मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २५ बिहीबार
  • Friday, 10 January, 2025
२o८१ पौष २५ बिहीबार o५:५७:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अन्तिम कार्यकाल बढाउने देउवा रणनीति 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २५ बिहीबार o५:५७:oo

विधानले दिएको सुविधामा टेकेर र विगतका नजिर देखाएर एक वर्ष कार्यकाल थप्न सकिनेमा देउवा ढुक्क, संस्थापन पक्षकै नेता भन्छन्– ०८२ मा महाधिवेशन गाह्रो छ

०७८ मंसिरमा १४औँ महाधिवेशन गरेको कांग्रेसको १५औँ महाधिवेशन ०८२ मा हुनुपर्ने हुन्छ । तर, कांग्रेसकै नेताहरूलाई ०८२ को मंसिरमा महाधिवेशन हुनेमा संशय छ । आगामी महाधिवेशनमा नेतृत्वको दौडमा नलाग्ने घोषणा गरेका सभापति शेरबहादुर देउवा पनि आफ्नो अन्तिम कार्यकाल विधानले दिएको सुविधामा टेकेर र विगतका नजिर देखाएर बढाउने दाउमा छन् । 

‘पार्टीको सबै तहको कार्यसमितिको सभापति निरन्तर रूपमा दुई पदावधिभन्दा बढी सोही पदमा उम्मेदवार हुन पाउनेछैन,’ विधानको धारा ५७ को व्यवस्थाले देउवालाई तेस्रोपटक सभापतिको उम्मेदवार बन्न रोकेको छ । देउवा आफैँले अब आफू सभापतिको दौडमा नलाग्ने सार्वजनिक उद्घोष गरिसकेका छन् । तर, उनले विधानले दिएको सुविधा प्रयोग गरी कार्यकाल बढाउन सक्छन् । 

देउवाले आफू नियमित महाधिवेशनका लागि तयार रहेको बताएका छन् । तर, सभापति देउवाको अन्तिम कार्यकाल भएकाले पनि चार वर्षमा महाधिवेशनको सम्भावना नरहेको निकट नेताहरूले स्पष्ट संकेत गर्ने गरेका छन् । संस्थापन पक्षका नेताहरू विधानले चार वर्ष भने पनि पाँच वर्षको कार्यकाल नजिर रहेको बताउन थालेका छन् । 

असाधारण परिस्थितिमा एक वर्ष कार्यकाल बढाउन सक्ने सुविधा विधानकै धारा ४३ मा छ । ‘पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्नेछ,’ उक्त धारामा उल्लेख छ । 

यही व्यवस्थाका कारण संस्थापन समूहले एक वर्ष समयावधि थप्ने संशय डा. शेखर कोइराला समूहलाई छ । देउवा नेतृत्वमा नआउनु भनेको कांग्रेसले नयाँ सभापति पाउने हो । यस्तोमा महाधिवेशन लम्बिए पनि ०८४ को निर्वाचनअघि कांग्रेसले नयाँ नेतृत्व पाउने पक्का छ । 

नीतिगत रूपमा भने कांग्रेस नेताहरू समयमै महाधिवेशन गर्ने पक्षमा छन् । जस्तो कि ७ देखि १० फागुन ०८० मा भएको कांग्रेस महासमिति बैठकको सर्वसम्मत निर्णय छ, ‘नेपाली कांग्रेसको ०७८ मंसिरमा सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको चारवर्षे कार्यकाल विधान २०१७ (संशोधनसहित) को धारा ४३ बमोजिम आगामी ०८२ मंसिर मसान्तभित्र समाप्त हुनेछ । अतः महाधिवेशनको अन्तिम वर्ष विधानको प्रावधान निलम्बन गरेर क्रियाशील सदस्यता वितरण गर्ने अभ्यास पूर्णतः बन्द गरी विधानबमोजिम ०८२ मंसिरमा पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नेछौँ ।’ 

उक्त विषय रहेको महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव १६ साउनको केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन भएको छ । तर, पछिल्लो समय कांग्रेसमा सबैभन्दा बढी संशय ०८२ मा महाधिवेशन होला–नहोला भन्नेमा छ । कांग्रेस निर्णयमा विधानले तोकेको विधानसम्मत जिम्मेवारी कार्यतालिका तयार गरेर सम्पन्न गर्ने उल्लेख थियो । तर, महाधिवेशनका लागि आवश्यक पूर्वतयारी र कार्यतालिकामा कामले गति लिएको छैन । 

त्यसैले महामन्त्री थापाले महाधिवेशन हुँदैन कि भन्ने चिन्ता नगर्न आफ्नो समूहलाई आश्वस्त पारेका छन् । १६ पुसमा मेलमिलाप दिवसको कार्यक्रममा सहभागी हुन मकवानपुर पुगेका महामन्त्री थापाले भनेका थिए, ‘पार्टीका मञ्चहरूमा र केन्द्रीय समितिमा ०८४ को चुनाव र १५औँ महाधिवेशनबारे कुरा गर्छौँ । १५औँ महाधिवेशन हुन्छ, रुवाबासी नगरौँ । प्रतिबन्धित कालमा त सम्हालिएर आएको पार्टीले आनन्दसँग समयमै महाधिवेशन गर्छ,’ उनले भनेका थिए । 

सदस्यता वितरण र नवीकरणसम्बन्धी कामका लागि महामन्त्री थापाको संयोजकत्वमा रहेको समितिले काम गरिरहेको छ । समितिले चैतभित्र सदस्यता नवीकरणको अनिवार्य टुंगो लगाउन जिल्लालाई निर्देशन दिएको छ । जिल्लाबाट टुंगो नलागे केन्द्रले नै हस्तक्षेप गर्ने समितिको तयारी छ । महाधिवेशनको पूर्वसर्त सदस्यताको टुंगो हो । 

कांग्रेस नेताहरू नै ०८२ मा महाधिवेशन हुने आधार तयार हुने सम्भावना न्यून भएको ठान्छन् । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा महाधिवेशनको तयारीका काम भइरहेको बताउँछन् । ‘विधानतः चार वर्षको अवधि हो । तर, यसअघिका सबै सभापतिले प्रत्येक पाँच–पाँच वर्षमै महाधिवेशन गराउँदै आउनुभएको नजिर भएकाले पाँच वर्षलाई नै हामीले सामान्य अवधि मान्ने गरेका छौँ,’ उनी भन्छन्, ‘पाँच वर्षभन्दा पर जाँदैन । ०८२ मा महाधिवेशन हुन्छ–हुँदैन भनेर आशंका सबैले सहयोग गर्दा समयमै महाधिवेशन हुने अवस्था आउँछ ।’ 

इतर समूहका नेता तथा कांग्रेस महाधिवेशन दबाब अभियानका संयोजक गुरुराज घिमिरे प्रारम्भिक तयारी पूरा नहुँदा ०८२ मा महाधिवेशनको सम्भावना कम रहेको बताउँछन् । ‘प्रारम्भिक तयारीविना महाधिवेशनको सुनिश्चितता हुन सक्दैन । तोकिएकै समयमा महाधिवेशन सुनिश्चित हुने गरी पार्टीलाई दबाब दिँदै छौँ,’ उनी भन्छन्, ‘वडादेखि प्रदेश तहसम्मको अधिवेशनको कार्यतालिका तत्काल ल्याउन आवश्यक छ । सदस्यता वितरण पनि समयमै सम्पन्न गर्न आवश्यक छ ।’

संस्थापन समूहका नेता एनपी साउद महाधिवेशनका लागि आवश्यक संगठनात्मक गतिविधि र तयारी नभएकाले ०८२ मै महाधिवेशन हुन कठिन देख्छन् । ‘सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण आवश्यक गतिमा भइरहेको छैन । महाधिवेशनका लागि सांगठनिक प्रक्रियाहरू पूरा भएका छैनन्,’ उनले भने, ‘०८२ मै महाधिवेशन हुने आधार भएको छैन । कांग्रेस विधानमा चार वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । तर, प्रायः एक वर्ष थप गरेर पाँच वर्षमा महाधिवेशन सम्पन्न हुने गरेका छन् ।’

शशांक कोइरालाको प्रस्ताव– ०८४ को निर्वाचनपछि महाधिवेशन गरौँ 
पूर्वमहामन्त्री डा. शशांक कोइरालाले महाधिवेशन ०८२ मा सम्भव नभए ०८४ को आमनिर्वाचनपछि गर्नु उपयुक्त हुने प्रस्ताव गरेका छन् । चितवनमा १६ पुसमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आमनिर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने बताएका थिए । निर्वाचनको मुखमा महाधिवेशन गराउँदा त्यसको असर निर्वाचनमा पर्न नहुनेमा उनको जोड थियो । ‘०८४ मा आमनिर्वाचन हुँदै छ । त्यसको दुई वर्ष पहिले नै १५औँ महाधिवेशन हुनुपर्ने हो । निर्धारित समयमा अधिवेशन हुन सकेन भने पार्टीभित्रको असन्तुष्टि बोकेर निर्वाचनमा जान सकिँदैन । निर्वाचनपछि मात्र महाधिवेशन गराउँदा उत्तम हुन्छ,’ उनको भनाइ थियो ।