मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण २१ शनिबार ०७:५१:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

पुल निर्माणमा नयाँ कीर्तिमान

Read Time : > 2 मिनेट
२०७९ श्रावण २१ शनिबार ०७:५१:००

आर्थिक वर्ष ०७८/७९ मा दुई सय ८२ नयाँ मोटरेबल तथा अकासे पुल सञ्चालनमा

मोटरेबल पुल निर्माण गर्ने मामलामा गत आर्थिक वर्ष ०७८/७९ मा नयाँ इतिहास कायम भएको छ । गत आवमा देशभर दुई सय ८२ मोटरेबल तथा अकासे पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन्, जुन वार्षिक रूपमा हालसम्मकै सबैभन्दा धेरै हो । 

यसअघि आव ०७५/७६ मा दुई सय ३० पुल बनाएर नयाँ इतिहास (रेकर्ड) कायम भएको थियो । गत आवमा त्यो रेकर्ड तोडिँदै पुल निर्माणमा नयाँ इतिहास कायम भएको सडक विभागको तथ्यांकमा उल्लेख छ । गत आवमा प्रदेश तथा स्थानीय तहअन्तर्गतका सडकमा एक सय ६५ र राजमार्गमा एक सय १७ नयाँ मोटरेबल पुल बनेका हुन् । 

विभागका पुल महाशाखा प्रमुख उमेशबिन्दु श्रेष्ठले पुल निर्माणमा नयाँ इतिहास कायम भएको बताए । ‘गत आवमा दुई सय ८२ नयाँ पुलको निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ, जुन हालसम्मकै उच्च  हो,’ उनले भने, ‘यो विभागको एउटा ठूलो उपलब्धि हो ।’ यद्यपि, पछिल्लो समय पुलसम्बन्धी आयोजनाहरू थपिएका छन् । आयोजना थपिएपछि निर्माण सम्पन्न हुने पुलको संख्या पनि स्वतः बढेको विभागको भनाइ छ । विभागका अनुसार अहिले देशभर झन्डै तीन हजार पुल सञ्चालनमा छन् । 

सुविधा बढ्नुका साथै समयको बचत
पुलको संख्या बढेपछि आम सवारीसाधन तथा यात्रुलाई यात्रा गर्न सहज हुने पुल महाशाखाका प्रमखु श्रेष्ठ बताउँछन् । साथै, यात्रुको समय पनि बचत हुने उनको भनाइ छ । ‘पुल नहुँदा गाडीहरू खोला–नदीबाटै घुमेर जानुपर्ने बाध्यता थियो । जुन बाटो अप्ठ्यारो पनि हुन्थ्यो । तर, अब पुलमार्फत सडकको कुल लम्बाइ कम हुन्छ । फलस्वरूप समय पनि बचत हुन्छ । साथै, गन्तव्यमा छिटो र सहज रूपमा पुग्न सकिन्छ,’ उनले भने, ‘साथै, डिजेल–पेट्रोलको खपत कम हुन गई खर्चसमेत कम हुन्छ ।’ बर्खामा खोलानाला बढेर आवतजावतमै समस्या हुने गरेको छ । त्यो समस्या कम गर्न पनि पुलको सहयोग पुग्ने उनको भनाइ छ । ‘पुल नभएको अवस्थामा बर्खामा खोलानाला बढ्दा सवारीसाधन सजिलै पार हुन सक्ने अवस्था हुँदैन । सवारीसाधन बगाउन पनि सक्छ,’ उनले भने, ‘तर, पुल  बनेपछि त्यो समस्या हुँदैन । समग्रमा पुल बन्नुका पछाडि फाइदै–फाइदा छ ।’

प्रदेश १ मा सबैभन्दा धेरै पुल निर्माण, सुदूरपश्चिममा कम
तथ्थांकअनुासर गत आवमा प्रदेश १ मा सबैभन्दा धेरै पुलको निर्माण भएको छ । गत आवमा त्यहाँ ७६ पुल निर्माण भई सञ्चालनमा आएको छ । दोस्रो नम्बरमा भने लुम्बिनी प्रदेश छ । समीक्षा अवधिमा उक्त प्रदेशमा ५३ पुल थपिएका छन् । सबैभन्दा कम भने सुदूरपश्चिम प्रदेशमा देखिएको छ । गत आवमा उक्त प्रदेशमा १८ वटा नयाँ पुल सञ्चालन भएका छन् । 

तैपनि लक्ष्यभन्दा कम 
विभागले गत आवमा तीन सय नयाँ पुल सञ्चालनमा ल्याउने लक्ष्य राखेको थियो । तर, दुई सय ८१ अर्थात् ९४ प्रतिशत लक्ष्य प्राप्ति भएको विभागको तथ्यांकमा उल्लेख छ । त्यसअनुसार हालसम्मकै उच्च संख्यामा पुल निर्माण भए पनि लक्ष्यअनुसार नभएको विभागले जनाएको छ । 

६ वर्षमा १०६८ पुल सञ्चालनमा 
तथ्यांकअनुसार पछिल्लो ६ वर्ष (आव ०७३/७४ यता) मा भने एक हजार ६८ नयाँ पुल थपिएको छ । आव ०७३/७४ मा ७२ वटा पुल थपिएको थियो । गत आव ०७८/७९ मा भने दुई सय ८२ नयाँ पुल थपिएका छन् । र, यसबीचमा थपिएका पुलहरूलाई जोड्दा कुल एक हजार ६८ वटा नयाँ पुल निर्माण भएको विभागको भनाइ छ । 

मागअनुसार पुल बन्न सकेको छैन
अहिले नेपालमा वार्षिक औसत दुई सय ५० नयाँ पुल सञ्चालनमा आएका छन् । केही वर्षअघिसम्म वार्षिक एक सय पुल पनि सञ्चालनमा आउन सकेका थिएनन् । त्यसअनुसार पछिल्लो समय पुल निर्माणमा राम्रो प्रगति भएको देखिन्छ । तर, अझै पनि मागअनुसार पुलको निर्माण भने हुन नसकेको विभागका प्रवक्ता भीमार्जुन अधिकारी बताउँछन् । 

‘पछिल्लो समय पुलको माग उच्च मात्रामा बढेको छ । त्यो माग पूर्ति गर्न वार्षिक औसत पाँच सय नयाँ पुल सञ्चालनमा ल्याउनुपर्छ । तर, अहिले वार्षिक औसत दुई सय ५० नयाँ पुल सञ्चालनमा आउने गरेको छ,’ उनले भने, ‘त्यसैले पुल निर्माणमा अझै धेरै काम गर्न बाँकी छ । यतिमा सन्तुष्ट भएर बस्नुहुँदैन ।’ तर, अहिले पुल बनाउने बलियो निकाय सडक विभाग मात्रै भएको तथा पछिल्लो समय प्रदेशहरूले अभ्यास गरे पनि त्यो पर्याप्त नभएको उनले बताए ।