मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण २३ सोमबार १७:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यालयसहित सिंगो गाउँ नै पहिरोको जोखिममा

Read Time : < 1 मिनेट
२०७९ श्रावण २३ सोमबार १७:५८:००

सुक्खा पहिरोका कारण खोटाङको ऐँसेलुखर्क गाउँपालिका–४, जलेश्वरीको माझगाउँमा एउटा विद्यालयसहित गाउँ नै उच्च जोखिममा परेको छ । ठूलो पाखा पहिरोको रूपमा खस्दा माझगाउँका १८ घर परिवार तथा स्थानीय जनकल्याण आधारभूत विद्यालय पहिरोको उच्च जोखिममा परेको हो ।

करिब ४०० मिटर फैलिएको पहिरो करिब ७०० मिटर तल मेकुखोलामा पुगेर थुप्रिएको छ । 
माझगाउँको करिब ५०-६० मिटर नजिकको दुरीमा पहिरो आइपुगेको जनकल्याण आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष धनकुमार राईले बताए । ‘विद्यालयको खेलमैदान नजिकसम्म पहिरो गएपछि विद्यार्थी त्रसित बनेका छन्,’ उनले भने, ‘विद्यार्थी पहिरोमा खस्ने त्रासले पहिरोको डिलमा छेकबार हालिएको छ ।’

गत शनिबार राति गएको पहिरोले दिप्दीमावा–माझगाउँ–देल्बाया सडकको करिब २०० मिटर भाग बगाएको छ । दुई-तीन वर्षदेखि सामान्य धाँजा फाटेको पाखोमा यस वर्ष सामान्य वर्षा हुँदा नै पहिरो गएको गाउँपालिका अध्यक्ष गीरेन्द्रबहादुर राईले बताए । ‘विगतमा सामान्य पहिरो खस्ने गरेकामा यसपल्ट ठूलो पाखा खसेको छ’, उनले भने, ‘पहिरोको स्थलगत अध्ययन गरेर रोकथामको उपाय अपनाउने तयारी गरिएको छ ।’

पहिरोका कारण हालसम्म मानवीय क्षति भने नभएको अध्यक्ष राईले बताए । ‘पहिरो झरेपछि विद्यालय बन्द गर्ने कि भनेर सल्लाह गरियो । तर, होसियारीका साथ कक्षा सञ्चालन गरिएको छ,’ उनले भने, ‘पहिरो रोकिएन भने ठूलो जोखिम निम्तिने सम्भावना छ ।’

दश स्थानीय तह रहेको जिल्लाका विभिन्न ठाउँमा लगातारको वर्षासँगै आएको बाढी तथा पहिरोले क्षति गरेको जनाइएको छ । पहिरोका कारण सबैभन्दा बढी जिल्लाका ग्रामीण सडकमा क्षति पुगेको यातायात व्यवसायीहरूको भनाइ छ ।