१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २० शुक्रबार
  • Wednesday, 02 July, 2025
२o७९ श्रावण २० शुक्रबार १२:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिके राउत उपेन्द्रको क्षेत्रबाट चुनाव लड्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २० शुक्रबार १२:oo:oo

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सप्तरी– २ बाट चुनाव लड्ने भएका छन्। सप्तरी– २ घर भएका राउत सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने जनमत पार्टीका महासचिव चन्दन सिंहले बताए।

औपचारिक रूपमा घोषणा गर्न बाँकी रहे पनि डा. राउतले सप्तरी– २ बाट चुनाव लड्ने पक्कापक्की भइसकेको महासचिव सिंहले नयाँ पत्रिकासँग बताए। उक्त क्षेत्रबाट ०७४ सालको निर्वाचनमा जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव विजयी भएका थिए।

सरकारमा सहभागी रहेको जसपाविरुद्ध पटकपटक आन्दोलन गरेको जनमत पार्टीका केन्द्रीय अध्यक्ष राउतले जसपा अध्यक्ष यादव निर्वाचित क्षेत्रबाट उम्मेदवारी दिन लागेका हुन्।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ का केही वडामा विजयी भए पनि जनमत पार्टीले कुनै पनि पालिकामा जित निकाल्न सकेन। राउतको घर रहेको सप्तरीको महादेवा गाउँपालिकामा समेत जनमत पार्टीका उम्मेदवार पराजित भएका थिए।

हनुमाननगर कंकालिनी नगरपालिका र बलानबिहुल गाउँपालिकाको प्रमुख पदमा जनमत पार्टीका उम्मेदवार विजयी भएका थिए। यद्यपि, यी दुवै पालिका अध्यक्ष राउत उठ्ने भनिएको क्षेत्र नम्बर २ मा पर्दैन। 

२४ फागुन ०७५ मा तात्कालिक प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसँग ११ बुँदे सहमति गरी सिके राउत मूलधारको राजनीतिमा आएका थिए। स्वतन्त्र मधेस गठबन्धनबाट जनमत पार्टी दर्ता गराएपछि महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षको उपनिर्वाचनमा उम्मेदवारी दर्ता गरी सो पार्टी निर्वाचन प्रक्रियामा सहभागी भएको थियो। 

गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा मधेस प्रदेशका एक सय ३६ स्थानीय तहसँगै प्रदेश १, लुम्बिनीलगायतका प्रदेशमा उम्मेदवारी दर्ता गराएको थियो। स्थानीय तहमा जनमत पार्टीबाट नगर प्रमुखमा एक, गाउँपालिका अध्यक्षमा एक, उपाध्यक्षमा एक र वडा अध्यक्षमा १९ जना निर्वाचित भएका छन्।