मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २८ बुधबार
  • Wednesday, 12 March, 2025
कमलराज भट्ट काठमाडाैं
२o८१ फाल्गुण २८ बुधबार o६:३o:oo
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

संसदमा सरकारलाई प्रश्नैप्रश्न, राजावादीलाई चेतावनी

Read Time : > 6 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण २८ बुधबार o६:३o:oo

प्रमुख प्रतिपक्षी दलका नेता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्षका अलोकतान्त्रिक, निरंकुश र अहंकारपूर्ण गतिविधिले प्रतिगामी शक्ति हौसिएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले क्रान्तिबाट प्राप्त लोकतन्त्रमा बसेर असंवैधानिक र अलोकतान्त्रिक बाटो नरोज्न राजावादीलाई चेतावनीसमेत दिए ।

पछिल्लो प्रदर्शनको भागीदार सत्तापक्ष नै भएको निष्कर्ष सुनाएका प्रचण्डले सरकारको गलत क्रियाकलाप र प्रतिगामी चलखेलविरुद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट स्थिति सर्जना भएको बताए । ‘सरकारको बेथिति, अविवेक र असफलताले जनतामा व्यवस्थाप्रति नै मोहभंग बढाउँदै लगेको छ,’ उनले भने, ‘सरकारको असफलताले जनताको बलिदानपूर्ण लामो संर्घषबाट प्राप्त उपलब्धि प्रतिगमन र प्रतिक्रान्तिमार्फत उल्ट्याउने कोसिस भइरहेको छ ।’

सरकारको विश्वसनीयता सकिएकै देखेर आज पुरातनपन्थी राजतन्त्रवादी हौसिएको उनको टिप्पणी छ । ‘वर्षौँसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्र्थापनको सपना देख्न डराएकाहरू आज सडकमै ओर्लिएका छन् र सडकबाटै राजतन्त्र पुनस्र्थापनाको चुनौती दिन थालेका छन्,’ प्रचण्डले भने, ‘राजावादीहरूको यो चहलपहलका पछाडि संगठित प्रयास छ । यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन् ।’

प्रचण्डले सत्ताको कुशासनले व्यवस्थालाई चुनौती दिइरहेको बताए । एकातिर राजावादीले सडक र सदनबाट इतिहासको चक्कालाई पछाडितिर फर्काउन चाहिरहेको र अर्कातिर सरकारको कुशासनले त्यसलाई बल पु¥याएको उनको टिप्पणी छ । ‘लोकतन्त्रलाई जति ठुलो चुनौती बाहिरबाट छ, सत्तासीन साथीहरूको कुशासनले व्यवस्थाभित्रैबाट लोकतन्त्रलाई त्योभन्दा बढी चुनौती दिइरहेको छ,’ उनले भने । 

प्रचण्डले यसखालका चलखेल वितगमा पनि भएको, तर आज अचानक वृद्धि किन भयो भन्ने मूल प्रश्न रहेको बताए । ‘पछिल्ला आठ महिनामा सत्तामा रहेका पार्टीहरूले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण हो भन्ने बुझ्न अब कठिनाइ छैन,’ उनले भने । प्रचण्डका अनुसार केपी ओली नेतृत्वको सरकार बन्नुपहिला अर्थात् आठ महिनाअघिसम्म देशमा त्यस्तो ठुलो असन्तोष थिएन । ‘माइतीघर मण्डला पनि लगभग खाली हुँदै थियो । तर, आज मिटरब्याजपीडितले सिडिओ अफिसभित्रै आत्महत्या गर्न खोजेका छन् ।

गुठीपीडित जनता सयौँ किलोमिटर छिचोलेर आफ्ना पीडा सुनाउन काठमाडौं आइपुगेका छन् । लघुवित्तपीडितका समस्या अझ बल्झिएका छन् । सहकारीपीडित थप पीडित भएका छन्,’ प्रचण्डले भने, ‘देशभरका सामुदायिक विद्यालयका शिक्षक चक र डस्टर छाडेर राजधानीकेन्द्रित आन्दोलनमा उत्रिएका छन् । दुग्ध उत्पादक किसान होउन् वा तरकारी उत्पादक, निर्माण व्यवसायी होऊन् वा उखु किसान, दलित होऊन् वा महिला सबै आन्दोलनमै छन् ।’

प्रचण्डले जनताको नजरमा सरकारको विश्वसनीयता गुमेको दाबी गरे । ‘सरकारमा बसेका साथीहरूलाई मेरो प्रश्न छ, हरेक वर्ग र समुदायले अब आन्दोलनबाहेक अरू विकल्पै देख्न छाडेको हो ? सरकारले जनतासँग संवाद गर्ने सामथ्र्य गुमाएको हो कि संवाद गर्न नचाहेको हो ? जनताको नजरमा सरकारको विश्वसनीयता र सरकारसँग संवादको औचित्य नै समाप्त भएको हो ?’ उनले सोधे । 

सत्तारूढ दलले लोकतन्त्रको मूल्य र मान्यता निरन्तर उपेक्षा गरिरहेको, संसद् प्रतिपक्षको हो भन्ने अन्तर्राष्ट्रिय मान्यता कुल्चिँदै गइरहेको पनि उनले स्मरण गराए । ‘संसद् सञ्चालनमा तपाईंहरूले प्रतिपक्षलाई कति स्पेस दिनुभएको छ, आफैँसँग सोध्नुहोस् । प्रमुख प्रतिपक्षी दलको नेता रोस्ट्रममा उभिँदा प्रधानमन्त्रीको अनुपस्थिति निरन्तर कायम रहनु घमन्ड हो कि, संस्कारहीनता हो वा कुण्ठा हो, त्यसको जवाफ पनि आफैँ खोज्नोस्,’ उनले भने । 

प्रचण्डले सरकारका स्वेच्छाचारी र गलत गतिविधिले प्रतिगमनतिरको मनोबल बढेको र आउने दिन अझ चुनौतीपूर्ण हुनेतर्फ सचेत गराए । ‘कसैको तस्बिर छापिएका टिसर्ट लगाएकै कारण सरकारले नागरिकलाई नियन्त्रणमा लिइरहेको छ । लोकतन्त्रमा सरकारले राख्छ त्यस्तो हक ?’ उनले सोधे, ‘हिजो राजामहाराजाझैँ पूरै सडक खाली गरेर सवारी चलाउने सनक चढ्छ हाम्रा प्रधानमन्त्रीजीलाई । लोकतन्त्रले के यो राजसी ठाँट स्वीकार गर्छ ?’

प्रचण्डले दण्डहीनताका कारण वितृष्णा बढाएको पनि स्मरण गराए । ‘सत्तारूढ पार्टीका कार्यकर्ताले आमनागरिक त परको कुरा, बर्दीधारीलाई नै आक्रमण गर्छन्, तर तिनलाई कारबाही हुँदैन,’ उनले भने, ‘यस्तो दण्डहीनताले लोकतन्त्रप्रति जनताको भरोसा बढाउँछ या जनताको वितृष्णा बढाउँछ ?’प्रचण्डले विभिन्न भ्रष्टाचार काण्डमा आफ्नालाई चोख्याउँदा व्यवस्थामाथि प्रश्न उठेको र सत्तापक्षले जनचाहनालाई निरन्तर उपेक्षा गरिरहेको बताए । ‘पछिल्ला आठ महिनामा तपाईंहरूले लोकतन्त्रलाई गंगा नदीजस्तो बनाइदिनुभएको छ । एक–अर्कालाई चोख्याएर, नक्कली भुटानी शरणार्थी काण्ड धुनुभयो गंगा नदीमा, तर फोहोर भयो लोकतन्त्र । बालमन्दिर धुनुभयो, तर फोहोर थुप्रियो लोकतन्त्रमा,’ उनले भने, ‘गिरीबन्धु धुनुभयो, त्रिभुवन विश्वविद्यालयका जमिनहरूको काण्ड धुनुभयो, तर जनताको नजरमा मैलो लोकतन्त्र देखियो । तपाईंहरूप्रतिको आक्रोश आज व्यवस्थाविरुद्ध पोखिन खोज्दै छ भन्ने कुरालाई कत्तिको आत्मसमीक्षा गर्नुभएको छ ?’

अध्यक्ष प्रचण्डले लोकतान्त्रिक मूल्य–मान्यता मिचेर संसद्को पहिलो र दोस्रो दल मिलेर बनेको सरकारप्रति जनताको विश्वास नरहेको भन्दै समीक्षा गर्न अनुरोध गरे । ‘तपाईंहरूले एकातिर त सदनभित्रको पहिलो र दोस्रो पार्टीको गठबन्धन बनाएर सदनभित्रबाट बहस र संघर्षबाट सरकारको विकल्प बन्छ भन्ने ठाउँ सिध्याइदिनुभयो । निरंकुशता हुन्छ भन्ने कुरा स्थापित गरिदिनुभयो । यस्तो सामान्यतः लोकतन्त्रमा हुँदैन भन्ने कुरा थाहा नपाएर होइन, थाहा पाएरै तपार्इंहरूले गर्नुभयो । जनता त्यही विन्दुदेखि तपाईंहरूसँग नराम्रोसँग झस्किएको छ,’ उनले भने । 

प्रचण्डले माओवादीको जागरण अभियानका क्रममा पनि जनतामा सरकारप्रति अविश्वास रहेको र विकल्प खोज्नेतिर लागिरहेको पाएको सुनाए । ‘एकातिर तपाईंहरूसँग दुईतिहाइ छ, तर यही दुईतिहाइ लोकतन्त्रका लागि घातक हुँदै छ । तपाईंहरू दुईतिहाइ भनेर ढुक्क देखिनुभएको छ, जसलाई नियुक्त गरे पनि भयो, तीन नम्बरकोलाई एक नम्बर बनाए पनि भयो, एक नम्बरकोलाई चार नम्बरमा फालिदिए पनि भयो, जे–जे गरे पनि भएको छ किनकि तपाईंहरूसँग दुईतिहाइ छ । तर, यो दुईतिहाइ नै नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रका लागि घातक हुने त होइन भन्ने प्रश्न जनताको मनमा जन्मिसकेको छ । यसमा गम्भीर रूपमा विचार गर्नुस्,’ उनले भने ।

सरकार कुशासन र स्वार्थ समूहहरूको भरिया भएर उभिँदा जनतामा निराशा र आक्रोशको आगो ज्यामितीय रूपमा बढेको भन्दै प्रचण्डले त्यो आगो लोकतन्त्रकै विरुद्ध प्रयोग हुने खतरा अहिले बढेर गएको बताए । ‘बेथिति र विकृति सरकारले नै बोकेको छ । व्यापारीहरूसँग बक्यौता उठाउन खोज्यो, जथाभावी लाइसेन्स बेच्न दिएन भनेर विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक सरकारको कोपभाजनमा पर्नुभएको छ । प्रतिगमनकारी नारायणहिटीको गेटैमा आइपुग्दा पनि सरकारको कार्यशैली यस्तो भएपछि लोकतन्त्र जोखिममा पर्दैन त ?’ उनले प्रश्न गरे । 

अध्यक्ष प्रण्डले सत्तापक्षकै रबैयाका कारण पछिल्ला प्रदर्शन भएको निष्कर्ष सुनाउँदै सरकारलाई सचेत गराए । ‘पछिल्ला प्रदर्शनमा उत्रिएको त नेपाली जनता नै हो नि । यसलाई जनताको असन्तोष, अव्यवस्था र कुशासनविरुद्ध जनताको आक्रोशका रूपमा बुझ्न ढिला गरियो भने धेरै ढिला हुन सक्छ । सरकारलाई मेरो चेतावनीपूर्ण आग्रह छ, यसलाई गिजोल्नतिर नलाग्नोेस्, सत्ताको अनावश्यक प्रदर्शनतिर नलाग्नोस् । तपाईंहरूको अनावश्यक अहंकार र दुर्वचन, उपेक्षा, घमन्ड र अविवेकको मूल्य हो त्यो । त्यसको थप मूल्य तिर्न यो देश तयार छैन,’ उनले भने । 

लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न सुझाव
प्रचण्डले असंवैधानिक र अलोकतान्त्रिक बाटो अपनाए त्यसले ठिक नतिजा नदिने बताए । पूर्वशाही परिवारमाथि उदारता देखाएर तत्कालका लागि सुरक्षित बस्ने ठाउँ दिएको भन्दै प्रचण्डले राजवादीहरूलाई लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न सुझाए । ‘यो इतिहास क्रान्तिको मजबुरी थियो भन्ने कसैलाई लागेको छ भने त्यो निकै ठुलो भ्रम मात्रै हुनेछ । उदारतालाई कमजोरी ठानियो भने इतिहास निकै निर्मम भएर प्रस्तुत हुन सक्छ भनेर सबैले हेक्का राख्न जरुरी छ,’ प्रचण्डले भने, ‘हिजो राजतन्त्रमा गणतन्त्र माग्दा टाउकाको मोल तोकिएको थियो । अहिले राजावादी साथीहरू सम्मानित संसद्मै हुनुहुन्छ । लोकतन्त्र र राजतन्त्रको तुलना हुनै सक्दैन भन्ने राम्रो उदाहरण योभन्दा केही हुन्छ र ? एउटा विचारका रूपमा राजतन्त्रसँग मेरा असहमति छन्, तर म लोकतान्त्रिक हकको सम्मान गर्दछु ।’ 

प्रचण्डले देशका सबैभन्दा सीमान्त वर्ग, लिंग, जाति, समुदाय समग्रको त्याग र बलिदानको परिणामका रूपमा गणतन्त्र आएको स्मरण गराउँदै सार्वभौम भइसकेका नेपाली जनता फेरि रैती हुन्छन् भनेर सोच्नु ठुलो भ्रम हुने टिप्पणी गरे । राजतन्त्र समाप्त भएका रुस, फ्रान्स, सर्बिया, बुल्गेरिया, इरान, अफगानिस्तानमा राजतन्त्र फर्काउन चाहने पार्टी अस्तित्वमा रहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘राजावादीहरूलाई मेरो आग्रह छ– लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नोस्, हामीलाई आपत्ति छैन । लोकतन्त्र जति प्रचण्डको हो, त्यति नै व्यक्ति ज्ञानेन्द्र शाहको पनि हो भन्ने मान्यता हामी राजनीतिक दलहरूले राखेका छौँ र हाम्रो संविधानले त्यो मान्यता स्थापित गरेको छ । तर, लोकतन्त्रका मूलभूत सिद्धान्त नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो रोजियो भने क्रान्तिले फेरि एकपटक आफ्नो शक्ति देखाउनेछ ।’

प्रचण्डले प्रगिगमन सफल हुन नदिइने प्रतिबद्धता जनाए । ‘शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ताको नाताले यो संसद्लाई विश्वास दिलाउँछु, प्रगिगमन सफल हुन दिइनेछैन । जुनसुकै राजनीतिक दल समर्थक भए पनि गणतन्त्र प्राप्तिको संघर्ष र क्रान्तिका सबै महान् सहिदहरूको सपनाको जिम्मा लिन म तयार छु,’ उनले भने, ‘तपाईंहरूले अलिकति आत्मसमीक्षा गरिदिनुभयो र संसद्भित्रै विकल्प हुन सक्छ भन्ने मान्यतातिर अगाडि बढिदिनुभयो भने त्यो धेरै ठुलो कुरा हुनेछ,’ उनले भने । 
प्रचण्डले दुईतिहाइको भ्रमबाट मुक्त भएर अगाडि बढन सत्तारूढ दललाई आग्रह गरे । ‘दुईतिहाइको अहंकारमा तपाईंहरूले दौडाएको कुशासनको घोडा नै अहिले लोकतन्त्रमाथिको सबैभन्दा ठूलो संकट बन्दै छ । यो संकटको सामना गर्न सबैभन्दा ठूलो जिम्मेवारी सत्तारूढ दलहरूकै हुन आएको छ । तपाईंहरूको दुईतिहाईको अहंकारले लाखौँ जनतालाई सडकमा पु¥याउँदै छ । यसको गम्भीर आत्मसमीक्षा गर्नुहोला । लोकतन्त्रको सुदृढ गर्नतिर तपाईंहरूका कदम बढेमा हाम्रो साथ हुनेछ,’ उनले भने । 

लामिछाने निलम्बनको विरोध
प्रचण्डले संसद्मा प्रतिपक्षीलाई उपेक्षा गर्ने घटनाका रूपमा रास्वपा सभापति रवि लामिछानेको निलम्बनलाई पनि जोडे । ‘प्रतिपक्षी नेतालाई अनुचित ढंगले निलम्बन गरिएको छ । त्यसले लोकतन्त्रप्रतिको जनआस्थामा परेको प्रभाव आफैँ मूल्यांकन गर्नुहोस्,’ उनले भने, ‘हिरासतमा नभएको नेतालाई संसद्मा आउन दिने प्रचलन हामीले पहिले स्थापित गरिसकेका छौँ । सदनभित्र बहस गराउँदा मात्रै लोकतन्त्र सुदृढ गर्न मद्दत गर्छ, ठाउँठाउँ घुमाएर हुर्मत लिने कामले लोकतन्त्रलाई मद्दत गर्दैन, यो कुरा पनि हेक्का रहोस् ।’

प्रमुख प्रतिपक्षी दलका  नेता प्रचण्डले भने–

  • सरकारको बेथिति, अविवेक र असफलताले जनतामा व्यवस्थाप्रति नै मोहभंग बढाउँदै लगेको छ । सरकारको असफलताले जनताको बलिदानपूर्ण लामो संघर्षबाट प्राप्त उपलब्धि प्रतिगमन र प्रतिक्रान्तिमार्फत उल्ट्याउने कोसिस भइरहेको छ । वर्षौँसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्र्थापनको सपना देख्न डराएकाहरू आज सडकमै ओर्लिएका छन् र सडकबाटै राजतन्त्र पुनस्र्थापनाको चुनौती दिन थालेका छन् । राजावादीहरूको यो चहलपहलका पछाडि संगठित प्रयास छ । यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन् ।
  • लोकतन्त्रलाई जति ठुलो चुनौती बाहिरबाट छ, सत्तासीन साथीहरूको कुशासनले व्यवस्थाभित्रैबाट लोकतन्त्रलाई त्योभन्दा बढी चुनौती दिइरहेको छ । पछिल्ला आठ महिनामा सत्तामा रहेका पार्टीहरूले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण हो भन्ने बुझ्न अब कठिनाइ छैन ।
  • राजावादीहरूलाई मेरो आग्रह छ– लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नोस्, हामीलाई आपत्ति छैन । लोकतन्त्र जति प्रचण्डको हो, त्यति नै व्यक्ति ज्ञानेन्द्र शाहको पनि हो भन्ने मान्यता हामी राजनीतिक दलहरूले राखेका छौँ र हाम्रो संविधानले त्यो मान्यता स्थापित गरेको छ । तर, लोकतन्त्रका मूलभूत सिद्धान्त नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो रोजियो भने क्रान्तिले फेरि एकपटक आफ्नो शक्ति देखाउनेछ ।

कोशी प्रदेश सभालाई सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले भने– देश पछाडि फर्कँदैन, तीव्र गतिले अगाडि बढ्छ 
केही मानिसको स्वार्थका लागि देश पछाडि फर्कन सक्दैन । हामी कानुन र न्यायसम्मत बाटो हिँडेर अगाडि बढ्नेछौँ, पछाडि फर्कने होइन । जनताको सार्वभौम सम्पन्नताभन्दा अर्को शक्ति हुनै सक्दैन । हामी लोकतन्त्रका लागि संविधानको रक्षा गर्न कतै पनि चुक्नेछैनौँ । नेपाली नागरिकले हटाएर आफैँले संविधान लेखेर कानुनी राज्य निर्माण गरिसकेकाले लोकतन्त्रको रक्षा प्रमुख जिम्मेवारी हो । 

संसद्मा कसले के भने ? 
गगन थापा, महामन्त्री, कांग्रेस
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति पूर्ण प्रतिबद्ध छौँ । आन्दोलनमा रहेका दलहरू व्यवस्थाप्रति प्रतिबद्ध छौँ भन्नेमा कुनै अलमल छैन । जनता असन्तुष्ट छन्, आक्रोश छ । आक्रोशलाई नजरअन्दाज गर्नुहुन्न भन्ने कुरा मनन गर्छु । विपक्षी दलको नेताले भनेजस्तै केही पनि भएको छैन, यो केही होइन भन्ने अहंकार कसैले राख्नुहुँदैन । यसलाई बुझ्नुपर्छ र समयमा सचेत रहनुपर्छ ।

 

महेश बर्तौला, प्रमुख सचेतक, एमाले
र्‍यालीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिरसहितको ब्यानर देखिनु राष्ट्रहित प्रतिकूलको कार्य हो । त्यस्ता कार्यलाई कानुनी दायरामा ल्याउन सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँछु । लोकतन्त्रको विकल्प राजतन्त्र र निरंकुशता हुन सक्दैन । 

 

रोशन कार्की, सांसद, राप्रपा
बुझिराख्नुस्, तपाईंहरू जति दिन सरकारमा बसिराख्नुहुन्छ, त्यति दिनसम्म यो भिड अझै बढ्दै बढ्दै गएर सडकमा आउँछ । २५ गतेको भिड नालायक सरकारले जन्माएको हो । यो त ट्रायल मात्रै हो । अरू ७६ जिल्लाका मान्छे थपिएर जुन भिड आउँछ त्यो देखेर नआत्तिनुहोला, लुक्ने ठाउँ अहिले नै खोजेर बस्नुहोला ।