मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २६ शुक्रबार
  • Friday, 10 January, 2025
तिवारी यादव वीरगन्ज
२o८१ पौष २६ शुक्रबार o७:५५:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

जय ट्रफी एलिट कप : कुशलको अलराउन्ड प्रदर्शनमा पुलिसको जित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २६ शुक्रबार o७:५५:oo

दोस्रो खेलमा नेपाल पुलिस क्लबले पहिलो जित निकाल्दा त्रिभुवन आर्मी र बागमती प्रदेशले पुनः अंक बाँडे

कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनसँगै नेपाल पुलिस क्लबले जय ट्रफी पुरुष दुईदिवसीय एलिट कपमा पहिलो जित निकालेको छ । दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा पुलिसले मधेश प्रदेशविरुद्ध एक इनिङ्स र ३५ रनको सानदार जित निकाल्यो । बिहीबार नारायणी रंगशालामा पुलिसका बलर हाबी भएपछि मधेशको ब्याटिङ चल्नै सकेन । फलतः पुलिस इनिङ्ससहित विजयी भयो । प्लेयर अफ दी म्याच कुशल भुर्तेलले ६३ रन बनाउनुका साथै सात विकेट हात पारेका छन् ।

पहिलो खेलको पहिलो इनिङ्समा डकआउट भएका भुर्तेलले दोस्रो खेलमा अर्धशतक बनाएका हुन् । खराब लयपछि आलोचना खेपिरहेका भुर्तेलले १४ खेलपछि अर्धशतक बनाएका थिए । दुई खेल चार इनिङ्ससँगै भुर्तेल प्रतियोगितामा सर्वाधिक विकेटकर्ताको शीर्ष स्थानमा छन् । पुलिसका भुर्तेलसँगै पुलिसकै ललितनारायण राजवंशी र आर्मीका शाहब आलमले समान १२ विकेट हात पारे । तीनै खेलाडी स्पिनर हुन् । ब्याटिङतर्फ मधेशका १८ वर्षीय खेलाडीले चार इनिङ्समा सर्वाधिक २०८ रन बनाएका छन् । उनी प्रतियोगितामा २०० रन कटाउने एक्ला खेलाडी हुन् ।

दोस्रो खेल सम्पन्न भएसँगै पुलिस ४० अंकसहित तालिकाको शीर्ष स्थानमा छ । लगातार दोस्रो बराबरी खेलेको आर्मी ३० अंकका दोस्रो स्थानमा छ । बागमती २८ अंकसहित तेस्रो र २१ अंक रहेको मधेश पहिलो हारसँगै पुछारमा छ ।

पुलिसका बलर हाबी 
राष्ट्रिय टोलीका अधिकांश खेलाडी समावेश गरेको पुलिसले मधेशविरुद्ध सानदार प्रदर्शन गर्‍यो । पहिलो दिन सानदार ब्याटिङ गरेको पुलिसले दोस्रो दिन बलिङ पनि उस्तै गर्‍यो । स्पिनर चम्किएपछि मधेश प्रदेश ९४ रनमै अलआउट भयो । त्यसैले पुलिसले आफ्नो दोस्रो इनिङ्स ब्याटिङ गर्न नै परे । बिहीबार नारायणी रंगशालामा भएको खेलमा पुलिसका स्पिनर भुर्तेल र ललितका साथै तीव्र गतिका बलर गुल्सन झाले मधेशको धमाधम विकेट चट्काएका थिए । खेलको दोस्रो इनिङ्समा बलिङमा पुलिसका स्पिनर भुर्तेल एक्लैले पाँच विकेट लिए । उनले मात्र ४.२ ओभरमा ५ विकेट लिएपछि मधेशको ब्याटिङ क्रम ध्वस्त भएको थियो । गुल्सनले तीन विकेट लिए भने ललित राजवंशीले दुई विकेट लिन सफल भए ।

चलेन मधेशको ब्याटिङ
मधेशका विशाल पटेलले २७ र मयन यादवले २२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन नै बनाउन सकेनन् । खेलको दोस्रो दिन पुलिसले चार विकेटको क्षतिमा २५८ रन बनाएर पहिलो इनिङ्स समाप्तिको घोषणा गर्‍यो । मधेश पहिलो दिन १२९ रनमै अलआउट भएको थियो । पुलिसले पहिलो इनिङ्समै १२९ रनको अग्रता बनाएको हो । पहिलो इनिङ्समा पुलिसका लागि भुर्तेलले ६३ रन बनाएका थिए । दिलीप नाथले ४०, अमृत श्रेष्ठले ३५, कप्तान आरिफ शेखले अविजित ४० र शंकर रानाले नटआउट ३१ रन बनाए । बलिङमा मधेशका हरिशंकर साहले दुई विकेट लिए ।

टस जितेको पुलिसले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मधेश प्रदेश पहिलो इनिङ्समा १२९ रनमा समेटिएको छ । मधेसले लन्च ब्रेकसम्म २९.१ ओभरमा चार विकेटको क्षतिमा ९९ रन बनाएको थियो । यस्तै, थप ३० रन जोड्दा ६ विकेट गुमायो । मधेशका मयन यादवले सर्वाधिक ५९ रन बनाउँदा नीरज यादवले २९ रन बनाए । अभिषेक तिवारीको १७ रन बनाए । पुलिसका गुल्सन झाले १३ ओरभरमा ४० रन दिएर पाँच विकेट लिए । कुशल भुर्तेलले दुई विकेट लिए भने श्रवण यादव र ललित राजवंशीले एक–एक विकेट लिएका छन् । मयनले बागमतीविरूद्धको अघिल्लो खेलमा शतक प्रहार गरेका थिए ।

बागमती र आर्मीको बराबरी
बलियो लक्ष्य दिए पनि विकेट लिन नसक्दा आर्मीले बागमतीसँग अंक बाँडेको छ । जनकपुरस्थित रामजानकी मैदानमा बिहीबार आर्मीले प्रस्तुत गरेको २०४ रनको लक्ष्य पछ्याएको बागमतीले दोस्रो तथा अन्तिम दिनको खेल सकिँदा पाँच विकेट गुमाएर ८५ रन मात्रै जोड्यो । यसपछि दुवै टोलीले अंक बाँडेका हुन् ।

बागमतीका लागि शुभ कंसाकारले ३३, रित गौतमले १६ र नन्दन यादवले १३ रन बनाए । आर्मीका लागि आकाश चन्द र पवन कार्कीले समान दुई तथा कुशल मल्लले एक विकेट लिए । आर्मीले आठ विकेट गुमाउँदै १२७ को स्थितिमा दोस्रो इनिङ्स समाप्तिको घोषणा गरेको थियो । त्यसपछि बागमतीले २०४ रनको लक्ष्य प्राप्त गरेको हो । आर्मीका लागि तृतराज दासले २८, कप्तान विनोद भण्डारीले २७, कुशल मल्लले अविजित २१ र इमरान शेखले १५ रन बनाए । बागमतीका लागि चन्दन यादवले चार, प्रतिश जिसीले तीन रिजन ढकालले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको आर्मीले पहिलो इनिङ्सको निर्धारित ६० ओभरमा पाँच विकेट गुमाउँदै २७६ रन बनाएको थियो । बागमतीले ९ विकेट गुमाउँदा २०० रन बनाएपछि इनिङ्स समाप्तिको घोषणा गर्‍यो । यससँगै खेलमा आर्मीले ७६ रनको अग्रता लिएको थियो । अब, लिग चरणको अन्तिम खेलमा आर्मीले मधेश तथा बागमती प्रदेशले पुलिसको सामना गर्नेछन् ।