पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिए पनि उनी तत्काल नछुट्ने भएका छन्। कास्कीपछि उनलाई काठमाडौं ल्याउने तयारी छ।
गत आइतबार कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको ठगीमा उनलाई पनि प्रतिवादी बनाइएको छ। काठमाडौं ल्याएर उनलाई अदालतमा पेस गर्ने प्रहरीको तयारी छ। धरौटी बुझाएर छुटेलगत्तै उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरी स्रोत बताउँछ। प्रक्रिया मिलेसम्म लामिछानेले आजै धरौटी बुझाउने तयारी गरेको जिल्ला अदालत, कास्कीका एक अधिकारीले बताए।
काठमाडौंमा पनि छुटेमा चितवन, रुपन्देही र पर्सा लगेर उनीविरुद्ध मुद्दा दायरको तयारी प्रहरीको छ। गीतेन्द्रबाबु(जिबी) राईको समूहले सञ्चालन गरेका सहकारीको रकम लामिछानेसमेत तत्कालीन सञ्चालक रहेको गोर्खा मिडियामा गएको भन्दै उनलाई सबै सहकारीको ठगीमा प्रतिवादी बनाउन लागिएको छ। यसअघि काठमाडौं, चितवन र बुटवलमा लगेर प्रहरीले लामिछानेको बयान लिइसकेको छ।