चिकित्सकहरू भन्छन्– नेपालमा संक्रमण पुष्टि भइसकेको छैन, तर जोखिम उच्च छ
मंकीपक्स संक्रमणको उच्च जोखिममा रहेको भन्दै सरकारले सतर्कताका लागि तयारी थालेको छ । भारतलगायत विश्वका ८० भन्दा बढी राष्ट्रमा मंकीपक्स फैलिइसकेका कारण नेपाल पनि जोखिममा रहेको भन्दै तयारी थालिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मंकीपक्स नियन्त्रणका लागि प्रतिकार्य गतिविधि सञ्चालन गरिएको जनाएको छ ।
भारत र थाइल्यान्डमा मंकीपक्सको तीव्र संक्रमण फैलिइरहेका कारण जोखिम बढेकाले नेपालमा प्रतिकार्य गतिविधि थालिएको इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख डा. खगेश्वर गेलालले बताए । उनले मंकीपक्सको केस अनुसन्धान गर्न देशभरि १४ जना फोकल चिकित्सक तोकिएको र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंकीपक्स परीक्षण कीटमार्फत नमुना परीक्षणको तयारी भएको बताए । योसँगै भारतसँग सीमा जोडिएका नाका र त्रिभुवन विमानस्थलमा निगरानी बढाएको उनले बताए ।
नेपालमा हालसम्म मंकीपक्सका चार शंकास्पद बिरामीकोे नमुना परीक्षण गरिए पनि संक्रमण पुष्टि भने भइसकेको छैन । डब्ल्युएचओ नेपालका प्रमुख डा. राजेश सम्भाजीराव पाण्डेले नेपालमा अहिलेसम्म मंकीपक्स संक्रमण नदेखिए पनि उच्च जोखिममा रहेकाले पूर्वतयारी थालेको बताए । भारतमा हालसम्म नौजनामा मंकीपक्स संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये चारजना दिल्लीमा रहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा तीन साताअघि अर्थात् १४ जुलाईमा मात्र पहिलोपटक संक्रमण पुष्टि भए पनि एकजनाको मृत्यु भइसकेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वभर २४ हजारभन्दा बढीमा मंकीपक्स संक्रमण पुष्टि भइसकेको छ भने रोग सार्नेमध्ये ९७ दशमलव पाँच प्रतिशत संक्रमण पुरुष–पुरुषबीच हुने यौनसम्पर्कबाट सर्ने गरेको डब्लुएचओले जनाएको छ । तीमध्ये ३८ प्रतिशतमा एचआइभी पोजिटिभसमेत देखिएको छ । यस्तै, संक्रमणपछि लक्षण देखिने अवधिसमेत लामो भएकाले जोखिम बढेको चिकित्सकहरूले बताएका छन् । एक व्यक्तिले अर्को व्यक्तिमा २१ देखि २४ दिनभित्रमा संक्रमण सार्न सक्ने भएकाले आइसोलेसन अवधिसमेत एक महिनासम्म रहने डब्लुएचओले जनाएको छ ।
खोप लगाउन अनुरोध
अस्पताल भर्नादर र गम्भीर जोखिम न्यून मानिएको संक्रमण तीव्र फैलिन थालेपछि अमेरिकी रोग नियन्त्रण महाशाखाले मंकीपक्सविरुद्धको खोप लगाउन अनुरोध गरेको छ । तर, हाल प्रयोगमा आइरहेको ‘एसिएएम २०००’ नामक खोपले इम्युनोक्प्रोमाइज हुने व्यक्तिमा समस्या निम्त्याइरहेकाले प्रयोगमा नल्याउन सिडिसीले अनुरोध गरेको छ । एसिएएम २००० भ्याक्सिनमा मंकीपक्सको सक्रिय भाइरस प्रयोग गरिएकाले तत्काल नलगाउन अनुरोध गरिएको हो ।
भ्याक्सिन उपलब्ध भएका देशमा ‘जेन्नोइज’ नामक भ्याक्सिनको डोजहरूलाई प्राथमिकता दिन सिफारिस गरिएको छ । यो भ्याक्सिनमा भाइरसको निस्क्रिय जिन मात्र समावेश गरिएको हुँदा साइड इफेक्ट नदेखिएको सिडिसीको दाबी छ ।
मंकीपक्सलाई गत २३ जुलाईमै विश्व आपत्कालीन अवस्था घोषणा गरिसकेको छ भने हालसम्म २५ हजार आठ सय ६४ जनामा संक्रमण पुष्टि भएको डब्लुएचओले जनाएको छ । जसमध्ये ६ हजार ६ सय १७ जना अमेरिकामा मात्रै छन् । यस्तै हालसम्म स्पेनमा दुईजना, ब्राजिल र भारतमा एक–एक जना गरी चारजनाको संक्रमणका कारण मृत्यु भएको छ ।
इम्युनोक्प्रोमाइजमा संक्रमणको जोखिम बढी
विश्वभर फैलिइरहेको मंकीपक्स संक्रमण इम्युनोक्प्रोमाइज (प्रतिरोधी क्षमता कमजोर हुने) व्यक्तिमा बढी संक्रामक पाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । मंकीपक्स सामान्यतया दुईदेखि चार साताभित्र बलियो प्रतिरक्षा क्षमता भएका व्यक्तिमा आफैँ निको भइरहे पनि इम्युनोक्प्रोमाइजहरूमा जटिल समस्या निम्त्याइरहेको पाइएको हो । संक्रमण भएका व्यक्तिमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र चिसो लाग्नेजस्ता फ्लुका लक्षण देखिने र बिस्तारै छालामा फोका उठ्नेजस्ता लक्षण देखिइरहेको चिकित्सकहरूको भनाइ छ ।
जसमध्ये अधिकांशजसो अनुहारबाट छालामा समस्या सुरु भएर शरीरका अन्य भागमा फैलिने गरेको पाइएको छ । यद्यपि, विश्व स्वास्थ्य संगठनले हालको प्रकोपमा कतिपयमा सामान्य लक्षण नभएर सीधै छालामा समस्या देखिइरहेको जनाएको छ ।