Skip This
ad
लुम्बिनी प्रादेशिक अस्पतालको  नयाँ भवन निर्माण ठेक्कामा पुनः ‘मिलेमतो’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
टेकराज थामी काठमाडौं
२o८१ बैशाख २६ बुधबार o७:१o:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

लुम्बिनी प्रादेशिक अस्पतालको  नयाँ भवन निर्माण ठेक्कामा पुनः ‘मिलेमतो’

पौने सात अर्बको भवन बन्दै, सार्वजनिक खरिद अनुगमन कार्यालयले बोलपत्र सच्याउन पत्र काट्यो 

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o७:१o:oo

लुम्बिनी प्रदेश अस्पतालको नयाँ भवन निर्माण ठेक्कामा पुनः मिलेमतो भएको पाइएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले सच्याउन पत्र काटेको छ । करिब ६ अर्ब ७० करोड रुपैयाँ लागतमा लुम्बिनी प्रदेशमातहतको प्रदेश पूर्वाधार विकास प्राधिकरणले प्रदेश अस्पतालको नयाँ भवन निर्माण गर्दै छ । 

प्राधिकरणले पहिलो बोलपत्र आह्वान ८ फागुन ०७८ मा गरेको थियो । निर्धारित कम्पनीले मात्रै ठेक्का प्रक्रियामा भाग लिन सक्ने प्रावधान बोलपत्रमा देखिएपछि कार्यालयले प्राधिकरणको नाममा त्यसवेला पनि पत्र काटेको थियो । सोही पत्रका आधारमा प्राधिकरणका तत्कालीन सिइओ (प्रमुख कार्यकारी अधिकृत) अनन्तराज घिमिरेले राजीनामा दिएका थिए । त्यसपछि प्राधिकरणका सिइओ छविराज पोखरेल नियुक्त भएका थिए । भवन निर्माणका लागि दोस्रोपटकको बोलपत्र आह्वान उनैले गरेका हुन् ।

अस्पताल निर्माणका लागि प्राधिकरणले ९ असारमा दोस्रोपटक बोलपत्र आह्वान गरेको थियो । पुनः मिलेमतो गरेर दुईवटा कम्पनीलाई मिल्ने गरी बोलपत्र आह्वान भएको संकेत पाएपछि कार्यालयले प्राधिकरणको नाममा पत्र काटेर सच्याउन निर्देशन दिएको छ । 

कार्यालयका प्रवक्ता उमेश ढुंगानाले बोलपत्रका केही प्रावधान सच्याउनुपर्ने भन्दै प्राधिकरणको नाममा पत्र काटिएको जानकारी दिए । ‘लुम्बिनी प्रदेश अस्पतालको नयाँ भवन निर्माणका लागि दोस्रोपटक टेन्डर आह्वान भएको छ । पहिलो टेन्डरमा त्रुटि देखिएपछि रद्द भयो र दोस्रोपटक पुनः टेन्डर आह्वान भयो । त्यो टेन्डरमा उल्लेखित कतिपय प्रावधान पनि त्रुटिपूर्ण रहेको पाइयो । त्यसो हुँदा सच्याउनुपर्ने भन्दै कार्यालयले पत्र काटेको सूचना पाएको छु,’ उनले भने ।

 रसुवा कन्स्ट्रक्सन र शर्मा एन्ड कम्पनीलाई सहज हुने गरी प्रावधान संशोधन
बोलपत्रअनुसार भवन निर्माणमा सहभागी हुने निर्माण कम्पनीको योग्यता दुई अर्ब ८१ करोड रुपैयाँबराबरको ‘डबल बेसमेन्ट’ भवन निर्माण गरेको अनुभव अनिवार्य हुनुपर्ने भनिएको छ । जुन अनुभव र योग्यता रसुवा कन्स्ट्रक्सन र शर्मा एन्ड कम्पनीसँग मात्रै छ । विद्यमान प्रावधानअनुसार नै ठेक्का प्रक्रिया अघि बढाउँदा भवन निर्माणको काम रसुवा वा शर्मामध्ये एक निर्माण कम्पनीले पाउने सम्भावना धेरै छ ।

सार्वजनिक खरिद ऐनअनुसार ठूलो लगानीको विकास निर्माणमा विदेशी कम्पनी पनि सहभागी हुन सक्छन् । तर, अस्पतालको भवन निर्माणका लागि आह्वान गरिएको बोलपत्रले विदेशी कम्पनीलाई ठेक्का प्रक्रियामा भाग लिन निरुत्साहित गर्छ । बोलपत्रमा उल्लेखित प्रावधानअनुसार विदेशी कम्पनीले ठेक्का प्रकृतिमा पेस गर्नुपर्ने कागजात सम्बन्धित मुलुकबाट अनिवार्य रूपमा नोटरी गराउनुपर्नेछ । र, उक्त कागजातलाई नेपालस्थित दूतावासले प्रमाणीकरण गर्नुपर्नेछ । 

कागजातको नोटरी बोलपत्र आह्वान भएको सुरु मितिदेखि अन्त्यको मितिभित्रै गराइएको हुनुपर्ने भनिएको छ । यसको अर्थ ठेक्कामा सहभागी हुन चाहने विदेशी कम्पनीले बोलपत्र आह्वान भएको पछिल्लो ३५ दिनभित्र कागजातको नोटरी गराउनुपर्ने भन्ने हो । यो प्रवाधानले ठेक्का प्रक्रियामा भाग लिन चाहने ठेकेदार कम्पनीलाई पूर्ण तवरले निरुत्साहन गर्छ । किनकि, ३५ दिनको समयावधिमा स्वदेश पुगेर कागजातको नोटरीपछि पुनः दूतावासबाट प्रमाणीकरण गरेर ठेक्का प्रक्रियामा भाग लिने कार्य विदेशी कम्पनीका लागि सजिलो छैन । 

निर्माण व्यवसायी महासंघका निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठले ठेक्का प्रक्रियामा मिलेमतो भएको र यसले मुलुकलाई दीर्घकालीन रूपमै असर गर्ने बताए । ‘लुम्बिनी अस्पतालको नयाँ भवन निर्माणको बोलपत्रअनुसार भवन निर्माणको काम कुन कम्पनीले पाउने हो भनेर पहिले नै फिक्स भएको देखाउँछ । यस्तै प्रावधान सर्वोच्च अदालतको भवन निर्माणमा पनि राखिएको थियो, जुन अहिले पनि विवादित छ । सर्वोच्चबाट सुरु भएको यो बेथिति अहिले लुम्बिनीमा पुगेको छ । यसलाई नभत्काउने हो भने यो सरेर अन्य ठाउँ पनि पुग्छ । यसले मुलुकभित्र नीतिगत भ्रष्टाचारलाई संस्थागत गर्छ । यो असर मुलुकमा दीर्घकालीन रूपमा पर्ने देखिन्छ,’ उनले भने ।

बोलपत्रमा राखिएका प्रावधान सार्वजनिक खरिद ऐनको मर्मविपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बोलपत्रका प्रावधान सच्याउनुपर्ने बताए । ‘हामीकहाँ सार्वजनिक खरिद ऐन छ । यसको मर्म सबैभन्दा कम मूल्यमा गुणस्तरीय काम होस् भन्ने हो । यसका लागि सकेसम्म धेरै कम्पनीसँग प्रतिस्पर्धा गराउने भन्ने हो । तर, लुम्बिनी अस्पतालको नयाँ भवन निर्माणको बोलपत्रमा त्यस्तो देखिएन । भवन निर्माणको ठेक्का कसले पाउने हो, पहिले नै ‘फिक्स्ड’ भएको देखायो । यो गलत हो । यसलाई सच्याउन जरुरी छ,’ उनले भने ।

रसुवा कन्स्ट्रक्सन र शर्मा एन्ड कम्पनीले जोइन भेन्चर (जेभी) मा वीर अस्पतालको सर्जिकल भवन निर्माण गरेका थिए । रसुवा कन्स्ट्रक्सनका मालिक मोहन आचार्य हुन् । उनी रसुवाका संघीय सांसद हुन् । कांग्रेसबाट टिकट पाएका उनले ०७४ मा चुनाव जितेका थिए । शर्मा एन्ड कम्पनीका मालिक भने रमेश शर्मा हुन् । उनी विशुद्ध निर्माण व्यवसायी हुन् । शर्मा र आचार्य दुवै प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु देउवानिकट मानिन्छन् । 

ad
ad