सप्तरीको छिन्नमस्ता गाउँपालिकाकी एक बालिका न्याय खौज्दै एक वर्षदेखि भौँतारिरहेकी छिन्। नाबालिगसँग प्रेमको वहाना गरी विवाह गर्छु भनी शारीरिक सम्बन्ध राखी बालिका गर्भवती भएपछि युवक फरार भए। अहिले १५ वर्ष भएकी बालिका एक वर्षदेखि आठमहिने छोरी च्यापेर न्यायका लागि भौँतारिरहेकी छिन्।
गत सोमबार नेपाल पत्रकार महासंघ सप्तरीमा पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि भएको घटना सार्वजनिक गरिन्। परिवार आर्थिक रूपमा विपन्न भएकाले बालिका स्थानीय एक घरमा काम गर्थिन्। सोही क्रममा साे घरका २३ वर्षीय प्रमोद मण्डलले ललाइफकाई गरी बालिकासँग शारीरिक सम्बन्ध राखे। गर्भ बसेपछि बिहे गर्ने आश्वासन दिँदै घटनाबारे कसैलाई नभन्न दबाब दिएकाे बालिकाले बताइन्। ‘गर्भ रहेको थाहा पाएपछि प्रमोदले बिहे गर्छु, यो विषयमा कसैलाई नभन्नु भनी दबाब दिएको थियो,’ बालिकाले भनिन्, ‘केही दिन आफ्नो घरमा राखे, तर पछि मलाई र छोरीलाई निकाले।’
नाबालिग छोरीलाई आमा बनाई अलपत्र छाडेपछि बालिकाका बुबाले ०८० माघ ३ गते जल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिए। नाबालिक छोरीलाई जबर्जस्ती गरी गर्भधारण गराएको भन्दै परेको उजुरी प्रहरीले माघ १० गते मात्रै दर्ता गर्याे। उजुरी दर्ता भएको झन्डै एक वर्ष बित्न लागिसक्यो, तर प्रतिवादी प्रमोद अझै पक्राउ परेका छैनन्।
आर्थिक रूपले विपन्न बालिकाको परिवारलाई अहिले पीडक पक्षले पैसाको लोभ दिएर दबाब दिँदै आएको छ। ‘दुई छाक खाना कसरी खाने भन्ने चिन्ताले सताइरहने अवस्थामा छोरी र नातिनी कसरी पाल्नु भन्ने अर्को चिन्ता छ,’ बालिकाकी आमाले भनिन्, ‘पैसाको लोभ दिएर बिहे नगराउन दबाब दिँदै आएका छन्।’ न्याय खोज्दै प्रहरीमा पुगे पनि अझै आरोपी पक्राउ नपरेको भन्दै उनले न्यायको अपिल गरिन्।
सप्तरीका एसपी ढकेन्द्र खतिवडाले पीडित पक्षको जाहेरी दर्ता भएको जानकारी दिँदै भने, ‘प्रमोद फरार छ। उनको खोजी भइरहेको छ।’