मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
निष्णु थिङ
२०७९ श्रावण १८ बुधबार १०:३०:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बालेन साहको कार्यशैलीमाथि प्रश्न

Read Time : > 3 मिनेट
निष्णु थिङ
२०७९ श्रावण १८ बुधबार १०:३०:००

दलतन्त्रको शासनबाट आजित काठमाडाैंका मतदाताले बालेन साहलाई महानगर प्रमुखमा विजयी गराए । साहलाई जनताले अँध्यारोमा सानो झिल्काका रूपमा लिए । राजनीतिक विश्लेषक सिके लालले उनलाई जुनकिरीको संज्ञा दिएका छन् । बालेनलगायत धरान, धनगढीका स्वतन्त्र उम्मेदवारले हासिल गरेका नतिजाले धेरै सार्वभौम र स्वतन्त्र चेत राख्ने युवापंक्तिले उनलाई प्रेरणाको स्रोत मानेका छन् । उनको उदाहरणबाट धेरै उत्प्रेरित भएका छन् । सबैलाई थाहा छ, उनले निर्वाचनमा काठमाडाैंको फोहोर सफा गर्ने उद्घोषसहित मत मागेका थिए । यतिखेर फोहोर व्यवस्थापनको चुनौती उनले सामना गर्दै छन् । बालेनले यहाँका सडकका फोहोर मात्रै होइन, राजनीति र प्रशासनका फोहोर पनि सफा गरून् भनेर नागरिकले अपेक्षा गरेका छन् । 

बालेन यतिवेला आफैँले प्रस्तावित गरेर नागरिकले स्वीकृत गरेको परीक्षामा छन् । उनको परीक्षाको घडी सुरु भइसकेको छ । थाहा छैन, उनी आफैँले प्रस्ताव गरेको परीक्षामा सफल हुन्छन् कि असफल ? अहिले नै भन्न हतारो हुन्छ । परीक्षाको पूरा अवधि प्रतीक्षा गर्नैपर्छ । 

बालेनको जिम्मेवारी चुनौतीपूर्ण धेरै कारणले रहेको उनले यतिवेलासम्म महसुस गरिसके होलान् । उनी महानगर प्रमुखका नाताले विभिन्न दलका वडाध्यक्षले नगरभित्र गरेका राम्रा–नराम्रा कामका जस–अपजस दुवै लिनुपर्ने दायित्वमा छन् । काठमाडाैं महानगरभित्र गरिने सबै खालका गतिविधिको उनले दायित्व लिनैपर्छ । बालेनले काठमाडौंका फोहोरसँगसँगै सडकमा मागिहिँड्ने, सडकमै बस्ने बेघरहरूलाई सडकबाटै मुक्त गर्ने घोषणा गरेका छन् ।

त्यसका लागि उनले सीधै बल प्रयोगको विधि अख्तियार गरेका छन् । प्रहरी परिचालनमार्फत सडक मानवलाई धरपकड र डन्डा बजार्न थालेका छन् । केही वर्षअगाडि पंक्तिकारलाई एकजना मित्रले तपाईं यो देशको कार्यकारी प्रधानमन्त्री हुनुभयो भने कसरी सडकमा माग्न बस्नेहरूलाई व्यवस्थापन गर्नुहुन्छ ? भनेर सोध्दा तुरुन्तै जवाफ दिन नसकेर मौन भएको थिएँ । लामो समयसम्म त्यो प्रश्नले लखेटिरह्यो । लामो समयको चिन्तन र खोजपछि पंक्तिकारले सडक मानवको समस्या समाधानबारे एउटा आलेख हिमाल खबरमा प्रकाशित गरेको थियो । (हेर्नुहोस् कसरी सम्बोधन गर्ने सडक मानवको समस्या ? ४ फागुन)

बालेनको कार्यशैलीलाई लिएर कतिपय मिडियाले प्रश्न उठाउँदा उनीहरूविरुद्ध मुद्दा हाल्नुले उनमा सामान्य आलोचनात्मक सुझाव पचाउने र सहने चेतसमेत नरहेको देखिन्छ

सडक मानव व्यवस्थापनका लागि बल प्रयोगको विधि गलत हो । थुप्रै विकल्पमार्फत सडकमानवको व्यवस्थापन गर्न सकिन्छ । बालेनले सडकमानव व्यवस्थापनमा सीधै बल प्रयोगको विधि अपनाएर सामान्य नागरिकको नजरमा पहिलो गल्ती गरेका छन् । त्यसैगरी, उनले दोस्रो गल्ती सडकका छेउछाउमा मकै पोल्ने र सामान्य पसल गर्नेहरूलाई हटाउने उद्घोष गरेर गर्न थालेका छन् । नक्सालमा वृद्धवृद्धाका हरियो मकैसहितको ठेला जफत गरेर दोस्रो गल्ती गरेका छन् । ती वृद्धवृद्धाले पाँच हजार घुस नदिएका कारण नगर प्रहरीले यस्तो गरेको आरोप लगाउँदा त्यसको छानबिन गरी सत्यतथ्य पत्ता लगाउने कोसिससम्म गरिएन ।

प्रातः भ्रमणमा निस्किँदा सिटी सेन्टरको आफ्नै परिधिमा रहेका खाजाघर धमाधम हटाइँदै गरेको देखेँ । यो दृश्य देखेपछि पंक्तिकारलाई बीस वर्षअगाडि दिल्लीमा बस्दाका केही स्मृति ताजा भए । त्यतिवेला नेपालमा माओवादी युद्ध चलिरहेको थियो, धेरै युवा माओवादी र सेनापक्षका तानातानबाट जोगिन र यता बेरोजगारीको समस्या भएकाले दिल्लीमा गएर पेसा–व्यवसाय गरेर बसेका थिए । एकजना चिनेजानेका नेपाली युवाले दिल्लीको कैलाश स्टोपछेउमा मःम, चाउमिन खाजा पसल राखेका थिए । उनको त्यो पसल साँझपख खुल्थ्यो ।

मान्छेको यति भिड लाग्थ्यो कि तिनलाई सहज सेवा दिनै हम्मेहम्मे पथ्र्यो । उनको सानो व्यवसायबाट आफ्ना गाउँका बीस–पच्चीसजनाले त्यहाँ रोजगारी पाएका थिए । त्यहाँ कमाएर आफ्नो घरमा वेला–वेला पैसा पठाउँथे । पछि मैले दिल्ली छाडेपछि थाहा पाएँ, त्यहाँका प्रहरीले निकै दुःख दिएका कारण पसल बन्दै भएछ । उनीहरू सबै नेपाल फर्किए । कोही पनि यहाँ बसेनन्, कसैलाई हाम्रो राज्यले रोजगारी दिन सकेन । राज्यले उनीहरूलाई हरियो राहदानी दियो, त्यही बोकेर ती युवा खाडीतिर लागे । 

बालेनले सडक छेउछाउका पसललाई लखेटेर त्यसमा आश्रितलाई पुनः विदेशमा लखेट्दै छन् । उनले यो तेस्रो गल्ती गर्दै छन् । हाम्रो राज्यले दुई सय वर्षदेखि नेपाली युवा विदेशमा बेचिरहेका सन्दर्भमा बालेनले पनि यसमा योगदान थप्दै छन् । 

यतिवेला औपचारिक अर्थतन्त्र पनि धरापमा परेको वेलामा अनौपचारिक अर्थतन्त्र र रोजगारीका क्षेत्रलाई बालेनले तहसनहस पार्दै छन् । सडकछेउमा सानो पसल थापेर तिनले पैदलयात्रीलाई खाजापानी खुवाएका छन् । राज्यलाई सानै भए पनि आर्थिक गतिविधिबाट सहयोग पुर्‍याएका छन् । आफ्ना केटाकेटीलाई पढाएका–पालेका छन् । वित्तीय संस्थाले तिनैबाट निक्षेप संकलन गरेर खस्किँदो ढुकुटीलाई टेवा दिँदै छन् । वित्तीय संस्था आर्थिक मन्दीबाट गुज्रेको नौ महिना भइसक्यो । ठूला साहुले एकाएक ठूलो रकम बैंकबाट बाहिर लगेका कारण अहिले वित्तीय संस्थाले आर्थिक संकट व्यहोरिरहेका जानकारहरू बताउँछन् । साना पुँजीका सडक पसलेले अहिलेको यस्तो आर्थिक मन्दीमा योगदान गरिरहेको परिप्रेक्ष्यमा बालेनले अचानक चाल्ने कदमले कति नकारात्मक असर गर्छन्, त्यसको हेक्का राखेका छन् कि छैनन् ? 

बालेन निकै असहिष्णु रहेको नगरमा चर्चा हुन थालेको छ । हिमालय टेलिभिजनका रिपोर्टरलाई दुव्र्यवहार गरेकोदेखि हालै समाचारमा आयो, उनले कतिपय सञ्चारगृहविरुद्ध मुद्दा हालेका छन् । त्यहीँ मिडियाको हाइहाइमा एकाएक चर्चाको शिखरमा पुगेर काठमाडौं महानगरका प्रमुखमा निर्वाचित भए । तर, बालेनको कार्यशैलीलाई लिएर कतिपय मिडियाले प्रश्न उठाउँदा उनीहरूविरुद्ध मुद्दा हाल्नुले उनमा सामान्य आलोचनात्मक सुझाब पचाउने र सहने चेतसमेत नरहेको देखिन्छ ।

बालेनले अर्का एक र्‍यापरको सालिक बनाउन र आफ्नो निर्वाचनमा सहयोग गरेको समूहका लागि बजेट वितरण गर्न थालेपछि नगरमा कस्तो–कस्तो गफ हुन थालेको छ, उनलाई थाहा छ कि छैन ? उनको प्रारम्भिक व्यवहार हेरेर ‘यो पनि विगतका नेताजस्तै पो रहेछ’ भन्ने चर्चा चल्न थालेको छ । केशव स्थापित प्रवृत्ति कति घातक हुन्छ भनेर उनले निर्वाचन प्रतिस्पर्धाकै वेलामा बुझेको हुनुपर्छ । बालेनले सिसडोलमा सामान्य नागरिकलाई थर्काएका दृश्य झलझली याद छ । त्यो दृश्य हेरेकाहरूले बालेनमा सम्भ्रान्तीय अहंकार रहेको टिप्पणी हुन थालेको छ । सत्ताको उन्मादले कस्ता–कस्ता ज्ञानी र महात्मामा पनि अहंकार जन्माउँछ । बालेनलाई थाहै होला, अहंकारले छिटै पतन गराउँछ ।