नेपाली भूमिमा विदेशी पाहुनाको सत्कार गर्दै आएको सोल्टी होटल्स एन्ड रिसोर्टस्ले युरोपमा पनि सेवा विस्तार गरेको छ । यससँगै विदेशीले नेपाली आतिथ्य सत्कार युरोपकै भूमिमा पनि पाउने भएका छन् ।
जर्मनीको फ्रैंकफर्टस्थित दुई होटेलको व्यवस्थापन जिम्मेवारी लिँदै सोल्टी होटल्स एन्ड रिसोर्टस्ले अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको छ । म्यारियट, हिल्टन, सिन्तामणि र हायातलगायतका विदेशी ब्रान्डका दर्जनौँ चेन होटेलले नेपालमा आतिथ्य सेवा प्रवाह गरिरहेको परिवेशमा नेपाली ब्रान्डको होटेल युरोप पुगेको हो ।
विदेशका होटेल व्यवस्थापनमा हात हालेसँगै सोल्टी नेपालको पहिलो अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्ड बनेको सोल्टीका उपाध्यक्ष सुदर्शन चापागाईंले बताए । उनका अनुसार सोल्टीले जर्मनीको ट्रिप इन होटेल समूहका दुईवटा होटेलको व्यवस्थापन हेर्ने जिम्मेवारी लिएको छ । ट्रिप इनले युरोपका विभिन्न सहरमा ३२ सय कोठा रहेको ५० भन्दा बढी होटेल सञ्चालन गर्छ ।
सोल्टीले १७ पुसदेखि जर्मनीमा एउटा होटेलको व्यवस्थापन गर्न सुरु गरिसकेको छ, जसको ‘सोल्टी वेस्टेन्ड मेसी फ्रैंकफर्ट’ नामबाट रि–ब्रान्डिङ गरिएको छ । फ्रैंकफर्टमै अर्को ‘सोल्टी वेस्टेन्ड प्रिमियर मेसी फ्रैंकफर्ट’ होटेलको व्यवस्थापन तथा सञ्चालन १७ फागुनदेखि गर्ने सम्झौता छ ।
‘सोल्टीले आफ्नो ६ दशकभन्दा लामो विरासत अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरेको छ । अब नेपाली आतिथ्य सत्कार युरोपकै जीवन्त र गतिशील सहरहरूमध्येको एक फ्रैंकफर्ट पुगेको छ । यसले अन्तर्राष्ट्रिय स्तरमा नेपाली आतिथ्य अनुभव प्रदान गर्नका लागि सोल्टी ब्रान्डको प्रतिबद्धता तथा दृढतालाई समेत प्रतिबिम्बित गर्दछ,’ उपाध्यक्ष चापागाईंले नयाँ पत्रिकासँग भने ।
नेपाली आतिथ्य सेवा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन तीन आतिथ्य कम्पनीहरू ट्रिप इन मेनेजमेन्ट एन्ड सर्भिस लिमिटेड, ट्रिप इन रिसेन लिमिटेड र सोल्टी होटेलको एसोसियट कम्पनी स्ट्रिम पिक इन्टरनेसनल प्रालिबिच सहकार्य भएको छ । स्ट्रिम पिक इन्टरनेसनल सोल्टीको म्यानेजमेन्ट हेर्ने कम्पनी हो । यो सहकार्य सोल्टी ब्रान्ड सुदृढ गर्दै अन्तर्राष्ट्रियस्तरमा होटेल व्यवस्थापन गर्ने पहिलो प्रयास हो ।
फ्रैंकफर्टमा गैलसवर्ट एस–वान रेलवे स्टेसननजिकै अवस्थित दुवै होटेलबाट फ्रैंकफर्ट व्यापार मेला सेन्टर र मुख्य ट्रेन स्टेसनसहित सहरका प्रमुख व्यावसायिक केन्द्रहरूसम्म सहजै पुग्न सकिन्छ । दुवै होटेल व्यावसायिक, यात्री अतिथि र पर्यटकका लागि आदर्श विकल्प हुने स्ट्रिम पिक इन्टरनेसनलको विश्वास छ ।
‘सोल्टी वेस्टेन्ड मेसी फ्रैंकफर्ट’मा अतिथिलाई आरामदायक, सुविधासम्पन्न र रमणीय वातावरण प्रदान गर्ने ५० कोठा छन् । यस्तै, ‘सोल्टी वेस्टेन्ड प्रिमियर मेसी फ्रैंकफर्ट’मा सुधिासम्पन्न अत्याधुनिक २३६ कोठा छन्, जसमा परिष्कृत सौन्दर्यताको साथै आधुनिक सेवासुविधाको उपयुक्त संयोजन पनि छ,’ सोल्टीले विज्ञप्तिमा भनेको छ ।
सन् १९६६ मा पहिलोपटक ‘द सोल्टी काठमाडौं’ सञ्चालनमा आएको थियो । ६ दशकअघि काठमाडौंबाट सुरु सोल्टीको आतिथ्य सत्कार नेपालभित्र नगरकोट, इटहरी, जनकपुर, चितवन, रूपन्देही र नेपालगन्जमा यसअघि नै पुगेको छ । सोल्टीकै व्यवस्थापनमा मनकामनालगायत ठाउँमा रिसोर्ट सञ्चालनमा आउँदै छन् । पोखरामा पनि सोल्टीले आफ्नै पूर्वाधारसहित लक्जरी रिसोर्ट सञ्चालनको तयारी गरेको छ ।