मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २६ शुक्रबार
  • Friday, 10 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २६ शुक्रबार १७:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विवादबिच महानगरले फेरि राख्यो शिक्षकका लागि तालिम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २६ शुक्रबार १७:११:oo

विवादबिच काठमाडौं महानगरपालिकाले शिक्षकका लागि फेरि तालिम राखेको छ। महानगरको शिक्षा विभागले शुक्रबार एक सूचना जारी गर्दै ७२० शिक्षकका लागि विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम विषयमा तालिम आयोजना गर्न लागेको हो।

‘टिचर कलेज कार्यक्रम’अन्तर्गत शिक्षकहरूको क्षमता विकास गराएर यसबाट प्राप्त योग्यता र सीपलाई नतिजा सुधारको लक्ष्य राखेर तालिम सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ। माघ ३ गतेदेखि सुरु हुने तालिममा महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका जुनसुकै विद्यालयमा अध्यापन गराइरहेका शिक्षकलाई सहभागी गराइने शिक्षा अधिकृत केशव ज्ञवालीले बताए।

यसअघि महानगरले सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरूका लागि १८ गतेबाट सुरु हुने जाडो बिदामा तालिमको आयोजना गर्न लागेको थियो। सूचना ढिला आएको र जाडो बिदामै तालिमको आयोजना गर्न लागेको भन्दै शिक्षकहरूले तालिममा सहभागी नहुने निर्णय गरेका थिए।

निजी विद्यालयका शिक्षक पनि सहभागी हुन पाउने
तालिममा सहभागी हुन महानगरपालिकाले जारी गरेको क्युआर कोड वा लिंकमार्फत आवेदन गर्न सकिनेछ। आवेदकमध्येबाट सामुदायिक विद्यालयका शिक्षकलाई छनोटकाे प्राथमिकतामा राखिने बताइएको छ। 

शिक्षकको क्षमता विकास गराएर शैक्षिक क्रियाकलापलाई सिर्जनात्मक, एकीकृत, सीप र व्यवहारमा आधारित बनाउने लक्ष्य राखेर सञ्चालन गर्न लागेको तालिममा ७२० शिक्षकलाई सहभागी गराइने महानगरले जनाएको छ। यसमा महानगरपालिकाभित्र स्थायी बसोबास भएका र महानगरपालिकाभित्रका जुनसुकै विद्यालयमा अध्यापन गराइरहेका शिक्षकलाई दोस्रो प्राथमिकतामा राखिएको छ। स्थायी बसोबास जहाँको भए पनि महानगरपालिकाभित्रका जुनसुकै विद्यालयमा अध्यापन गराउने शिक्षकलाई छनोटको तेस्रो प्राथमिकतामा राखिएको छ।

तालिमअन्तर्गत माघ ३ र ४ गते कक्षा १० का गणित, विज्ञान, सामाजिक, नेपाली, अंग्रेजी, अर्थशास्त्र विषयका शिक्षकलाई तालिम हुनेछ। हरेक विषयमा ६० शिक्षकलाई तालिममा सहभागी गराइनेछ। माघ ३ गतेदेखि ८ गतेसम्म प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकका लागि केन्द्र सञ्चालन व्यवस्थापनका लागि तालिम हुनेछ। यस समूहमा ९० जना शिक्षकलाई सहभागी गराइनेछ।

कक्षा एकदेखि कक्षा तीनसम्म अध्यापन गराइरहेका २७० जना शिक्षकलाई माघ ३ गतेदेखि माघ ७ गतेसम्म तालिम सञ्चालन हुनेछ। एकीकृत पाठ्यक्रम तथा निर्माणात्मक मूल्यांकन तालिम यस समूहका शिक्षकलाई प्रदान गर्न लागिएको हो।
 
तालिममा सहभागी हुन इच्छुक शिक्षकले माघ २ गते दिउँसो १ बजेभित्र अनलाइनबाट आवेदन दर्ता गराउनुपर्नेछ। तालिममा सहभागी आवेदकको नाम र तालिम केन्द्र सोही दिन प्रकाशन गरिने महानगरले जनाएको छ।