्र मिश्र, अधिवक्ता स्वागत नेपाल, पूर्वडिआइजी रमेश खरेलले पनि आफूलाई वैकल्पिक राजनीतिका वाहक माने । यो क्रम अहिले सञ्चारकर्म त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका रवि लामिछानेमा आइपुगेको छ । सारमा हेर्ने हो भने वैकल्पिक राजनीतिक शक्ति निर्माणको प्रयास गर्ने व्यक्ति वा समूहहरूको उद्देश्य एकै प्रकृतिको देखिन्छ । मूलतः यो देशको रूपान्तरण परम्परागत दलबाट हुन नसक्ने भन्दै आफूहरू राजनीतिमा विकल्प दिन आएको उनीहरूको दाबी रहने गरेको छ ।
वैकल्पिक राजनीतिक शक्ति निर्माणका प्रयासमध्ये रवीन्द्र मिश्रले स्थापना गरेको साझा पार्टी बढी नै चर्चित रह्यो । बिबिसीमा छँदा खरो प्रश्न सोधेर सेलिब्रेटी बनेका पत्रकार, कवि र परोपकारी अभियन्ताको समेत छवि निर्माण गरेका मिश्र राजनीतिमा आउनुपूर्व नै चर्चित थिए । बिबिसी नेपाली सेवाको लाखौँ तलब सुविधा हुने आकर्षक जागिर छाडेर राजनीतिमा होमिएपछि थप चर्चित बनेका मिश्रले स्थापना गरेको साझा पार्टीका तर्फबाट ०७४ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा पूर्वसचिव किशोर थापा र अधिवक्ता निरुपमा यादवले मेयर र उपमेयरमा उल्लेख्य मत प्राप्त गरे । सोही निर्वाचनमा विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले पनि लोकप्रिय मत हासिल गरिन् ।
खासगरी काठमाडौं महानगरमा उज्ज्वल थापा नेतृत्वको विवेकशीलकी दर्शना र मिश्रका साझा पार्टीका तर्फबाट किशोर थापाले लोकप्रिय मत प्राप्त गरेपछि यी दुवै दल मिले बलियो वैकल्पिक शक्ति बन्न सक्ने विश्वाससाथ पार्टी एकता भयो । एकतापछि पार्टीको नाम विवेकशील साझा बन्यो । यसले ०७४ को प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पुराना र ठूला राजनीतिक दलको राजनीतिको जग हल्लाउने गरी चर्चा बटुल्यो । विवेकशील–साझाका तत्कालीन संयोजकमध्येका रवीन्द्र मिश्रले गणेशमानपुत्र प्रकाशमान सिंहलाई काठमाडौं—१ मा झन्डै हराइदिए भने मिश्रबाहेकका पार्टीका उम्मेदवारले सम्मानजनक मत प्राप्त गरे ।
निर्वाचनमा विवेकशील साझाले देशभरबाट प्रतिनिधिसभा र प्रदेश सभा गरी १५७ जना उम्मेदवार प्रत्यक्षतर्फ खडा गरेको थियो । यस पार्टीले प्रतिनिधिसभामा एक सिट पनि जित्न सकेन, तर समानुपातिकतर्फ दुई लाख १२ हजार तीन सय ६४ लोकप्रिय मत प्राप्त गर्यो । निर्वाचन परिणामपछि राजनीतिक वृत्तमा विवेकशील साझा पार्टी नेपालका परम्परागत दललाई बलियो धक्का दिन सक्ने शक्ति र अर्को निर्वाचनमा देशभरका विभिन्न स्थानमा चुनाव जित्न सक्ने अड्कलबाजी र चर्चा हुन थाले । तर, निर्वाचन परिणामपछिको त्यो उत्साह धेरै टिकेन । विवेकशील साझा आन्तरिक किचलोमा फस्यो, विवेकशील नेपाली र साझा अलग भए ।
विवेकशील साझाको अघोषित विघटन भइसकेको छ । एउटा सानो खुद्रा पसलका रूपमा यो नाम रहरले राजनीति गर्ने कुनै व्यक्ति या समूहले पुनर्गठन गरेर चलाउला पनि, तर त्यो हरेक दिन बदनाम बन्दै जानेछ, विगतले यस्तै देखाउँछ ।
पार्टी विभाजनपछि केही क्षेत्रमा भएको उपनिर्वाचनमध्ये कास्की २ मा दुवै दलले अलग–अलग उम्मेदवारी दिए । परिणाम, वैकल्पिक राजनीतिको अभ्यास गर्छौं भन्ने दुवै दलका निम्ति लज्जास्पद निस्कियो । पछि दुई दल फेरि मिले । मिलेको केही महिनामै पुनः किचलो देखा पर्यो । अध्यक्ष रवीन्द्र मिश्रले धर्मनिरपेक्षतामा जनमत संग्रह र संघीयता खारेजीको मुद्दा उठाउँदै विचारभन्दा माथि देश नामक दस्ताबेज सार्वजनिक गरे । दस्ताबेज सार्वजनिक भएसँगै संयोजक मिलन पाण्डेको समूह भड्कियो र सार्वजनिक प्रतिवादमा उत्रियो ।
त्यति मात्र होइन, पाण्डे समूहले वैकल्पिक राजनीतिको मूलबाटो नामको काउन्टर दस्ताबेज पनि सार्वजनिक गर्यो । मिश्र समूहले पाण्डेलाई पार्टीबाट निष्कासन गर्यो । पाण्डे विवादको मुद्दा लिएर सर्वोच्च पुगे, जुन मुद्दा अहिले पनि विचाराधीन छ । पाण्डेसँगको वैचारिक विवाद नसकिँदै अध्यक्ष मिश्रले राप्रपासँग एकताको गोप्य संवादको थालनी गरे । राप्रपासँग एकताका लागि संवाद चलिरहेको विषय चुहिएपछि निर्देश सिलवाल समूहले बहुमत केन्द्रीय सदस्यको बैठकले मिश्रलाई अध्यक्षबाट हटाएको र भीम अधिकारीलाई पार्टी अध्यक्ष चयन गरिएको घोषणा गर्यो, उनीहरूले त्यसको विवरण निर्वाचन आयोगलाई पनि बुझाए ।
आफ्नो पार्टी बलियो वैकल्पिक राजनीतिक शक्ति बनेको दाबी गर्ने विवेकशील साझाका लागि यो एउटा अर्को तमासा थियो । जतिसुकै तमासा चले पनि राप्रपासित जाने मुड बनाइसकेका मिश्र राप्रपासँगको निरन्तर सम्पर्कमा रहिरहे । यद्यपि मिश्रको प्रयास सफल हुन सकेन, स्थानीय तह निर्वाचनअगाडि राप्रपा र विवकेशील साझाबीच एकता हुन सकेन । अन्तिमतिर आएर मात्रै मिश्रले स्थानीय तह निर्वाचनमा होमिने निर्णय गरेर काठमाडौं महानगरको मेयरमा समीक्षा बास्कोटालाई उम्मेदवार बनाए । तनमन राप्रपातिर भएका मिश्रले स्थानीय चुनावमा खासै आफ्नो सक्रियता देखाएनन् ।
यता पाण्डे समूहले काठमाडौं महानगरका लागि अघिल्लो स्थानीय तह निर्वाचनकी मेयर उम्मेदवार रञ्जु दर्शनालाई मेयर र पुकार बमलाई उपमेयरको उम्मेदवार बनाउने प्रयास ग¥यो तर बम र दर्शनाको अस्वीकृतिपछि पाण्डे समूह स्थानीय तह निर्वाचनमा मौन बस्यो । राप्रपासँगको एकता प्रकरणमा अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गरेको घोषणा गरेको निर्देश सिलवाल समूह स्वतन्त्र उम्मेदवार बालेन्द्र साहसँग लौरो समातेर चुनावभर नाचिरह्यो । परिणाम काठमाडौं महानगरका मेयरका उम्मेदवारमा सबैभन्दा अब्बल र सक्षम हुँदाहुँदै पनि पार्टी र पार्टीका भाँडिएका नेताका कारण बाँस्कोटाले नराम्रो हार व्यहोर्नुपर्यो । निर्वाचन परिणामपछि मिश्रले देशभर निर्वाचनको लज्जास्पद हारको जिम्मेवारी लिँदै राजीनामा गरेको घोषणा गरे, यद्यपि उनको राजीनामाका पछाडि अन्य थुप्रै मुख्य कारण छन् । त्यसयता बजारमा थुप्रै विवेकशील देखिन्छन् हिजोआज ।
विवेकशील अभियानका संयोजक उज्ज्वल थापाको लिगेसी आफूहरूले बोकेको दाबी गर्ने कर्मा तामाङ नेतृत्वको विवेकशील पार्टी यसअघि नै अलग अस्तित्वमा छ । यता मिलन पाण्डेको विवेकशील मूलबाटो, निर्देश सिलवालको विवेकशील लौरो, रवीन्द्र मिश्रको विवेकशील राजतन्त्र, समीक्षा बास्कोटाको विवेकशील प्रजातन्त्र, नारायण कोइराला र कर्णबहादुर शाहीको विवेकशील राप्रपा, एसपी सारथीको विवेकशील गणतन्त्र, प्रकाशचन्द्र परियारको समतामूलक विवेकशील, सूची लम्बिँदो छ । वैकल्पिक राजनीतिको वकालत गर्दै नेपालका पुराना दललाई ठेगान लगाइदिने दाबीसाथ जन्मिएको विवेकशील साझा आज बरमझियाको पेडा दोकानजस्तो बन्न पुग्यो, असली वैद्यनाथको पेडा भण्डार, असली वैद्यनाथ बाजेको पेडा भण्डार, पुरानो वैद्यनाथ बूढोको पेडा जस्तै ।
वैकल्पिक राजनीतिकै वकालत गर्दै सञ्चारकर्मी रवि लामिछाने पनि केहीअघि पार्टी दर्ता गरेर देश दौडाहामा निस्केका छन् । राजनीतिको बजारमा स्वागत नेपाल, रमेश खरेलहरूले अझै पनि वैकल्पिक राजनीतिका खुद्रा दोकान चलाइरहेकै छन् । तर, आजसम्मका वैकल्पिक राजनीतिका प्रयास नारा राम्रो, व्यवहार भुत्ते भएकै कारण असफल सिद्ध भएका छन् ।
नेपालमा वैकल्पिक राजनीतिको नाममा जतिसुकै प्रयास भए पनि ती सबै असफल हुनुका पछाडि थुप्रै कारण होलान्, यद्यपि वैकल्पिक राजनीतिको वकालत गर्दा सबैभन्दा बढी वाहवाही पाएको, निर्वाचनमा लोकप्रिय मत हासिल गरेको विवेकशील साझा बरमझियाको पेडा दोकानमा रूपान्तरण भएर विवेकशील साझाको दुःखद अवसान भएपछि नेपालमा वैकल्पिक राजनीतिको अवसान भएको छ । यसो भन्दा कतिपय आलोचकलाई लाग्न सक्छ, अहिले नै विवेकशील साझाको अवसान भइसकेको छैन, यत्रा अभियन्ता छन्, यो पुनर्गठन हुन्छ । तर त्यसो होइन, पूरै विश्व राजनीतिलाई नै अध्ययन गर्ने हो भने पनि आफैँले स्थापना गरेको पार्टीमा पहिलो महाधिवेशन नहुँदै अल्पमत र विवादमा परेर अध्यक्षले राजीनामा दिएको इतिहास कतै भेटिँदैन । त्यसैले, विवेकशील साझाको अघोषित रूपमा विघटन भइसकेको छ ।
यद्यपि, एउटा सानो खुद्रा पसलका रूपमा यो नाम रहरले राजनीति गर्ने कुनै व्यक्ति या समूहले पुनर्गठन भनेर चलाउला पनि । जुन खुद्रा पसल पहिलेभन्दा हरेक दिन बदनाम बन्दै जानेछ, विगतले यस्तै देखाउँछ । अन्ततः पार्टी कार्यालयको भाडा तिर्न नसकेको दिन यो खुद्रा दोकान पूर्ण रूपले बन्द हुन्छ नै । अन्य आलोचकलाई लाग्ला, स्वतन्त्रहरूको लहर आएका बेला, रवि लामिछानेले पार्टी खोलेका वेला वैकल्पिक राजनीतिक शक्ति निर्माणको प्रयास फेरि चुलिन्छ । होइन, यसले नेपाली राजनीतिमा केही परिवर्तन ल्याउँदैन । किनकि, नेपाली राजनीतिमा वैकल्पिक राजनीतिक शक्तिको स्थापना गर्ने व्यक्तिहरू पुराना दलमा स्पेस नपाएका, अरूसँग मिल्न नसक्ने, गफ गर्ने, काम नगर्ने प्रकृतिका छन । राजनीतिमा अवसर खोजेर आउनेहरू छन्, त्याग र इमान भएकाहरू छैनन्, तसर्थ, राजनीतिको टोलबजारमा वैकल्पिकका नाममा केही खुद्रा दोकान रहिरहलान्, तर राजनीतिक रूपमा भने नेपालमा वैकल्पिक राजनीतिको विसर्जन भइसकेको छ ।
(रेग्मी विवेकशील साझाका पूर्वनेता हुन्)
Follow @Suryadeepregmi