
होलीलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न बाँकेमा सुरक्षा व्यवस्था कडा पारिएको बाँके प्रहरीले जनाएको छ। होलीमा हुने उच्छृंखल गतिविधि रोक्न नेपालगन्जमा मात्र एक हजार सुरक्षाकर्मी परिचालन गरिएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए।
संवेदनशील र अति संवेदनशील ठाउँको पहिचान गरी प्रहरी परिचालन गरिएको उनले बताए। ‘संवेदनशील क्षेत्रको पहिचान गरी चोक–चोकमा सादा पोसाक र बर्दीसहितका प्रहरी परिचालन गरिनेछ नै, गाडीबाट मोबाइल गस्तीसमेत हुनेछ,’ उनले भने, ‘ड्रोनमार्फत पनि होलीको क्रियाकलापलाई निगरानी गरिनेछ।’
कसैको इच्छाविपरीत रंग दल्ने, लोला हान्ने वा होली खेल्ने नाममा अभद्र व्यवहार गरेको पाइए तत्काल कारबाहीको दायरामा ल्याइने पनि एसपी कार्कीले स्पष्ट पारेका छन्।
रमजान महिना भएकाले इस्लाम धर्मावलम्बीहरू नमाज पढ्न मस्जिदमा जाने र फर्किने भएकाले यसतर्फ सजग हुन उनले आग्रहसमेत गरेका छन्। ‘तपाईं–हाम्रो सानो गल्तीले सदभावको सहर नेपालगन्जमा नराम्रो परिस्थिति सिर्जना हुन सक्छ। यसतर्फ सबैले ध्यान पुर्याउनुहुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने।