एकपटक एक युवक गौतम बुद्धकहाँ पुगे र भने– भगवान्, कृपया मलाई आफ्नो शिष्य बनाउनुहोस् । म तपाईंबाट धेरै ज्ञान हासिल गरेर तपाईंजस्तै महाज्ञानी बन्न चाहन्छु । बुद्धले ती युवकलाई सम्झाउँदै भने– बाबु, तिमी मबाट केही सिक्न चाहन्छौ भने १० दिनपछि आऊ ।
ती युवक त्यहाँबाट फर्किए र १० दिनपछि पुनः बुद्धसामु उपस्थित भए अनि आफूलाई शिष्य बनाएर ज्ञान दिन अनुरोध गरे । बुद्धले यसपटक पनि पहिलेजस्तै जवाफ दिए र १० दिनपछि पुनः भेट्नू भन्दै बिदा गरे । यही क्रम महिनौँसम्म चल्यो । आखिरमा हैरान भएर एक दिन युवकले बुद्धसामु प्रश्न गरे– भगवान्, आखिर हजुर मलाई किन यसरी झुलाउँदै हुनुहुन्छ ? मलाई आफ्नो शिष्य बनाएर ज्ञान दिन हजुरलाई केले रोकिरहेको छ ?
यसपटक बुद्धले भने– ठिक छ, भित्र गएर एक गिलास पानी ल्याऊ त ! बुद्धको आदेश पाउनासाथ ती युवक भित्र गए र एक गिलास पानी लिएर आए । त्यो पानी लिँदै बुद्धले भने– ठिक छ, अब फेरि अर्को एक गिलास पानी ल्याऊ । युवकले भित्रबाट अर्को गिलासमा पनि पानी ल्याए । बुद्धले आफ्नो हातको पानीको गिलास युवकलाई दिँदै भने– ल अब यो गिलासको पानी त्यो गिलासमा खन्याऊ त !
युवकले भने– भगवान्, मैले यस्तो गरेँ भने त पानीजति सबै पोखिइहाल्छ नि ! किनकि, यो गिलास त पहिल्यै पानीले भरिएको छ । बुद्धले हल्का मुस्कुराउँदै भने– हो, मैले भन्न खोजेको पनि यही हो । तिमी केही सिक्न तयार भएकै छैनौ । पहिल्यै तिमीभित्र असीमित पूर्वाग्रह र अहंकार भरिएको छ । तिनलाई त्याग नगरी तिमी ज्ञान सिक्न सक्दैनौ । जसरी एउटा भरी गिलासको पानी अर्को भरी गिलासमा खन्याउन एउटालाई खाली गर्नैपर्छ, ठिक त्यसरी नै नयाँ ज्ञान लिन पनि पहिल्यै दिमागमा भरिएका यस्ता पूर्वाग्रह र अहंकार खाली गर्नुपर्छ ।